४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

दुर्गाले ‘मुर्गा’ बनाएपछि ‘बिलखबन्दमा ज्ञानेन्द्र शाह र उनका अनुयायी’


१९ चैत्र २०८१, बुधबार  


राजतन्त्र फर्किहालेमा हुकम बक्सिसमा मन्त्री खाने हुटहुटीमा पूर्व पञ्च र दरबारीयाहरू निकै सक्रिय छन् ।देशभर ५ प्रतिशत पनि जनाधार नभएकाहरू बंगलादेश बंगलादेश भन्दै धम्क्याउँदै आएका थिए। यद्यपि नेपालमा मसानघाटमा पुगेको शाही राजा फर्किने सम्भावना थिएन र छैन पनि ।

दरबारको जुठोपुरो खाएर हुर्किएको यो समूह गणतन्त्र स्थापनापछि रक्षात्मक थियोे । २०७९ को संसदीय निर्वाचनमा केही सांसद जितेपछि यो अलिक बौरिन खोजेको देखिन्छ ।यद्यपि यो समूहमा अहिले रहेका लिङ्देन बाहेक अधिकांश चुनावअघि कोही पनि राजावादी थिएनन्। जुम्लाबाट चुनाव जितेका ज्ञानेन्द्र शाहीले चुनाव अघि भनेका थिए,राजेन्द्र लिङ्देनले भनेर राजा फर्किने सम्भवै छैन।

बाँके २ बाट चुनाव जितेका धवल शमशेर पनि पूर्व एमाले हुन्। २०७४ को स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी भएका थिए।एमाले पृष्ठभूमि भएका उनी पनि जता बलियो उतै ढलियो प्रवृत्तिका पात्र हुन्।


पछिल्लो समय लिङ्देनसंग असन्तुष्ट उनी पनि राजा फर्किहालेमा मन्त्री खाने दाउँमा छन् । राप्रपाको भावि अध्यक्ष समेत बन्ने दौडमा रहेका उनी यतिबेला प्रहरी खोरमा छन् । दुर्गा प्रसाईंलाई उछालेको अराजक र विध्वंसात्मक क्रियाकलापमा संलग्न रहेको आरोपमा थुनिएका छन् । देव शमशेरका पनाती समेत रहेका उनी अलि उदारवादी नेताको रूपमा पनि चिनिन्छन्। बौद्धिक नेताका रूपमा चिनिएपनि प्रसाईंको उदण्डताको भीडमा मिसिदा प्रहरी खोरमा पुग्नु परेको हो उनी।

गएको फागुन ६ गते ज्ञानेन्द्र शाहको विज्ञप्ति आएपछि पूर्व पञ्च तथा राजावादी समूह पनि सक्रिय भएको थियोे ।फागुन २५ गते ज्ञानेन्द्रको स्वागतमा पूर्व पञ्चहरू जाने या नजाने दोधारमा थिए, विशेषगरी लिङ्देन
र धवलहरू ।


निर्मल निवासमा प्रसाईको प्रभाव बढेकोमा असन्तुष्ट थिए, यीनीहरू। राजावादी आन्दोलन चर्काउन भन्दै पूर्व पञ्च नवराज सुवेदीको संयोजकत्वमा समिति बनेपछि लिङ्देन थप चिढिएका थिए, भने नव राप्रपावादी रवीन्द्र मिश्र हौसिएका थिए।बीबीसीमा काम गर्दा यौन दुर्ववहारको आरोप खेपेका रवीन्द्र मिश्र पछिल्लो समय कट्टर राजावादी भएका थिए। विचार भन्दा माथि देश भन्दै आएका उनी पुरातनवादी धारमा ओर्लिएर नवीन समझदारीको वकालत गर्दै आएका थिए ।साझा विवेकशील जस्तो नयाँ शक्तिलाई भीरमा मिल्काएर दरबारको प्यारो बन्ने दौडधुपमा थिए र छन् उनी। २०७९ को निर्वाचनमा काठमाडौ १ का जनताले अस्विकार गरेपछि रन्थन्निएका मिश्र पछिल्लो समय झनै उग्र राजावादी भएका थिए। यही उग्ररूपको पछिल्लो संस्करण यही चैत १५ गते तीनकुने विध्वंसमा उनले देखाए ।जसको परिणाम यति खेर उनी पनि प्रहरी खोरमा छन् ।

यीनले कमान्डर मानेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं भागेका छन् । जस्तोसुकै परिस्थितिमा पनि आफू नभाग्ने बरू बलिदान दिन तयार हुने हुँकार गर्दै आएका प्रसाईं फिल्मी शैलीमा प्रहरीकै अघिबाट भागेका थिए। मन्दिरमा बसेर भिडियो सन्देश भन्दै सञ्जालमा सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ गर्न अहिलेसम्म सकेको छैन। कांग्रेस माओवादी र एमालेकै काखमा हुर्किएका अत्यन्तै विवादास्पद पात्र हुन् उनी। अस्वभाविक रूपले धनी भएका उनी मिटर व्याज, लघुवित्त र बैंकलाई निशाना बनाउदै आएका उनी यतिबेला राजा ल्याउन भन्दै सबैभन्दा बढी राजभक्त बनेका छन् ।

सामान्य राजनीतिक चेतना,विचार र संस्कार समेत नभएका उनलाई ज्ञानेन्द्र शाहले सडकको कमान्डर तोके।जसको उदण्डताकाे कारण अहिले राजावादी आन्दोलनले धक्का खाएको छ।

सडक आ न्दोलनका नाममा तोडफोड र फोहोर गरेपछि काठमाडौ महानगरले निर्मल निवासलाई जरिवाना तोक्यो। बालुवाटारले शाहमाथि कारबाही गर्ने चेतावनी दिएपछि ज्ञानेन्द्र शाहले आफ्ना संवाद सचिव फनिन्द्र पाठक मार्फत तीनकुने विध्वंसको जिम्मेवार नभएको अभिव्यक्ति मात्रै दिएनन् । महानगरले तोकेको जरिवाना तिरेनन्। संविधान र कानुनले उनलाई नागरिकको रूपमा चिन्छ।उनी संविधान र कानुन भन्दा माथि छैनन् र हैनन्।तैपनि उनको अहंकार उस्तै छ।यद्यपि दरबार फर्किन्छु भन्ने ठूलो अपेक्षा गर्दै सक्रिय रहेका उनलाई दुर्गा प्रसाईंले हावा खुवाएपछि यतिबेला ईन्तु न चिन्तुमा परेका छन्।

दुई जनाको ज्यान जाने गरि भएको हिंसात्मक गतिविधिमा उनी योजनकार भएको प्रधानमन्त्री स्वंयले सार्वजनिक रूपमै दोष करार गरेपछि उनी झस्किएको देखिन्छ । दुर्गा प्रसाईका अनुसार ३० अर्ब दुबईमा लगानी गरेका शाह नेपालका अर्बपति व्यापारी हुन्।अमेगा घडी काण्डदेखि गैडा तस्करीमा उनको नाम मुछिएको छ। अमेगा काण्डको विषयमा नवराज सुवेदीले आफ्नो पुस्तकमा लेखेका छन् ।यद्यपि उनैलाई ज्ञानेन्द्रले राजसंस्था फर्काउने आन्दोलनको कमान्डर बनाए। उनै सुवेदीले विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई सडक कमान्डर बनाए ।सडक कमान्डर बनेको दोश्रो दिन दुई जनाको ज्यान गयो , करोडौंको क्षति बनाएर भागे।

सबै शक्तिको नाडी छामेका प्रसाईले ज्ञानेन्द्र दरबार फर्किने र उनको बक्सिसमा प्रधानमन्त्री र मन्त्रीसहितको राजनीतिक नियुक्ति खाने सपना देखेकाहरूको सबै सपना तीनकुनेकै विध्वंसमा खरानी बन्यो।


यति भनिरहँदा अहिलेका शासकहरू ठीक छन् भन्ने अवस्था छैन।गणतन्त्रको १६ वर्षको अवधि पल्टाएर हेर्दा अस्थिरता ,भ्रष्टाचार ,बेथिति र कुशासन छन् । राजनीतिक आ वरणमा देश लुटपाट गर्नहरू छन् । माफिया कब्जामा छ, राज्य संयन्त्र । यसो हुनुमा देउवा ओली र प्रचण्ड मुख्य जिम्मेवार हुन्। गणतन्त्रको मुख्य चालक भएपछि दोष यीनीहरूले लिनुपर्छ ।तर,जनतामा चुलिदो निराशालाई कम गर्न भन्दा मलजल गरे यीनीहरूले ।

पटकपटक सत्तामा फर्किएपनि सरकारहरूले बेथिति बाहेक अरू दिन सकेनन् । जनताले यीनका झुठा भाषण सुनेर वाक्क छन् ।यसैको विस्फोट हो, राजावादी आन्दोलन उग्र हुनुमा पनि ।तैपनि सच्चिने संकेत खासै देखिन्न।यद्यपि संगै भने भएका छन् ।

गणतन्त्रको लागि एकै ठाउँमा उभिनु सकारात्मक भएपनि जनताले अनुभव गर्ने गरि कामको योजना अहिलेसम्म सार्वजनिक नगर्नुले राजावादी समूहलाई बल मिलिरहेको छ।शासकीय कमजोरी भएको जनतासामू स्विकार्दै अघि बढ्नुको विकल्प देखिन्न।किनकि गणतन्त्रको विशेषता यही हो, जहाँ हरेक शासक जनताप्रति जवाफदेही हुनुपर्छ । जवाफदेही नभए २०८४ मा बढारिनु विकल्प छैन।नेताले बेलैमा बोध गरून्। राजतन्त्रको महाभुत भन्दा गणतन्त्रको नालायक शासककै कारण पतन निश्चित छ, यो सत्य कुरा नभुलुन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ७ : ०४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित