१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

निर्यातमा उत्साहजनक सुधार,नौ महिनामा करिब दुई खर्ब निर्यात !


७ बैशाख २०८२, आइतबार  


अर्थतन्त्र शिथिल रहेको बेलामा पछिल्लो समय क्रमशः लयमा फर्कने संकेत देखिएको छ ।

राष्ट्र बैंक र भन्सार विभागले सार्वजनिक गरेका दुवै तथ्याङ्कहरूले अर्थतन्त्र क्रमशः सुधार भएको देखाएको छ । राष्ट्र बैंकले पछिल्लो आठ महिनामा आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ , भने भन्सार विभागले पछिल्लो ९ महिनामा ६५ प्रतिशतले निर्यात बढेको देखाएको छ ।

यसरी दुवै तथ्याङ्कलाई केला हेर्दा शिथिल बनेको अर्थतन्त्रमा आर्थिक गतिविधिहरू बढेको देखाउँछ । चालू आर्थिक वर्षको ९ महिनामा गएको वर्षको यही अवधिको तुलनामा १२.१८ प्रतिशतले आयात र ६५.१६ प्रतिशतले निर्यात बढेको छ ।

चैतसम्म नेपालबाट १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत सम्म अघिल्लो वर्षको यही अवधिको तुलनामा ६५.१६ प्रतिशतले निर्यात बढेको देखाएको छ । गएको वर्षको चैतसम्ममा १ अर्ब १३ अर्ब रुपैयाँ बराबरको नेपालबाट वस्तुहरू निर्यात भएको थियो ।

यसरी पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमशः सुधार देखिएको छ । चालू आर्थिक वर्षका हरेक महिना आयात–निर्यातको ग्राफमा वृद्धि भइरहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ९ महिनामा नेपालको वैदेशिक व्यापार करिब १५ खर्ब रुपैयाँको भएको छ । यो व्यापार गएको वर्ष यही अवधिको तुलनामा १६.८९ प्रतिशतले बढेको छ । विभागका अनुसार गएको वर्ष १२ खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म समग्र आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको थियो । तर कात्तिकदेखि बढ्न थालेको व्यापार चैत मसान्तसम्म आइपुग्दा आयात १२.१८ र निर्यात ६५.१६ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार नेपालमा पछिल्लो ९ महिनामा १३ खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ । गएको वर्षको सोही अवधिमा यस्तो आयात ११ खर्ब ६७ अर्ब रुपैयाँको थियो ।

विभागको आयात र निर्यातको तथ्याङ्क अनुसार निर्यातमा सुधार भए पनि पछिल्लो ९ महिनाको अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँको रहेको देखाएको छ । पछिल्लो ९ महिनामा ६.४५ प्रतिशतले व्यापार घाटा बढेको छ । अघिल्लो वर्ष यो अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ८१ अर्ब रुपैयाँ थियो ।

विभागमा अनुसार चैत महिनामा मात्रै १ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो आयात फागुनको तुलनामा ९ अर्ब रुपैयाँले बढी हो । फागुन महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको थियो ।

पछिल्लो ९ महिनामा भएको निर्यातमध्ये ३० अर्ब रुपैयाँको चैतमा थपिएको देखिन्छ । फागुन महिनाको तुलनामा चैत महिनामा निर्यात कम देखिएको छ ।

चैतमा ३० अर्बको निर्यात भएको छ भने फागुनमा ३१ अर्बको निर्यात भएको थियो । निर्यातमा ३३ प्रतिशत हिस्सा भटमासको तेलको रहेको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ०४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित