मनोरम हावापानी, सुन्दर उपत्यकाहरुको संगमभूमि दाङ। खास गरी दुइवटा ठूला उपत्यका मिलेर बनेको दाङ समुद्री सतहबाट २१३ मीटरदेखि २०५८ मीटरको उचाइमा अवस्थित छ।,सबैभन्दा अग्लो उचाइमा रहेको स्थान राप्ती गाउँपालिकाको अर्खले र राप्ती गाउँपालिकाकै भानपुर सबै भन्दा होचो स्थान हुन्।

पूर्व पश्चिम फैलिएको चुरे अर्थात शिवालिक पहाडका नागबेली दृष्यहरुको काखमा अवस्थित मनोरम मैदानी भाग अनि केही पहाडी टाकूराहरु आफैमा मनोरम छन्। । भानपुरदेखि अर्खलेसम्मको उचाइमा विविध हावापानी र विशिष्टता छ, दाङको । थारु जातिको बाहुल्यता रहेको दाङ विभिन्न जातजातिको मिश्रित बस्ती हो । संस्कृत भाषाको द्रोणबाट दाङ शब्दको उत्पत्ति भएको हो ।

सरजु नदी र राप्ती नदीको किनारामा अवस्थित दाङ देउखुरीमा घोराही, तुल्सीपुर, लमही, भालुबाङ र हापुरे लगायतका शहर तथा शहरउन्मुख बस्तीहरु छन्। संघीय संरचना अनुसार एक सय वडामा विभाजित दाङका तुल्सीपुर र घोराही मुख्य शहर हुन्। ठूला औद्योगिक क्षेत्रको विकास र विस्तार नभएपनि कृषि तथा औद्योगिक क्षेत्र नै यहाँको मुख्य व्यवसाय हुन्। खस आर्यन, थारु, यादव र मगर संस्कृतिका अनुपम विशष्टिता र सुन्दरताले इन्द्रेणी झै रंगिन छ, दाङ । राष्ट्रिय जनगणना २०७८ अनुसार ६ लाख ७४ हजार बढी मानिसको बस्ती रहेको छ। यस दाङको देउखुरी खण्ड हुँदै पूर्व पश्चिम राजमार्ग गएको छ, भने देउखुरीबाट उकालो लागेपछि राप्ती लोकमार्ग दाङलाई बीच भागमा पारेर तुल्सीपुर हुँदै सल्यान अनि रुकुम पुग्दछ ।

तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काको विेशष पहलमा राप्ती लोकमार्ग कालोपत्रे भएको थियो । तर, पछिल्लो समय चारलेन सडक विस्तार गर्न भन्दै आयोजना प्रारम्भ गरिएपनि त्यो अलपत्रै छ। दाङको आर्थिक र सामरिक महत्वको राप्ती लोकमार्गको दाङ खण्डका खोलाहरुमा पुल निर्माणले पूर्णता पाएको छैन। सरजु(बबर्इं )सहित खहर खोलाहरुमा पुल निर्माणमा भएको ढिलासुस्तीले हरेक बर्खासैगै दाङ आफै दुर्गम बन्छ। चार लेन सडक विस्तारमा भएको चरम बदमासीले दाङ भ्रमणमा पुग्ने जो कोहीले प्रश्न गर्ने गर्दछन्।

राष्ट्रिय राजनीतिमा हिजो पन्चायतदेखि अहिलेको गणतन्त्रमा पनि उत्तिकै छ, केन्द्रीय सत्तामा पहुँच यहाँका नेताको । यस अघिको निर्वाचनमा दाङबाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सभामुख भए, त्यस अघि मन्त्री पनि भए। पछिल्लो समय नेकपा एमालेको तर्फबाट र्शंकर पोखरेल लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री भए। अहिले उनी नेकपा एमालेको शक्तिशाली महासचिव पदमा छन्। नेकपा एमलोको नेतृत्वमा सरकार छ। प्रधानमन्त्री केपी ओलीका उनी विश्वास पात्र मानिन्छन्। उनी ओलीका उत्तराधिकारीको रुपमा समेत हेरिन्छ। राष्ट्रिय राजनीति र विकासको क्षेत्रमा शंकर पोखरेलको राम्रो प्रभाव छ।

यस अघिको प्रचण्ड नेतृत्वको सरकारमा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्मा करिब डेढ वर्ष सञ्चार मन्त्री भईन्। उनको कार्यकालमा पनि चारलेन सडक बनेन । ठेक्का तोडेर आयोजना अघि बढाउने बाचा गरेकी थिइन्। तर, सरकारले चारलेन सडक विस्तारको विषय बजेटमा कतै उल्लेखै गरेन । उता टरिगाउँ विमास्थल लामो समयदेखि विस्तार तथा सञ्चालन हुन सकेको छैन, धेरै व्यस्था र धेरै नेता देखेपनि टरिगाउँ विमानस्थल विस्तारमा कोही कसैले ध्यान दिएको खासै देखिन्न । उता, देउखुरी उपत्काको कोइलाबास नाका जेनतेन सञ्चालनमा आएको छ। तर, नाका खुला मात्रै हो, सबै काम कुरा कृष्णनगरमै भर पर्नुपर्दछ।दाङको अविकासको विषयमा विकास विज्ञ अरुण शर्मा भन्छन्, “कामगर्नेहरु जहिले पनि पुज्य छन्। गफाडीहरु,अब धेरै चल्दैनन् ख्याल गरौं है। दुई दुईवटा बजेट गए दाङ् ओझेलमा परेको देख्दा ,नीति निर्माण र राष्ट्र निर्माणको हिसाबले हेर्दा गलत ठाउंमा भोट हालियो की भन्ने महशुस हुँदै छ। आउँदो चुनावमा सुधार्न त सकिन्छ तर, पांच वर्ष जाने भयो। दुख लाग्छ। ” पक्कै पनि जनताको मतको सदुपयोग भएको छैन, दाङ विकासमा । सधै जनतालाई उल्लु बनाउने नेतृत्वकै कारण दाङ विकासमा पछि परेको हो ।

दाङ उपत्यकामा सिचाइ र पानीको जोहो गर्न कृतिम जलाशयहरु बनाइएका छन्। यी जलाशयको अवधारणा कार्यान्वयनमा ल्याउने घोराही उपमहानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख तुफानसिं केसी हुन्। घोराही उपमहानगरपालिकाको कार्यकारी प्रमुख हुँदा तुफानसिं र इन्जिनियर रामधन श्रेष्ठको अवधारणा अनुसार कृतिम जलाशयहरु बनाइएको हो । जुन नेपालकै नमुना योग्य काम हो । यद्यपि पछिल्लो समय घोराही उपमहानगरपालिकामा एमालेबाट नरुलाल चौधरीले नेतृत्व गरे, उनले पनि यो कामलाई निरन्तरता दिए। दुइ पटक घोराही उपमहानगरको प्रमुख भएका उनले भित्री सडक र जलाशय निर्माणमा लगानी गरेको देखिन्छ। जसबाट सिचाइसंगै पानीको जोहो गर्न मात्रै होइन, उपत्यकामा पानीको रिचार्जमा पनि योगदान पुगेको छ।

उता तुल्सीपुर उमहानगरमा रहेको टरिगाउँ विमानस्थल विस्तार तथा सञ्चालन गर्नका लागि ६५ पटक ज्ञापनपत्र बुझाएको तीतो अनुभव छ, भन्छन्, तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल ।त्यसैको निरन्तरतास्वरुप भर्खरै एमाले महासचिव शंकर पोखरेल र कांग्रेस सांसद दीपक गिरीको ंसंयुक्त नेतृत्वको टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेट ग¥यो । भेटमा प्रधानमन्त्री ओलीले आश्वासन त दिए। तर , अहिलेसम्म कुनै प्रगाति भएको देखिएको छैन । यद्यपि नेताले टोली बोकेर राजधानी धाउने अनि आफ्नै सरकारसंग विकास बजेट माग्ने यो पन्चायतकालीन शैली नौलो भने होइन, दाङको हकमा । पन्चायतकालमा जस्तै विकास देउ भन्दै सिंहदरबार धाउने र फोटो खिचाउनेमै सीमित छ। जुन प्रथाले दाङ आफै आजित छ।

टरिगाउँको विमानस्थल विस्तार तथा सञ्चालनका लागि राजनीतिक नेतृत्वको इच्छा शक्ति भयो, भने दुई वर्षभित्र तीन अर्बमा काम गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरहरु सुनाउँछन् । तर पनि, विमानस्थल विस्तारको कथा कहानीमै सीमित छ। विमानस्थलको नाममा ज्ञापन पत्र नबुझ्ने सायदै होलान् प्रधानमन्त्रीहरु पनि । देउवा प्रधानमन्त्री भए पटक पटक। प्रचण्ड भए तीन पटक । एमाले अध्यक्ष केपी ओली भए प्रधानमन्त्री चार पटक । देउवा, प्रचण्ड र ओलीको नेतृत्वमा जति पटक सरकार फेरिन्छ, उति पटक ज्ञापन पत्र बुझाउने परम्परागत प्रथा जारी छ। मन्त्री, मुख्यमन्त्रीको त गिन्ति गरी साध्य नहोला । यो प्रथा आजको होइन, विगतमा पनचायतमा पनि यस्तै हुन्थ्यो,अहिलेको गणतन्त्रमा पनि उस्तै छ। भलै व्यवस्था मात्रै फरक हो, अनुहारहरु मिल्दाजुल्दा छन्।

बल्लतल्ल राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा एमबीबीएस पढाइ हुन थालेको छ। त्यस विषयमा जस कसले लिने भन्ने होड छ, एमालेले आफूले गरेको दाबी गर्छ, कांग्रेसको उस्तै, माआवादीले पनि आफू नभएको भए प्रतिस्ठान नै स्थापना हुन्थेन भन्ने दाबी गर्दछ। जसले जे जस्तो दाबी गरेपनि ती दाबीहरुमा कुनै सत्यता छैनन्। यदी उनीहरुले दाङको विकासमा चासो दिन्थे भने , नेपाल संस्कृत विश्वविद्यालयको हालत यस्तो हुन्थेन। चारलेन सडक मान्छे मार्ने धराप बन्थेन, उता टरिगाउँमा धमाधम ७२ विमानहरुले धमाधम उडान सेवा दिन्थे, होला, नेपालगन्जको राझामा झै ।

विडम्बना, दाङको भौतिक विकासको दयनीय अवस्था देखेर सबैले जिब्रो टोक्छन्, ।तर यहीका जनताको मतले राजनीति गर्नेहरुमा कुनै हिनताबोध र शरम भने पटक्कै देखिन्न ।मृत जस्तै भएको छ,दाङको नागरिक समाज । नागरिक समाजको आँखा उघ्रिएको देखिन्न। पत्रकारिता क्षेत्र नेताकै भजनमण्डलीमै व्यस्त छ।जनता स्वतश्फूर्त रुपमा सडकमा आउने अवस्था छैन ।

डा. भिमार्जुन आचार्यले टिप्पणी गरे जस्तै लम्पट कार्यकर्ताकै कारण विकासमा दाङ पछि परेको हो । यीनै लम्पट कार्यकर्ताकै बलमा शंकर पोखरेल, कृष्णबहादुर महरा, रेखा शर्मा, दीपक गिरी लगायतका नेताको राजनीतिक व्यवसाय चलेको छ। जबसम्म यी राजनीतिक नेतृत्वका गुलिया सपनाबाट जनता बाहिर निस्किन सक्दैनन्, तबसम्म दाङ प्राकृतिकरुपले सजिएपनि विकास पूर्वाधारले ठगिरहने पक्का छ।
