४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

खेल तथा पर्यटन प्रवर्द्धनका लागि रोल्पामा नौ लाख राशीको भलिबल प्रतियोगिता !


१६ मंसिर २०८१, आइतबार  


जिल्लाको खेल तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले रोल्पामा ठूलो राशीको भलिबल प्रतियोगिता हुने भएको छ।

सनस्टार युवा क्लबको आ योजनामा हुने प्रतियोगितामा नौ लाख राशिसहितको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

रोल्पामाआगामी फागुन ३ देखि ८ गतेसम्म जिल्ला सदरमुकाम लिवाङमा हुने राष्ट्रिय भलिबल प्रतियोगिताको शनिबार लोगो तथा पुरस्कार राशि सार्वजनिक गरिएको हो।

सन स्टार युवा क्लब रोल्पाले आयोजना गर्ने प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाख नगदसहित सन स्टार ट्रफी हात पार्नेछन्।

त्यस्तै, दोस्रो हुने टिमले दुई लाख पचास हजार, तेस्रो टिमले एक लाख र सान्त्वना हुने टिमले ५० हजार प्राप्त गर्ने क्लबका अध्यक्ष पूर्ण केसीले बताए । आयोजित प्रतियोगिताको जानकारी दिँदै अध्यक्ष केसीले रोल्पामा अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।

क्लबको तेह्रौँ वार्षिकोत्सवको अवसर पारेर गर्न लागिएको प्रतियोगितालाई जिल्लाकै महत्त्वपूर्ण उत्सवको रूपमा हेरिएको छ।आयोजकका अनुसार प्रतियोगितामा दश टोलीको सहभागिता रहनेछ । प्रत्येक प्रदेशबाट एक–एक समूह, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी दश समूहले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

त्यसका साथै उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायतलाई पनि नगदसहित पुरस्कृत गरिने अध्यक्ष केसीले जानकारी दिए । विभागीय टोली तथा प्रदेशहरूमा पनि खेलाडी सहभागिताका लागि समन्वय भइरहेको र दशवटै टोलीलाई रोल्पामा उतार्ने गरी तयारी थालिएको क्लबले जनाएको छ।

‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने मूल नारा राखिएको प्रतियोगिताका लागि आर्थिक संकलन अभियान पनि जारी राखिएको अध्यक्ष पूर्ण केसीले बताए। उनले भने,‘हामीसँग अहिले आर्थिक स्रोत त छैन, थोपा–थोपाबाट समुद्र बन्छ भन्ने मान्यतालाई शिरोपर गर्दै यो खेलकुदको आयोजना गरेका छौँ, ‘सहकार्यका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूसँग कुरा भइरहेको छ, सहयोगकै भरमा प्रतियोगिता आयोजना गर्दैछौँ ।’ अध्यक्ष केसीले राष्ट्रियस्तरको भलिबल आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण रहेको भन्दै आर्थिक, भौतिक, नैतिक सबै हिसाबले सहयोगको अपील समेत गरेका छन् ।

जिल्लास्तरीय महिला भलिबल हुने
यही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता पनि हुने भएको छ। स्थानीय तहको सिफारिसमा यश प्रतियोगितामा टिमलाई सहभागी बनाइनेछ। जसमा प्रथम हुनेले ५५ हजार, दोस्रोले ३५ हजार, तेस्रोले १५ हजार र चौथो हुनेले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

राष्ट्रिय भलिबलसहितको कार्यक्रम सम्पन्न गर्नका लागि करिब ४० लाखको खर्च अनुमान गरिएको छ। राष्ट्रिय खेलाडीलाई यातायात, खान, बस्न, रेफ्री पारिश्रमिक, खेलकुद सामग्रीलगायत सबै खर्च गर्दा करिब ४० लाख खर्च लाग्ने अनुमान गरिएको हो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ०८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित