४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

भोकाहरुका ‘भगवान’ उमेश बोहरा


१२ आश्विन २०८१, शनिबार  


शनिबार उपत्यकामा अविरल वर्षाले विचल्लीमा परेकाहरुलाई खाना खुवाए, उमेश बोहराले। उनको यो पूण्य काम नयाँ र नौलो त होइन। उनी सधै विपत्तिमा भोकाका ‘भगवान’भरोसा बनेका छन्। उनले यस्तो पूण्य काम गर्न थालेको पनि १० वर्ष भयो । विशेष गरी कोरोना महामारीदेखि उनी भोकाहरुको पेट भर्दै आएका छन्।

काठमाडौका सडकका मानिसहरुलाई उनले खाना खुवाएर मानवीय सेवाको चाहना पूरा गरिरहेका छन्। विदेशमा दश वर्ष बसेर स्वेदश फर्किएका उनले आफ्नो व्यवसायसंगै मानवीय सेवामा पनि समय दिएका छन्। शनिबार पनि सुकुम्बासीहरुलाई उनले खाना खुवाए । अविरल वर्षातले घरबास डुबानमा परेका पीडितहरुलाई उनले पेट भराइदिएका हुन्। शानिबार बिहानदेखि बेलुकीसम्म करिब पाँच सय जनालाई खाना खुवाएको उमेश बोहरा बताउँछन्।

कोरोना महामारीको बेला उनीसहितका टिमले आपत विपतमा परेकाहरुलाई एक वर्ष जति सडकमै खाना खुवाएका थिए। तर, तत्कालीन काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्यले खुलामन्चमा खाना नखुवाउनु भन्दै उर्दी जारी गरे । भोकाहरुको संरक्षण गर्नुपर्ने तत्कालीन महानगरले हाम्रो सामाजिक कामलाई पनि अवरोध गर्न खोजेको थियो, त्यसपछि हामीले खुलामन्च बाहिरै खाना खुवाउने थालेका हौ, भन्छन्, सामाजिक अभियान्ता उमेश बोहरा । उनी भन्छन्, “आपत विपतमा परेकाहरुको भोकको दायित्व र कर्तव्य हो, राज्यको । तर, राज्यले नै मानवीय काम गर्दा अवरोध गर्ने गरेको छ। सरकारले पीडितहरुको भोकको आर्तनादलाई नबुझेपनि उनीहरुलाई एक गास खाना खुवाउन पाउँदा निकै आनन्द आउँछ, धेरै खुशी लाग्दछ।”

उमेश हाम्रो टीम नेपाल नामक संस्थाका संस्थापक हुन्। निशुल्क खाना अभियानको संकल्पसहित उनको यस संस्थाले भोकाहरुको भोक मेटाउँदै आएको छ। सडकका मानिसहरुलाई खाना खुवाउने श्रोत के हो भन्ने प्रश्नमा उनी भन्छन्, “म आफै पनि खर्च गर्ने गरेको छु, त्यसैमा पनि देश विदेशबाट साथीहरुले सघाउँछन्। त्यसैबाट हामीले कोही पनि भोकै बस्न नपरोस् भनेर यस्ता अभियान गर्ने गरेका छौ।”

उमेश बोहराको स्थायी घर बैतडी सिगास गाउँपालिका वडा नम्बर ४ हो । उनका बाबु सरकारी जागिरबाट निवृत्त व्यक्ति हुन्। उमेरले ३५ वर्ष भएका उमेश ४ वर्ष अपगानीस्तानमा अमेरिकी सेनासंग काम गरेको बताउँछन्। उनी ६ वर्ष दुबइ -कतारमा रोजगारी गरेका थिए। विदेशमा बस्दा पनि स्वदेशमा मर्कामा परेकाहरुलाई सघाउँथे । सबै साथीभाइ मिलेर अशक्त र असाह्यहरुको उद्दार गर्दथे । वैदेशीक रोजगारीपछि उनी हाल काठमाडौको नयाँ बानेश्वरमा होस्टेल सञ्चालन गर्दै आएका छन्। व्यवसायमा आवद्ध उमेश बोहरा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। बाल्य कालदेखि उनी अरुलाई सघाउने गर्दथे । दुःखमा परेकाहरुको उद्दार गर्दा उनी औधि खुशी हुन्थे, आनन्द मान्दथे ।

शनिबार काठमाडौमा पाँच सय जतिलाई खाना खुवाएका उनको टीम आइतबार काभ्रेको रोशी गाउँपालिकामा जाँदैछन्। रोशी गाउँपालिकामा अविरल वर्षातपछि आएको बाढीले ठूलो धनजनको क्षति पुराएको छ। सडकले साथ दिएमा उनीसहितको टीमले बाढी पीडितहरुलाई खाना खुवाउनेछ।

यस अघि गएको साल २०८० असार १ गते मेलम्चीमा आएको बाढीमा परेर पीडित भएकाहरुलाई पनि उनको टीमले एक महिना खाना खुवाएको थियो । भोकाहरुको भोक मेटाउने दायित्व र जिम्मेवारी राज्यको हो । तर, राज्यले कर्तव्य निर्वाह गरेको नदेख्दा साहै दुख लाग्छ भन्छन् उमेश । हाम्रो टीम नेपाल उनीसहितका साथीहरुको सहभागीतमा खोलिएको संस्था हो । यस संस्थाले यसरी नै सडकमा भोकाएकाहरुलाई पेटभरी खाना खुवाउँदै आएको छ। उनीहरुको यस्तो पूण्य काममा भने सरकारको कतै सहयोग भएको देखिन्न ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ०४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित