२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

रास्वपा नेता डा. पाँडे विरुद्ध मुद्दा दर्ता, एक लाख जरिवानासहित पाँच वर्ष कैदको माग


१३ भाद्र २०८२, शुक्रबार  


रास्वपा केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डाक्टर अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

अदालतमा विद्युतीय कारोबार कसुर ऐनअन्तर्गतको कसुरमा पाँडेविरुद्ध अभियोग पत्र दर्ता भएको छ । इमेल र ह्वाट्सएपमार्फत चरित्रहत्या गरेको आरोपपछि साइबर ब्युरो पुगेका पाँडेलाई जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले विद्युतीय कारोबार कसुर ऐन, २०६३ को दफा ४७ (१) अन्तर्गतको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेर जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरिएको हो ।

अभियोगपत्रमा महिलाले आफ्नो छोरा साइन्स अध्ययन गर्न रुचि रहेकोले पाँडेसँग केही कुरा बुझौं भनी सुझाव लिनको लागि सम्पर्क गरेकोमा इमेल र ह्वाट्सएपमार्फत विभिन्न अश्लील म्यासेज पठाई मानसिक यातना दिएको, अपमान गरी दुस्ख दिएको बताएकी छिन् । तर पाँडेले भने आफ्नो बयानमा २०६९ सालतिर नै जाहेरवाला महिलासँग आफ्नो श्रीमतीमार्फत चिनजान भई कहिलेकाहीँ पारिवारिक भेटघाटसमेत हुने गरेको बताएका छन् ।

पाँडेले असार २५ गते ती महिलाले बेलायतबाट आफू नेपाल आउन लागेको र भेट गरौं भनी अनुरोधसमेत गरेको बताएका छन् । श्रीमती नेपाल नभएको थाहा पाएपछि भेट्न बोलाउने गर्ने गरेको व्यवहार मन नपरेपछि म्यासेज गरेको बयानमा भनेका छन् । उनको इमेलबाट गएको म्यासेजमा शारीरिक सम्बन्ध राखेको कुराहरू समेत उल्लेख छ ।

प्रहरीसँगको बयानमा पाँडेले समेत आफूले ती महिलालाई म्यासेज पठाएको स्वीकार गरेका छन् । पाँडे अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको कर्मचारी तथा शिक्षा विज्ञसमेत हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ४ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित