ललिता निवास जग्गा प्रकरणमा डामिएका कर छलिमा मुछिएका अत्यन्तै विवादास्पद छविका व्यापारी मीनबहादुर गुरूङसंग जग्गा दान बापत लिएको विषयमा सडक,सञ्जालमा निकै प्रश्न उठ्याे। एमाले भित्र पनि इमानदार र निष्ठावान नेता कार्यकर्ताले दान लिन नहुने अभिव्यक्ति दिए।
त्यस्तै अभिव्यक्ति दिनेमा एमालेका नेता विन्दा पाण्डे र उषाकिरण तिम्सेना हुन् । उनीहरूले विवादास्पद व्यापारीसंग जग्गा दान लिनु पार्टी नेतृत्वकाे गलत निर्णय भएको सञ्जाल मार्फत बताएका थिए। यही अभिव्यक्ति दिएकाे आराेपमा एमालेले पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै केन्द्रीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
केन्द्रीय सचिवालयको आइतबारको बैठकले रावलसहित स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिने २४ असोजमा केन्द्रीय सचिवालयले गरेको सर्वसम्मत निर्णयविरुद्ध पाण्डे र तिम्सेनाले सामाजिक सञ्जालमार्फत असहमति जनाउँदै विरोध गरेका थिए। रावललाई भने लामो समयदेखि पार्टी नीतिसँग असहमति राख्दै अभिव्यक्ति दिँदै आएको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको हो।
तीन वर्षअघि चितवनमा सम्पन्न दसाैँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि रावल पार्टीमा निष्कृय छन्। महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका रावललाई दसाैँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले केन्द्रीय सल्लाहकार पदमा मनोनयन गरेको थियो। तर, त्यस मनोनयनलाई पनि अस्वीकार गरेपछि रावलको जिम्मेवारीबारे एमाले नेतृत्व अझै टुंगोमा पुग्न सकेको छैन। ओलीसँग वार्ता गरेर समझदारी भएपछि मात्रै पार्टी काममा सक्रिय हुने अडानमा रावल छन्। अघिल्लो वर्ष अध्यक्ष ओलीलाई पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर भेट गरेयता रावल गृहजिल्ला अछामसहित सुदूरपश्चिम प्रदेशमा व्यक्तिगत रूपमा सक्रिय रहँदै आएका छन्। नेकपा एसमा प्रवेश गर्ने विषयलाई अस्वीकार गर्दै रावलले एमालेमै रहने बताउँदै आएका छन्।
बैठकपछि महासचिव शंकर पोखरेलले पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिएको जनाउँदै जिम्मेवार र अनुशासित बन्न पार्टीपंक्तिको ध्यानाकर्षण गरेका छन्। ‘सचिवालयको बैठकले पार्टी निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एकता र अनुशासन पार्टीको बल हो। सबैजना जिम्मेवार र अनुशासित बनाैँ,’ पोखरेलले भनेका छन्।