मुलुकको लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने एक सिपाही हो, कांग्रेसका आदरणीय पार्टी सभापति देउवा ज्यू। डडेलधुराको त्यो दुर्गम बस्तीबाट उठेको अक्टो जेनेरियन हो, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री देउवा । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पञ्चायत र राजाबाट यातना र धोका खाएको देउवा मुलुकको लागि पाँच पाँच पटक प्रधानमन्त्री भएको व्यक्तित्व हो ।
एक दशकदेखि पुरानो र ठूलो प्रजातान्त्रिक दलको धुरीमा बसेर दलतन्त्र, परिवारतन्त्र र मनपरितन्त्रको नायकत्व जमाउन सफलता हासिल गरेको नेता हो, देउवा । सोझो, बचनको पक्का, कम बोल्ने र इमान्दार तर, हरेक निर्णय श्रीमतीले भने अनुसार शासन सत्ता र पार्टी चलाउने सरल र सुलसुले पाको नेता हो देउवा । यद्यपि गएको भदौ २४ गते तपाईमाथि अकल्पनीय रुपले हातपात र लछार पछार भयो । त्यत्ति ठूलो सेना प्रहरी हुँदा पनि पाँच पटक प्रधानमन्त्री भैसकेका र छैठौ पटक प्रधानमन्त्री हुनका लागि खुट्टा उचालिसकेका तपाइले कुटाइपिटाइ खाँदा भने कोइ थिएनन्।
तपाइका करिब दश लाख क्रियाशील सदस्यता लिएका सशक्त कार्यकर्ता अनि पार्टी पदाधिकारी र केन्द्रीय सदस्य कोही पनि देखिएनन्, तपाइमाथि मारपिट हुँदा पनि । शेरबहादुर दाइ जयनेपाल भन्दै अवसर थाप्न आउनेहरु दृष्यबाटै हराए । तपाइको यस्तो आपत विपतमा त्यही एउटा प्रकाशशरण महतले मात्रै दुःख मनाउ गरे । तपाइको सबै भन्दा प्यारो व्यक्ति भएरपनि होला, उनी तपाइ दम्पत्ति कुटिदा निकै दुःखी देखिएका थिए ।
तपाइ अस्पतालमै भएको बेला महामन्त्रीद्वयले पार्टी पुनर्गठनको अभियान नै शुरु गरे । जेनजी विद्रोह नेपोटिजमको उपज हो भन्ने निष्कर्ष सहित ती तन्नेरीहरुले नेता फेर्न अभियान थालेका हुन् । दलतन्त्र, देउवातन्त्र र जहानीयाँतन्त्रले थिलथिलो भएको कांग्रेसलाई मुर्झाउन र नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्न दुई तन्नेरी तातिएका हुन् । यद्यपि कांग्रेसको विधान अनुसार तपाइले पक्कै पनि अब पार्टी सभापति पार्टी नेतृत्व छोड्नु हुन्छ भन्ने अपेक्षा थियो र छ ।
यसैमा पनि अब बेस्सरी जेनजी अर्थात नाती पुस्ताले बुढालिनकण्ठमै पुगेर मरन्नासन्ना हुने गरी कुटेपछि तपाइलाई अब पार्टी नेतृत्वमा रहने मात्रै होइन, त्यो ज्योतिषले गरेको भविष्यवाणी अनुसार ७ पटक देशको प्रधानमन्त्री बन्ने यो जीवनकालको अवसर अब नमिल्ने पक्कापक्की जस्तो छ । किनकी २०५२ सालदेखि देउवा(तपाई)यो देशको प्रधानमन्त्री बनिरहनु भयो । देउवाजी तपाई २०४८ सालमा पहिलो गृहमन्त्री हुँदा तपाईका पनि धेरै सपनाहरु थिए होलान्।
मुलुकमा प्रजातन्त्रको स्थापना भएपछि देशमा स्वतन्त्रता, अधिकार र विकासको संकल्पहरु पक्कै थियो होलान् । तर, ३५ वर्षदेखि तपार्ई यही सत्ताको धुरीमा रहीरहनु भयो । देउवा राजनीतिमा लागेकै कारण धनी हुनु भयो। तपाईको छोरा जयवीर देउवाका लागि तपाईले झेलेका जस्तो कुनैपनि दुःख र यातना भोग्नु परेन । किनकी तपाइले राजनीतिमा छिरेर धन सम्पत्ति जोड्नु भयो । राजनीति धन कमाउने कुनै उद्योग र व्यवसाय जस्तो पनि होइन।
सौभाग्य भनौ या दुर्भाग्य भनौ। तपाईको छोरा र नाती सरहका युवाहरुले एकैदिनमा तपाईको धनको भकारी छरपस्तै पारिदिन्छन् भन्ने कल्पना पनि थिएन तर, बुढानिलकण्ठमा थुपारिएको धनको भकारी पोखियो । यति लामो राजनीतिक जीवनमा तपाईले यति ठूलो द्रव्य सजिलोसंग आर्जेको त पक्कै होइन । यति ठूलो द्रव्य थुपार्न तपाई देउवा र तपाईकी श्रीमती आरजु राणा देउवाको चानचुने सहयोग पक्कै थिएन । देश डुबाएपनि द्रव्य र सम्पत्तिले घर उकास्न सक्ने लछिन भएकी श्रीमती पाउनु तपाईका लागि पक्कै पनि सौभाग्य हो । शक्ति र सम्पत्ति आर्जन गर्न सक्ने हैसियत मामुली श्रीमतीले पक्कै पनि गर्न सक्दैनन् ।
तपाईले राजनीतिक जीवन कालमा धन दौलत र श्रीसम्पत्ति जे जति आर्जन गरे पनि त्यसको जग भनेको नै लोकतन्त्र र प्रजातन्त्र हो । लोकतन्त्रका लागि निर्दलीय पञ्चायतको कालो रातमा तपाईले त्यतिबेला झेलेको शारीरिक र मानसिक यातनाको कथा अहिलेका जेनजीका लागि काल्पनिक जस्तो पनि लाग्न सक्छ । त्यो सबै तपाईले सुदूरपश्चिम‚ डडेलधुरास्थित रुवाखोला, असीग्राम गाउँको झुप्रोबाट प्राप्त गरेकोनैतिक सामर्थ्य र तागत थियो। त्यतिमात्र होइन, २०२८ सालमा चितवनमा सम्पन्न नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनबाट पहिलो पटक अध्यक्ष पदमा निर्वाचित हुँदा आजका जेन–जीकै उमेर समूहमा हुनहुन्थ्यो होला तपाई ।
त्यसबेला लोकतन्त्र पुनर्स्थापनाको लागि गरेको संघर्ष इतिहासको स्वर्ण पानामा अंकित पक्कै छ र हुनेछ पनि । त्यो इतिहास पढ्दा पनि गर्व लाग्छ र लाग्नुपर्छ किनकी अग्रजहरुकै त्याग र बलिदानले आज गणतन्त्र र लोकतन्त्र स्थापना भएको छ। आज हामी स्वतन्त्र र निर्वादरुपले आफ्नो विचार र दृष्टिकोण राख्न मात्रै होइन, राज्यको उपल्लो तहमा पुग्न सक्ने ल्याकत आम नेपालीलाई प्राप्त भएको छ । त्यतिबेला निरंकुश पञ्चायतीराजको सातो उडाउने त्यत्तिबेलाको जेन–जी देउवा र अहिले आफ्नै निवासमा जेन–जीकै हातबाट मार खाने ‘अक्टो जेनेरियन’ देउवासँग तुलना गर्न त नमिल्ला ।
त्यत्तिबेला पनि मार खाएका देउवा र अहिलेका जेन्जीबाट मार खाएका देउवामा पक्कै पनि एकरुपता छैन । किनकी हिजो बदल्न हिड्नु भएका तपाई देउवा आज बदनाम हुनु भएको छ । यद्यपि तपाईको दम्पत्तिमाथि भदौ २४ गते भएको त्यो सांघातिक हमला कुनै पनि मानेमा क्षम्य छैन । किनकी मानवीय नाताले पनि तपाई र तपाईकी श्रीमतीमाथि भएको हमलालाई गौरव मान्न सकिने अमानवीयता कसैसंग पनि नहोला ।
लोकतन्त्रको लागि लडेको मान्छेमाथि लोकतन्त्रमै भएको यो हमला लोकतन्त्रमाथिको पनि आक्रमण हो । यस्तो हमला निन्दनीय छ। तर,सत्य र समयको माग के हो भने नयाँ पुस्ताको भावनालाई बुझ्नुको विकल्प छैन । बेलैमा नयाँ पुस्ताको भावना बुझेको यदि हुन्थ्यो भने यसरी ज्यानमाथि मारपिट र धनको भकारी पोखिने थिएन, अनि बुढानिलकण्ठको दरबार खाक पर्ने थिएन । पुत्र, पैसा र पत्नी मोह अनि जिद्दीले तपाईले यस्तो अकल्पनीय दुःख झेल्न पर्यो ।
परिवारवादले लम्पट हुँदा छोराले ऐश आराम र मस्ति त गर्यो । त्यही मस्तिकै उपज आफ्नै दरबारमा अकल्पनीय मार खानु पर्यो । जीवनमा कमाएको धन, शक्ति र सत्ताले इज्जत दिएन र भौतिक रुपले सुरक्षित राखेन । तपाई जतिको लामो राजनीतिक संघर्षको इतिहास बोकेको र देश दुनियाँले राम्रोसंग चिनेको बुझेको व्यक्तित्वमाथि दिनडहादै हमला भयो ।राज्यका सुरक्षा संयन्त्र र तपाईका लाखौ वफादार कार्यकर्ता र शुभचिन्तकले रमिता हेरिरहे ।
राजनीति बाहेक कुनै पेशा र व्यवसाय नभएको तपाई अर्बको मालिक हुँदा पनि असुरक्षित हुुनु भयो । डडेलधुराबाट शरीरमा एक जोर कपडा बाहेक अरु केही नलिएर काठमाठौ छिर्नु भएको तपाई देउवा कसरी धनी हुनु भयो ? त्यसको हिसाबकिताब त राज्यले खोज्ला नै । देउवा ज्यू तपाईको अदृष्य कमाइको श्रोतहरु राज्यले अवस्य बाहिर ल्याउला नै ।
तर, मुल विषय के हो भने, तपाईले भौतिक र मानसिक हिसाबले मार खानु पर्यो भने सबैबाट अस्विकृत र असहयोगमात्रै होइन, भदौ २३ को नरसंहारको दोष पनि कम्तिमा आधा हिस्सा बोक्नु पर्ने भएको छ । तपाईले ओलीलाई बोकेर देशमा जे जसरी विध्वंसं मच्चाइयो । त्यसको दोषमा तपाई पनि प्रत्यक्ष वा परोक्ष संलग्न भएको देखिन्छ । त्यसको नैतिक जिम्मेवारी लिदै अब नयाँ पुस्तालाई पार्टी नेतृत्वको पुस्तान्तरण गर्नु तपाईको जीवनको यो उत्तार्धमा सबै भन्दा विवेकीपूर्ण निर्णय हुन सक्छ ।
एमालेभित्र ओलीले पदको लोभ गरेजस्तै अझै पनि प्रधानमन्त्री या विधान संशोधन गरेर पुनः सभापति हुने कुचेष्टा गरे फेरि पनि तपाईले गर्नु भयो भने तपाई लगायतका म्याद गुजिएका नेताहरुको गर्धन समाउन जेनजी फेरि नआउलान् भन्न सकिन्न । किनकी गएको दश वर्ष देखि तपाई, प्रचण्ड र ओली पालैपालो प्रधानमन्त्री भइरहने । तर, देशको अवस्था बेहाल भएपछि जेनजी विद्रोह भएको पक्कै पनि बोध तपाई लगायत सबैलाई भएकै होला ।
तसर्थ, तपाईले अब लोकतन्त्रलाई सुरक्षित राख्न तन्नेरी पुस्ताको चाहनालाई बुझ्नुपर्ने हुन्छ। यदि अहिले जेन–जी पुस्ताले गरेको विद्रोहलाई तपाई लगायतले आफूहरुमथि भएको आक्रमण मात्र ठानियो भने त्यो जिन्दगीको सबै भन्दा ठूलो भूल हुनेछ। तपाईले नयाँ पुस्ताका लागि मार्ग प्रशष्ट गर्नुको विकल्प छैन ।
र अन्तमा तपाई देउवा र तपाईकी श्रीमती आरजु राणा देउवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तपाईहरुले लडेर ल्याएको लोकतन्त्रलाई थप फूल्न र फक्रन अबको नयाँ पुस्ताले योगदान गर्न तयार छ । नयाँ पुस्तालाई अवसर र आशिरवाद दिनुस्। सुशासनसहित लोकतन्त्रको संस्थागत विकास हुनु भनेको तपाई लगायतका पुराना नेताहरुले गरेको योगदानको प्रतिफल पनि हो। तपाईहरुले त्यो बेलाको जेनजी उमेरमा देखेको लोकतन्त्रको सपना पूरा हुनु पनि हो ।








