स्वदेशी चिनी उद्योगमाथि मार पर्ने गरि अनाधिकृतरूपमा चिनी आयात भइरहेको भन्दै नेपाली चिनी उद्योगहरूले सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले अनाधिकृत चीन आयातलाई तत्काल रोक लगाउन ध्यानाकर्षण गराएका हुन् । चिनी उद्योग संघ नेपालले अनाधिकृत तथा अनियन्त्रि रुपमा भइरहेको चिनी आयातलाइ अविलम्ब रोक लगाउन सरकारसँग यस्तो माग गरेको हो ।
स्वदेशमा स्थापित चिनी उद्योगहरूले गएकाे क्रसिङ्ग सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा मौज्दात रहेको संघले जनाएको छ ।
खुला सीमानाका कारण हाल अत्याधिक मात्रमा चिनीको अनाधिकृत पैठारी भइरहेको संघले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ । यसले चालू क्रसिङ्ग सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौज्दात रहन जाने संघले जनाएको छ ।
स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौज्दात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको संघले जनाएको छ । जसका कारण केही उद्योगहरू बन्द नै हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।
चालू सिजनमा समयमै उद्योग सञ्चालन हुन नसकेमा लाखौं उखु किसानहरूको भविष्य समेत अन्योलमा पर्न गई चिनी उद्योगहरू थप संकटमा पर्न जाने भएकाले अनाधिकृत रुपमा भइरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन संघले जोडदार माग गरेको छ ।
हाल १३ वटा चिनी उद्योगहरु संचालनमा छन् । सघंका अनुसार संलग्न उखुँ कृषक परिवार भने करिब १ लाख १५ हजार ७५५ जना छन् । यस्तै, चिनी उद्योगबाट प्रत्यक्ष–अप्रत्यक्ष करि ३० हजार ५३५ जनाले रोजगारी पाएका छन् ।
हाल मुलुकको कुल चिनिीको वार्षिक माग करिब २ लाख ५० हजार मेट्रिक टन रहेको छ । संघका अनुसार चालु क्रसिङ्ग सिजन २०८१–८२ सुरु हुन गइरहेको र करिब २ लाख २० हजार मेट्रिक टन उत्पादन हुने प्रक्षेपण रहेको छ ।
गएकाे आर्थिक वर्ष को क्रसिङ्ग सिजनमा २ करोड ३८ हजार ७५५ क्विन्टल उखुँ क्रसिङ्ग गरिएको थियो भने १ लाख ७८ हजार ७१७ मेट्रिक टन चिनी उत्पादन भएको थियो ।