२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

२७ हजार पुगे डेंगु संक्रमित,बल्ल बाैरिदै सरकार !


१० कार्तिक २०८१, शनिबार  


डेंगु संक्रमण भयावह बनेपछि बल्ल सरकारले चासो देखाउन थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हरेक शुक्रबार बिहान १० बजे डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियान थाल्ने निर्णय गरेको छ । त्यसमा राज्यका सबै संयन्त्र परिचालन हुने भनिएको छ ।

प्रधानमन्त्री केपी ओलीले पनि शुक्रबार सामाजिक सञ्जालमा भिडियो तथा स्टाटस पोस्ट गर्दै हरेक शुक्रबार बिहान १० बजे लामखुट्टे र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानमा लाग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओल भनेका छन्, ‘लामखुट्टेबाट सर्ने–फैलिने डेंगु रोग नेपालका केही जिल्लाहरूमा अहिलेसम्म पनि कायमै छ, यसलाई रोकथाम गर्नको लागि लामखुट्टेलाई टोक्न नदिनु र लामखुट्टेका प्रजननस्थलहरू पानी जमेका ठाउँहरू नष्ट गर्नु जरुरी हुन्छ । यसपल्ट पनि हामी त्यही गर्न लागेका छौँ । हरेक शुक्रबार बिहान १० बजे हामी सबै नागरिक समाज, कर्मचारी, सेना–प्रहरी सबैलाई यस अभियानमा जुट्न म हार्दिक आग्रह गर्दछु । यसो गरेर मात्रै हामी निरोगी नेपाल, स्वस्थ नेपाल निर्माण गर्न सक्छौँ ।’ तर, सरकारले निकै ढिलो गरी लामखुट्टेका लार्भा नष्ट अभियान थालेको हो । यसबिचमा २७ हजार १५३ मा संक्रमण भइसकेको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि शुक्रबार नै अपिल गरेका छन् ।

वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सरकारले मनसुन सुरु हुनुअघि नै डेंगु नियन्त्रणमा चासो देखाएको भए अहिलेको जस्तो भयावह अवस्था नआउने बताए । ‘सरकारले ढिलो चासो देखायो, डेंगु नियन्त्रणमा पहिलेदेखि तथा मनसुन सुरु हुनअघि नै चासो दिएको भए यो हदसम्म फैलने थिएन,’ उनले भने, ‘सरकार र नागरिकस्तरबाट सम्भावित लार्भा भएको ठाउँमा औषधि छर्कने र पानी जम्न नदिने तथा सरसफाइका काम गरेको भए भयावह अवस्था आउने थिएन, तर सरकारले वेलैमा ध्यान दिएन ।’ उनका अनुसार डेंगु फैलन नदिनका लागि मुख्य त लामखुट्टेको लार्भा नष्ट गर्नुपर्छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु नियन्त्रणमा राज्यले अघि सारेका रणनीति र कार्यनीति कमजोर भएको स्विकारे । उनले यसअघिका रणनीति र कार्यनीतिले काम नगर्दा डेंगु संक्रमण फैलिएको बताए । यसअघिका कार्यक्रम प्रभावकारी नभएका कारण बिहीबारको मन्त्रिपरिषद् बैठकले डेंगु नियन्त्रणमा लाग्ने निर्णय गरेको डा. बुढाथोकीको भनाइ छ । ‘मन्त्रिपरिषद्बाट नै निर्णय गरेर काम गर्न मन्त्रालयले ध्यानाकर्षण गराइएको छ । अब प्रभावकारी रूपमा डेंगु नियन्त्रणमा काम गर्नुपर्छ,’ उनले भने ।

दुई सातापछि लामखुट्टे कम हुने प्रक्षेपण
मौसमअनुसार गर्मी समयमा लामखुट्टे बढी फैलिन्छ । जाडो यामसँगै लामखुट्टे र लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण दर पनि घट्दै जाने आकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार लामखुट्टे फैलने र डेंगुका बिरामीको संख्या बढ्ने समय मुख्य त वैशाखको पहिलो सातादेखि कात्तिकको पहिलो सातासम्म हो । कात्तिक लागेसँगै राजधानीलगायत पहाडी जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै डेंगु संक्रमण पनि कम हुँदै जाने बताइन्छ । सरुवारोग विशेषज्ञ डा. पुनले चिसो बढेसँगै अब दुई सातापछि लामखुट्टेको टोकाइ धेरै कम हुने बताए । ‘चिसो सुरु हुँदै छ, लामखुट्टे पनि मौसमसँग कमजोर बन्दै जान्छ, दुई सातापछि धेरै कम हुन्छ, तैपनि पूर्ण रूपमा लामखुट्टे हराउँदैन, यो पुसमा पनि डेंगु देखिन सक्छ,’ उनले भने, ‘सरकारले गर्मी सिजन सुरु भएसँगै हरेक वर्ष यसमा काम गर्नुपर्छ ।’

हिमाली क्षेत्रमा पनि डेंगु फेला परेको छ।
अत्यत्यै चिसो हुने र अग्ला भूभाग भएका जिल्लामा पनि लामखुट्टे फैलिएपछि डेंगुको जोखिम थप बढेको हाे । महाशाखाका अनुसार हुम्लामा पनि संक्रमित देखिएका छन् । २१ कात्तिकमा हुम्लाका ५४ वर्षीय गौरासिंह बोहरालाई डेंगु देखिएको थियो । बुधबारसम्मको तथ्यांकअनुसार हुम्लामा एकजनालाई मात्रै डेंगु देखिए पनि शनिबार प्रकाशन हुने नयाँ अद्यावधिक तथ्यांकमा भने थप व्यक्तिलाई पनि डेंगु भएको हुन सक्ने आशंका गरिएको छ । त्यस्तै, अन्य हिमाली जिल्लामा पनि थोरै संख्यामा डेंगु देखिएको महाशाखाले जनाएको छ । 

हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्की, काठमाडौं, तनहुँ, पर्वत, चितवन, ललितपुर, गोरखा र बागलुङमा डेंगु बढी फैलिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : १२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित