३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

ढल्यो ओली सिहासन,ढलेन अझै उनको अहंकार र अभिमान !


१८ आश्विन २०८२, शनिबार  



पदको लोभ,सत्ता लिप्सा, अहंकार र अभिमानका बादसाह हुन्, पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली।उमेरले आर्यघाट जा जा भन्ने बेलासम्म पनि पार्टीको नेतृत्वमा जुका झै लिप्पिकै टाँसिने र सत्तामा पुगेपछि असनको साँढे झै मैमतिने ओलीमा कुनै हिनतावोध, पछुतो र ग्लानीको गुञ्जायस देखिन्न।

बरू,उखान टुक्का र थरिथरिका अर्ती उपदेश हालेर आफू ठिक । अरू सबै दुनियाँ बेठिक भनिरहेका छन् ।१९ जना जेनजीको नरसंहार गरेको अपराधको भारी बोकेर गुण्डुमा कुर्लिरहेका छन् । वरपर वफादार नेता कार्यकर्ता राखेर एक सामन्ती तानाशाहको शैलीमा ठाँटिएका छन् ।

आफूलाई जबर्जस्ती देवत्वकर गरेर अरूलाई रैती झै ठानिरहेका छन् । बलात्कार र भ्रुण हत्याको आरोपको मुद्दा लागेका महेश बस्नेतको रेखदेखमा भेला गरेर युवाहरूको बलिदानलाई मजाकमा उडाइरहेका छन् । सम्भवतः नरसंहारी यसरी जिउँदो रहेर वफादार र अन्धभक्त कार्यकर्ताको अघि उपदेश दिने र विद्रोहबाट बनेको सरकारलाई चुनौति दिने कार्य दुनियाँको इतिहासमा भएको पाईन्न।

गत वर्ष श्रीलंका र बंगलादेशमा भएको विद्रोहपछि त्यहाँका शासकहरूले देश छोडेर विदेशमा शरण लिन पुगेका थिए।तर,नेपालीहरूले कमलो र उदार भावना राखेकै कारणले ओली, देउवा र प्रचण्ड भाग्नु परेन। दुई हप्ता जति दुलोमा लुकेपनि यतिबेला फेरि झुठो तर्कद्वारा आफूहरू गतिलो भएको दाबी गरिरहेका छन् ।
जेनजी आ न्दोलन अघि पनि ओलीले केटाकेटी भन्दै खिस्सीट्युरी गरे।

देउवाको अडेसमा बनेको सरकार अजम्बरी भन्थे। २०८४ सम्म एमाले र कांग्रेसको सरकार भन्थे।त्यसपछि पनि आ फूहरूकै सरकार भन्दै एमालेलाई २०८४ मा मत दिन सरकारी अड्डामा बसेर आह्वान गर्थे । भ्रष्टहरूको संरक्षण गर्दै भ्रष्टाचार नगर्ने कसम खान्थे। चित्रगुप्तको अघि बयान दिन्छु,तर उनक‌ै मन्त्रीले लाखौं घुस मागेको अडियो छरपस्ट हुन्थ्यो ।

तर,उनीमा कुनै लज्जाबोध देखिएन। बरू गोयबल्स शैली झुठहरूको बचाउ गरिरहे । पार्टीको अध्यक्ष तेस्रो पटक बन्नका लागि प्रतिस्पर्धा गर्नेलाई खेदिरहे। भीम रावललाई प्रतिशोधले डढाए, विद्यालाई साधारण सदस्य रोकाएर आ फू निर्विकल्पको अध्यक्षको लागि ठाउँ सुरक्षित बनाए। देशमा बेथिति ,विकृति र कुशासनले हाँगा पात हाल्दै गयो,उनी राष्ट्रिय गौरवका आ योजनाको कथा हाल्दै गए। कहिले रेलका गफ दिए, कहिले सुरूङका त कहिले भ्यूटावरका। तर,जनतामा असन्तुष्टि र आक्रोशको डढेलो सल्किरहेको थियोे ।उनी डढेलो निभाउन भन्दा दुर्बचनले पेट्रोल छर्किरहे।


त्यहीँ अहंकारी छुद्र तित्रे बोली,दम्भ र अभिमानले अन्ततः भदौ २३ र २४ गतेको दुई दिने विद्रोहले सत्ता मात्रै गएन। सेनाको हेलिकप्टरबाट भागेर ज्यान जोगाउनु पर्यो। ७२ जनाको ज्यान गयो, सयौ घाइते भए । करोडौंको सरकारी तथा निजी सम्पत्तिको विध्वंस भयो। ओलीको तानाशाही सिहासन ढल्यो। तर,ओली अहंकार,प्रतिशोध, अराजकता र अभिमान अझै ढलेन।

जेनजीको बगेको रगतमाथि ओली नामक गोमनले अझै पनि डसिरहेको छ।यस्तो विध्वंसकार र नरसंहारी गोमनमुखी दम्भको समूल अन्त्य विना देशले शान्ति र अमनचैन के गरि पाउला ?

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ५ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित