घटस्थापनादेखि यता तीन दिनमा दशै मनाउन गाउँ फर्कनेहरूकाे संख्या करिब ९० हजार भएको प्रहरीले बताएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार घटस्थापनायताको तीन दिनमा ८९ हजार ७१३ जनाले सडकमार्गबाट काठमाडौं उपत्यका छाडेका हुन्।
ट्राफिक तथ्यांकअनुसार घटस्थापनाको दिन बिहीबार १३ हजार ६२८, शुक्रबार ४७ हजार ६२३ र शनिबार २८ हजार ४६२ ले उपत्यका छाडेका छन् । ‘बाढीपहिरोले असर गरेको छ, पूर्व जाने कतिपय सडक अझै अवरुद्ध छन् । पहिरो पनि खसिरहेको छ । पानी पर्छ भन्ने समाचार पनि आइरहेका छन्,’ प्रहरी नायव उपरीक्षक कार्कीले भने, ‘त्यही भएर उपत्यका छाड्ने घटेका हुन् । काठमाडौं आउने पनि खासै छैनन् ।’
सरकारले १० देखि १२ असोजसम्म त धेरैजसो जिल्लामा रात्रिकालीन बस नै बन्द गरेको थियो । १४ असोजयता उपत्यका छाड्नेको संख्या दुई लाख २३ हजार ९५८ मात्र छ । जब कि यसअघिका वर्षमा घटस्थापनादेखि नै काठमाडौं छाड्नेको संख्या बढ्थ्यो ।
यस अवधिमा दैनिक एक लाखहाराहारीले काठमाडौं छाड्थे । बाढीपहिरोको घटनाअघि ट्राफिक प्रहरीले दसैँ मनाउन १८ लाखले उपत्यका छाड्ने अनुमान गरेको थियो ।