युद्धको राप र तापले शान्तिपूर्ण राजनीतिमा आएको माओवादी यतिबेला सम्पत्ति र सत्ताको कुहिरोको धुइरोले भुत्ते भएको छ। ३९ वर्षदेखि पाटी अध्यक्ष प्रचण्ड नेतृत्वमा छन्। यति लामो राजनीतिक यात्रमा उनको विकल्प उनी मात्रै छन् अहिलेसम्म । सग्लो पार्टी हुँदा पनि यानप्रसाद गौतमदेखि धेरै नेताहरु लघारिए, मारिए पनि । .त्यस्ता लघारिने नेताहरुमा दोश्रो तहकै थिए र छन्। बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा लगायतका नेता उनको पार्टी बाहिर छन्। फकाएरै नेतृत्वमा रहने प्रचण्ड कलाले सत्ता सन्चालनमा पनि निकै रचनात्मक बन्यो। सानो दल भएपनि एमाले कांग्रेसलाई खेलाएरै १९ महिना शासन गरे।
शान्ति प्रक्रियाको करिब १८ वर्षमा अधिकांश समय सत्ताको वरिपरी रहदै आयोो माओवादी । विेशेष गरी युद्ध लडेर आएका माओवादीका नेताको सम्पत्ति अस्वाभाविक देखिन्छ। हिजो चप्पल लगाएर युद्धमा होमिएका नेता अहिले महल र पजेरोमै सुखसयलको जिन्दगी जिइरहेका छन्। जनाधार डुब्लाउदै गएर करिब दृइ दशकमा माओवादी बाजबाट फिस्टो भएको छ। तैपनि सत्ता राजनीतिमा प्रचण्ड प्रभाव भने उस्तै छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीको नेतृत्व गरेको ३९ वर्ष भयो। २०४२ सालबाट लगातार पार्टीको नेतृत्व गर्दै आएका उनी अझै नेतृत्वमै बस्न चाहान्छन्, पार्टी बैठकबाट निस्किदै गर्दा पत्राकारले सोधेको प्रश्नमा माओवादी एकतावद्ध छ, तपाईहरुलाई चिन्ता छ, तर हामीलाई कुनै चिन्ता छैन भन्दै जवाफ फर्काएका थिए । उनको यस जवाफको भाव नै उनी पार्टी भित्र एक्लिएका छन्, उनीमाथि नेतृत्व छोड्न दबाब छ। उनलाई चुनौती दिन नेताहरु बाहिरिएपनि पछिल्लो समय जनार्दन शर्मा र वर्षमन पुन अघि देखिएका छन्।
महासचिव पद नपाएपछि पुन र शर्मा एकै ठाउँमा देखिन्छन्। शान्ति प्रक्रिया यता प्रचण्डकै वरिपरि परिक्रम गरेर सत्ताको स्वाद लिनेमा पनि यीनै दुइ नेता छन्। प्रचण्डलाई घुर्काएरै स्वार्थ लिदै आएका यी दुइ नेताले प्रचण्डलाई घेराबन्दी गरेका छन्। नेतृत्वकै अक्षमताका कारण सत्ता गुमेको भन्दै उनको आलोचना भएको छ। कांग्रेससंग भएको गठबन्धन टुटाएर एमालेसंग गठनबन्धन गर्नाले सत्ताबाट पार्टी बाििरनुपरेको उनीहरुको तर्क छ। यी र यस्तै तर्क र वितर्कको टेकोमा उभिएर प्रचण्डमाथि दबाब बढाएर पार्टीको महत्वपूर्ण पद हत्याउने उनीहरुको रणनीति देखिन्छ।
प्रचण्ड नेतृत्वको सरकारको काम कारबाही केही सम्झनयोग्य थिए। नक्कली भुटानी शरणार्थीदेखि बालुवाटार जग्गा काण्ड लगायतका मुद्दामा सरकारले केही रचनात्मक काम गरेको थियो । तर, यी दुबै नेताले सरकारको त्यो कामको खासै महत्व दिएनन्। पछिल्लो पटक एमालेसंग गठबन्धन बनेपछि वर्षमन पुन अर्थमन्त्री भए। उनको करिब ४ महिनाको कार्यकाल पनि मन्त्रालयमै फोटो झुण्ड्याएर वित्यो । जनार्दन अर्थमन्त्री हुँदा मध्यरातमा सीसी टीभी फूटेज हराएर कीर्तिमान कायम गरेका थिए । देउवा नेतृत्वका अर्थमन्त्री भएको बेला उनको त्यो काण्ड निकै चर्चित भयो। त्यत्तिबेला पनि प्रचण्डले उनको बचाउ गरेका थिए। एमलोसंगको एम अधिकारीको मुद्दामा सहमत भएपछि यो विषय ढिसमिस भएको थियो ।
तर, उनै जर्नादनले प्रचण्डलाई नेतृत्व छोड्न दबाब दिइरहेका छन्।उपमहासचिव जनार्दन शर्माले त लिखित रूपमै पार्टी बैठकमा प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने एजेन्डा पेस गरे।उनले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने माग राखेका छन्। अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गर्नुपर्ने भन्दै आवाज उठाएका छन्, शर्माले। उता प्रचण्डले नेत्रविक्रम चन्दलाई पार्टीमा भित्र्याउछन् अनि महासचिव पद पनि गुम्ला की भन्ने भयमा देखिन्छन् जनार्दन र वर्षमान । एकता एकले अर्काेलाई नस्विकार्ने यी दुइ नेताको गठजोड यतिबेलाको अचम्मको देखिन्छ।
उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व जति लामो समयसम्म गरे,यस अवधिमा आफ्नो उत्तराधिकारी जन्माउन सकेनन्, नेतृत्व विकास र उत्तराधिकारी बनाउने सवाल कम्युनिस्ट पार्टीका लागि निकै महत्वपूर्ण मानिन्छ। तर, ३९ वर्षदेखि नयाँ पुस्ता माओवादी नेतृत्वमा आउन सकेको छैन । माओवादीभित्र नेतृत्वको विषयमा सैद्धान्तिक रूपमै छलफल पनि भइरहेको छ। पार्टी अध्यक्ष प्रचण्डले बैठकमा नेतृत्व हस्तान्तरणका बारेमा सैद्धान्तिक कुरा पनि गरेका छन्। उनले ‘सरकारमा हुँदा पार्टीको नेतृत्व छोड्न मन लागेको बताए्। तर, राजनीतिक घटनाक्रम गम्भीर मोडमा पुगेकाले त्यसबाट पछि हटेको भन्दै बैठकमा नेतृत्व नछोड्ने संकेतसहितको धारणा राखे । राजनीतिमा हलचल ल्याउने पात्र हुन् प्रचण्ड । नेपाली राजनीतिका चतुर खेलाडी राजनीतिक संकटको डर,भय र त्रास देखाएर नयाँ पुस्तालाई नेतृत्वमा आउन यस पटक पनि रोक्ने देखिन्छ।
उता, माओवादी पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले पार्टी नेतृत्व फेर्नेभन्दा पनि पार्टीलाई बलियो बनाउने नीति लिनुपर्ने धारणा राखे ।उनको भाव पनि प्रचण्डको नेतृत्व निरन्तरता हुनुपर्छ भन्ने हो । माओवादी भित्र बेला बेलामा निकै चर्चामा आउने विषय हो, नेताहरुको सम्पत्ति । यस पटक पनि माओवादी नेताहरूको सम्पत्तिको विषयमा पनि बैठक चर्चा चलेको छ। पछिल्लो समयमा युद्ध लडेर आएका माओवादी नेताको सम्पत्ति अस्वाभाविक रूपमा वृद्धि भएको छ, उनीहरूको जीवनशेल् िनिकै अस्वभाविक छ। नेताहरुको जीवन शैली र सम्पत्तिको मोहले पार्टीको अवस्था निकै नाजूक छ। एकताका देशकै विशाल पार्टी आज छिन्नभिन्न भएर खुम्चिएको छ। लाखौ कार्यकर्ता र शुभचित्कहरुले पार्टीप्रतिको विश्वास गर्न छोडेर लाखा पाखा लागेका छन्। जनाधार बलियो भएको त्यो विशाल पार्टी यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ। माओवादी यतिबेला झन् ठूलो संकटको खाडलमा फसेको छ। सत्ता पनि गुम्यो, जनतासंगको सम्बन्ध पनि टुट्यो । भुइको टिप्न खोज्दा खल्तीको पनि खसेपछि माओवादी एक्लिएको छ।
सरकारमा हुँदा तुलनात्मकरुपले केही राम्रा काम गरेपनि कार्यकर्ताले जनपक्षीय कामहरु जनतासम्म संपे्रशषण गरेनन्। माओवादी संगठन उल्टो पिरामिड जस्तो भएको छ। छाता जस्तो बनेको पार्टी संगठन भद्दा मात्रै होइन, चेन अफ कमाण्डबाट बाहिरको छ। नेतृत्वले ल्याएको नीति र योजना समेत कार्यकर्ता तहले ग्रहण गर्ने अवस्था छैन । सत्ताबाट बाहिरिएसंगै अध्यक्ष प्रचण्डले २०८४ मा एक्लै चुनाव लड्ने उद्घोष गरेका थिए।सत्तामै भएको बेला पार्टी नेतृत्व छोड्ने मनस्थितिमा पुगेको प्रचण्ड सत्ताबाट ओर्लिनावित्तिकै गठबन्धन विना चुनाव लडेर देखाउने बताएका थिए ।
सत्ता र सम्पत्तिके कुइरोको धुइरोमा हराएको माओवादी यही शैली र पद्धतिले बौरिएला भन्ने कुनै आधार देखिदैन । त्यसका लागि विभक्त माओावादी धाराहरुसहित बाहिरिएका कार्यकर्तालाई पुनः मुल घरमा फर्काउने गरी नीति,रणनीति र कार्यक्रम बनाउनुपर्छ। त्यसको लागि विद्यमान नेतृत्वबाट सम्भव हुन्न भन्ने तर्क पनि आउला । तर, प्रचण्डको विकल्प प्रचण्डै हुन, अहिलेको तिथि मिति र वस्तुस्थिति अनुसार । त्यसकारण जर्नादन र वर्षमनकै घुर्कीले प्रचण्डले नेतृत्व छाडिहाल्लान् जस्तो देखिन्न। तर, पार्टीलाई बौराउने या सिद्ध्याउने उनै प्रचण्डको हातमा छ।








