१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

संखुवासभामा ३४ करोड बढीको सुन्तला बिक्री


१२ पुस २०८१, शुक्रबार  


पूर्वी नेपालकाे संखुवासभा जिल्लामा यो वर्ष रु. ३४ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ। सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।

यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले जानकारी दिए । पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ ।

‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएकामा यस वर्षको हालसम्म ३४ करोडभन्दा बढीको कारोबार भइसकेको छ,’ उनले बताए।

यो वर्ष जिल्लामा तीन हजार ४८५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै ११५ मेट्रिक टन किवी उत्पादन भएको छ । परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये ६२० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ ।

उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो एक सयमा बिक्री भइरहेको छ । संखुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौंसम्म पुग्ने गर्दछ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : १२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित