कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक मन्दी, घरजग्गा कारोबारमा आएको मन्दी, अवान्छित कार्यका कारण बैंक समस्यामा परेको बताएको छ ।
नेपाल राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गरेपछि बैंकले यस्तो धारणा राखेको हो ।बाहिर सार्वजनिक भएका हल्लामा कुनै तथ्य नभएको भन्दै बैंकले निरन्तर सुधारका प्रयास गर्दै आएकाे दाबी गरिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज बिक्रम शाहका अनुसार मन्दीका कारण आर्थिक गतिविधि शिथिल हुँदा देशभरीका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रक्रियामा प्रतिकुल प्रभाव परेको छ । तर, बैंकले कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दा समेत केही कर्जा असुली हुन नसकेको र निष्कृय कर्जा बढेका कारण राष्ट्र बैंकको कारवाहीमा परेको उनको भनाइ छ ।
शीघ्र सुधारात्मक कार्यवाही सम्बन्धी विनियमावली २०७४ बमोजिम निष्कृय कर्जा असुली गरी सुधार गर्न कर्जा तथा बचतमा पर्याप्त सीमाभित्र रही कारोबार गर्ने गरी कारवाही गरिएको हो । बैंकको कारोबारमा रोक नलगाईएको र बैंकको कर्जा असुली लगायत नियमित बैंकिङ्ग कारोबार भई रहेको सीईओ शाहले बताए ।
नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पूँजी कोष अनुपात क्रमशः ५२.५९ प्रतिशतदेखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जसअनुसार प्राथमिक पूँजी कोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको सीईओ शाहको भनाइ छ ।
त्यस्तै, आर्थिक बर्ष २०७९/८० देखि २०८०/८१ मा बैंकले निष्कृय कर्जा क्रमशः ५९.३९ प्रतिशतबाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको हो । कर्जा निक्षेप अनुपात आर्थिक बर्ष २०७९/८० मा ६६.१३ प्रतिशत रहेकोमा २०८०/८१ मा ५५.०२ प्रतिशत मात्र रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार तरल सम्पत्ति/कुल निक्षेप अनुपात आर्थिक बर्ष २०७९/८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८०/८१ मा ३९.१० प्रतिशत कायम राखेको छ । जसले तरलता व्यवस्थापनमा बैकको सक्रियताका साथै निक्षेपकर्ताहरुका रकमहरुको सुरक्षमा उच्च प्राथमिकता रहेको सीईओ शाहको भनाइ छ ।
आर्थिक गतिविधिमा सुधार आएसँगै गत असारसम्म खराब वर्गमा रहेका कर्जालाई असोजमा असु्ली गरेर निष्कृय कर्जा २९.४९ प्रतिशत कायम राख्न सफल सीईओ शाहले जानकारी दिए । साथै, अन्य निष्कृय कर्जाहरु छिट्टै असुल उपर हुने प्रक्रियामा रहेको र छोटो अवधिमा नै सुधार गरी कारवाही फुकुवा प्रक्रियामा जाने उनको भनाइ छ ।
राष्ट्र बैंकको कारवाहीले ग्राहकहरुको नियमित बैंकिङ काम कारवाहीमा असर नगर्ने, निर्वाध कारोबार गर्न सक्ने र बैंकको सीडी रेसियो समेत सहज रहेको हुँदा भुक्तानीमा समस्या नरहेको उनले बताए।