ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच मुख्य प्रायोजन सम्झौता भएको छ ।काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो ।
रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
मालिक शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्न साथ जोडिएकोमा ग्लोबल आईएमई बैंकलाई धन्यवाद व्यक्त गरे । ’ग्लोबल आईएमई बैंकलाई धेरै धन्यवाद दिन चाहन्छौं । शाहले भने, ‘हाम्रो उपाधि जित्ने लक्ष्यमा यहाँहरुको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ, हामीले उपाधि जितेर थप खुसी दिनेछौं ।’
डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ’हामीले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएका हौं । हामीले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर अघि सरेका हौं । हामी सबै यो सहकार्यका लागि उत्साहित छौं,’ पोखरेलले भने ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।