२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

तिहारमा ५० कराेडकाे पुष्प व्यापार, फूलकाे माग हरेक वर्ष २० प्रतिशतले वृद्धि


२२ कार्तिक २०८१, बिहिबार  


यस वर्षको तिहारमा ५० करोड बराबरको फूल कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले विवरण सार्वजनिक गरेको छ।

फ्यान अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारी यस वर्ष फूलको कारोबार भएको छ। यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको १०० तिर्नुपरेको थियो।

काठमाडौँ महानगरपालिकाले फूल बिक्री स्थल तोकेका कारण यस वर्ष सहज भएको उनले बताए। यस वर्ष महानगरले नेपाली फूल किसानलाई फूल बेच्न ४६  स्थान  तोकेको थियो।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ। विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरे पनि सयपत्री र रातो गुलाब भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए। 

काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन्। व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए।

पुष्प खेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने दुई सय २१ हेक्टरमा १ हजार १८४ व्यवसायीले पुष्प खेती गरेको सरकारी तथ्यांक छ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ५ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित