३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

अधिवक्ता विमल पोखरेल भन्छन्,- ‘सांसदहरूको सामूहिक नालायकीको पराकाष्ठा ‘


१८ असार २०८२, बुधबार  



सांसदहरू कति अनैतिक, असक्षम, नालायक र पेन्डुलम छन् भन्ने कुरा निजामती विधेयकले छर्लङ्ग पारिदिएको छ । उक्त विधेयकमा अवकाश पाएका कर्मचारीलाई २ वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने सहमतिलाई लत्याइएको छ र चलाखीपूर्ण तरिकाले हटाइएको छ । जब कि यो विषय निकै चर्चित र सबैको आँखा जाने प्रावधान हो ।
सांसदहरूले आफ्नो असक्षमता, अनैतिकता र नालायकी ढाकछोप गर्न कर्मचारी वा एक(अर्कोलाई दोष दिएर बसेका छन् । खासमा राज्यव्यवस्था समितिले पारित गरेको विधेयक असार २ गते जिउँदा रहेका सबै सांसदहरूलाई वितरण गरिएको थियो । विधेयककको प्रति अध्ययन गर्नको लागि वितरण गरिन्छ, बदाम खान वा १० रुपैयाँ किलो कबाडीलाई बेच्नको लागि होइन ।
विधेयक प्राप्त गरेको १५ दिनसम्म सांसदहरू, तिनका सचिवहरू कोही कसैले एक अक्षर पढेनन्, सबैजना पूरापूर निदाए । विधेयक हुबहु संसदबाट पारित भयो । जब पत्रकारले कुलिङ पिरियड नराखिएको समाचार लेखे, त्यसपछि तिनीहरू सबै निद्रबाट ब्युँझिए र आरोप(प्रत्यारोपमा उत्रिए । रामहरि खतिवडा, गगन थापा, विश्वप्रकाश शर्मा, रेखा शर्मा, नारायणकाजी श्रेष्ठहरू पूरापूर नाङ्गिएका छन् । राज्यव्यवस्था समितिका सांसदहरू त पूरै नाङ्गिएका छन् । तिनीहरूको शरीरमा लाज छोप्ने टालो पनि छैन ।
सभामुख देवराज घिमिरेले राज्यव्यवस्था समितिले पठाएको र संसदले पारित गरेको दुवै विधेयकका प्रति देखाएर प्रष्ट भनिदिए, तपाईंहरूले जस्तो पठाउनुभएको हो, त्यस्तै पारित गरिएको छ, अर्थात् तपाईंहरू नाङ्गै हुनुहुन्छ ।
तलबभत्ता खाने, संसदको क्यान्टिनमा खाजा खाने, र अनावश्यक गफ दिनेबाहेक सांसदहरू केही गर्दैनन् । महिनौंसम्म संसद सचिवालयभित्रै रहेको लाइब्रेरीमा कोही सांसदहरू जाँदैनन् । पिजन होलमा राखिएको विधेयक कोही सांसदहरूले लैजाँदैनन् । सांसदहरूको विजोगको बारेमा पत्रकारहरूले एउटा राम्रो रिपोर्टिङ गरे हुन्थ्यो भन्ने लाग्छ ।
राज्यव्यवस्था समितिले आफ्नो वैधानिकता पूरै गुमाइसकेको छ । त्यसलाई विघटन गरेर नयाँ समिति बनाउनुपर्छ । निजामती विधेयक काण्ड सांसदहरूको सामूहिक नालायकी, सामूहिक असक्षमता भएको हुनाले कसैलाई कारवाही हुँदैन । तिनीहरू सबैले जनतालाई बेकुफ बनाएका मात्रै हुन् । ढुक्क भए हुन्छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित