३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

बाफिया कानुन संशोधन नभए उद्योगहरु बन्द हुन्छन् : चन्द्र ढकाल,अध्यक्ष, उद्योग वाणिज्य महासंघ


१५ श्रावण २०८२, बुधबार  


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास भए उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्।

नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले ऐनमा संशोधनको प्रस्वअनुसार जस्ताको त्यस्तै पारित भएमा उद्योग धन्दा नै बन्द गर्नुपर्ने अवस्था आउने र त्यसबाट आर्थिक गतिविधिमा गम्भीर असर पर्ने खतरा रहेको बताएका हुन्।

अध्यक्ष ढकालकाअनुसार बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्तावमा राखिएको परिभाषामा पुनःलेखन गर्नुपर्छ ।


ढकालले आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताएका छन्। उच्चस्तरिय आर्थिक आयोग गठन, आयोगको सुझावअनुसार विभिन्न ३० वटा कानूनहरुको संशोधन र बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता विषयले निजी क्षेत्र उत्साहित भएको उनको भनाई छ ।


देशको आर्थिक समृद्धिका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण आवश्यक रहेको निजी क्षेत्रले बताउँदै आएकोमा वर्तमान सरकारले गरेका नीतिगत सुधारहरुको प्रयासहरु स्वागतयोग्य रहेको उनले बताए ।

आर्थिक वर्ष २०८२÷८३ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ । यसबाट महासंघ आशावादी र उत्साहित भएको उनले बताएका छन् ।

अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना भएकोले यी सम्भावनाबाटै आर्थिक समृद्धिको खाका कोर्न सकिने बताउँदै नकारात्मक सोचबाट सकारात्मकताको दिशामा जानुपर्ने सुझाउँछन् । उनका अनुसार देश विकाको लागि आन्तरिक तथा वाह्य पूँजी परिचालन आवश्यक रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ३ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित