२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

भारतीय कांग्रेस आईका स्थानीय नेताको घरमा लुकेर बसेका प्रसाईं अन्ततः प्रहरी नियन्त्रणमा


२८ चैत्र २०८१, शुक्रबार  


विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।

तीनकुनेमा यही चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरीेले पुष्टि गरेको छ।

यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।
नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।

यही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन गर्नु परेको थियो ।

प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको बताइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ ल्याउने तयारी भएको छ ।

उनलाई नेपाल ल्याउन लागिएको खबरपछि शुक्रबार बिहान झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउन लागिएको हो ।

चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्वराजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाट स्थित घरमै नजरबन्द गरिएको छ ।

प्रसाईँ भने त्यहाँबाट भागेर भारत पुगेका थिए । भारतमा पुगेपछि उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो सन्देश पोस्ट गरेर आफू नेपालमै भएको भन्दै आएका थिए।

प्रसाईँ भारतको आसाम स्थित कांग्रेस आईका एकजना स्थानीय नेताको घरमा लुकेर बसेको प्रहरीले बताएको छ। प्रसाईँ विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाइने प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ११ : ०५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित