२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

आय विवरण बुझाउने थपियाे म्याद !


२६ मंसिर २०८१, बुधबार  



एक करोड भन्दा बढीको वार्षिक कारोबार गर्ने करदाताहरुका लागि आय विवरण पेश गर्ने म्याद थपिएको छ ।

आन्तरिक राजश्व विभागकाे कार्यालयले १ करोड बढी कारोबार गर्ने करदाताहरुलाई आय विवरण पेश गर्न आगामी पुस मसान्तसम्मको म्याद दिएको छ ।

निजी क्षेत्रका विभिन्न व्यवसायिक तथा व्यापारिक छाता संगठन तथा करदाताहरुले आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म कायम गर्न माग गर्दै आएका थिए ।

आयकर ऐन, २०५८ को दफा ९६(१) मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रहेर सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ भन्ने व्यवस्था छ ।

यही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।

ऐनमा उल्लेखित व्यवस्था बमोजिमक हाल विभागको कम्प्युटर प्रणाली मा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रुपमा म्याद थप हुने व्यवस्था छ ।

यसअघि विभागको गत असोज ४ गतेको निर्णयानुसार वार्षिक २५ करोडसम्म कारोबार गर्ने करदाताहरु र कारोबार भएका निकायहरुको सम्वन्धमा मंसिर मसान्तसम्म र २५ करोड बढीको कारोबार गर्नेको हकमा पुस २० गतेसम्म आय विवरण पेश गर्न म्याद थप गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित