१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

एशियाकै प्राचीन सभ्यता,सरजु नदी किनार क्षेत्र !


३ असार २०८१, सोमबार  


अवस्य पनि सरजु नदी प्राचीन भएको कुरा यस अघिका सन्दर्भमा चर्चा गरिएकोे छ। जुन कुरा सुखसागर श्रुती गन्थ्रमा उल्लेख छ। दाङ उपत्यका, जब थलचर प्राणीका लागि बस्न योग्य भयो, मानव जातिको विकाससंगै तब ज्ञानको खोजी हुन थाल्यो । मानवीय चेतनाबाट उर्जाको खोजीका लागि ऋषिमुनिहरुले तपस्या गरे। तर, उपत्यका पानी विहिन भएपछि भगवान विष्णुले धनुष वाण हानेर पानीको उत्पत्ति गरे, हाल सरजु(बबइ) नदीको मुल मुहान घोराही १ रामपुरको मालझाँक्री वन क्षेत्रभित्रको एक गुफामा । हालको उक्त गुफाको आकार पनि धनुष वाण हानेर पानीको उत्खनन् गरिएको आकारमा देखिन्छ। जब पानीको मुहान बन्यो, तबदेखि त्यो बगेर जान थाल्यो, ऋषिमुनिहरु पनि नदी किनारमै बसेर ध्यान जप र तपस्या गर्न थाले ।

हालको सरजु नदीको किनारा शितलपुर मुख्य थलो बन्यो । जुन पाण्डवकालीन युगदेखि रामायणकालीन युगसम्म पनि निकै चर्चामा रह्यो । जुन कुरा २०७१ सालमा सरजु(बबई) नदीमा आएको बाढीको स्थलगत रिपोटिको शिलशिलामा बुढापाकाहरुले सुनाएका थिए। यस्ता पौराणिक सन्दर्भका कथाहरु सुनाउने व्यक्ति थिए, भुपाल बस्नेत। जुन दिनदेखि पंक्तिकार यो विषयमा खोज तथा अनुसन्धानमा लाग्यो । पौराणिक कथा, ऐतिहासिक तथ्यहरु खोतल्दै जाँदा रैथाने भुपाल बस्नेतले सुनाएका तथ्यमा आधारित कहानीहरु क्रमश सिद्ध हुदै गएको देखिन्छ। सरजु नदी सभ्यताको विषयमा जानकार बस्नेत हाल नभएपनि उनले छोडेर गएका ती पौराणिक, तथा प्राचीन कथाहरु सरजु नदी किनार आदिम सभ्यताको विकास भएको थियो भन्ने आधार पक्कै हो।

ऐतिहासिक तथ्य र पौराणिक श्रुती तथा स्मृति कथाहरुले यो पुष्टि गर्दछन् की सरजु नदीको किनारमा प्राचीन सभ्यता थियो। दाङ उपत्यकामा उद्गम स्थल भएको सरजु(बबई) नदीको किनारामा रहेको तुइ दाङ(अर्थात दाङभित्रको सानो उपत्यका) जसको छेवैबाट सरजु नदी निरन्तर बगिरहेकी छिन्।यही सरजु नदी किनारा छेवैमा रहेको प्राचीन सुकौरा दरबार क्षेत्र हो । जुन कुरा पुरातत्व विभागको तर्फबाट पुरातत्व विद् उद्यव आचार्यले तयार गरेको अध्ययन प्रतिवेदनमा सुस्पष्ट रुपमा लेखिएको छ, भन्छन्,सांस्कृतिक अध्ययता अशोक थारु ।उनी भन्छन्,“सुकौरा दरबारका राजा दंगीशरण नै हुन् भन्ने ठोस प्रमाण नभेटिएपनि थारु अगुवाहरुले दंगीशरण राजाले राज्य राज्यको दाबी गर्ने एकथरी थारु अगुवाको छन्, यद्यपि प्राकृतिक भाषामा लेखिएको एउटा कविता छ, जसमा दंगीशरण भन्ने नभएपनि दंग देश दंंग वैराहु भन्ने छ।”

हो, सांस्कृतिक अध्येयता अशोक थारुले भने जस्तै यही तथ्य हो,अहिलेसम्म भेटिएको। यद्यपि सुकौराकोटका राजा दंगीशरण थिए भन्ने प्रष्ट भने छैन । थारुहरुको देउ थान छ, पूजा पनि शुरु गरिएको छ। यो तथ्य नरेन्द्रनाथ योगीले फेला पारेको बताइन्छ, उनै नरेन्द्रनाथ योगीले दंगीशरण राजाले शासन गरेको भनेर नामाकरण गरेको बताउनेहरु एकथरी छन्। यद्यपि राप्ती क्षेत्रका सुपरिचत इतिहास तथा संस्कृतिका ज्ञाता टेकनाथ गौतमले भने आफ्नो पुस्तकमा सुकौराकोटमा दंगीशरण राजा भएको अस्विकार गरेको पाइन्छ।

दाङ देउखुरीको ऐतिहासिक विकासक्रमलाई खोतल्दै जाँदा दाङको मैदानी भागमा थारुहरुले राज्य गरेको र चुरेको माथिल्लो खण्ड वा महाभारतको तल्लो खण्डका बस्तीहरुमा अन्य जातिहरुको राज्य गरेका थिए भन्ने प्रमाणहरु दाङ देउखुरीको ऐतिहासिक विकासक्रममा पाइन्छ। उनै दंगीशरण राजालाई तत्कालीन फलबाङी राजाहरुले भेट्ने गरेको दाबी गरिएको छ ।ती राजाहरु तिलकन्या हुँदै देउखुरीको बाघखोर पुग्ने गर्दथे । तिलकन्या जतिबेलासम्म राप्ती लोकमार्ग खुलेको थिएन, त्यत्तिबेलासम्म प्राचीन बजारको रुपमा प्रख्यात थियो ।

कालान्तरमा औलोको उन्मुलन भएपछि मात्रै अन्य जातिहरु पनि मैदानी भागमा बसाइ सरेको पाइन्छ। जनश्रृति अनुसार द्धापर युगकालीन समाज भगवान कृष्णको देहान्तपछि समाप्त भएको थियो, जुन युगमा १८ दिनसम्म चलेको महाभारतका पर्व चर्चित छ। यही पर्वका मुख्य पात्र पाँच पाण्डवहरु थिए। उनै पाण्डवहरुसंग सुकौराका दंगीशरण राजाको राम्रो सम्बन्ध थियो । वनवासमा रहेका पाण्डवहरु दंगीशरण राजा कहाँ बास बस्न आउँथे। राजाको वायुपंखी घोडा लिएर जान्थे। दिनभर वायुपंखी घोडा लिएर थुन्नो वन(पुरन्धारा, पञ्चकुले र बाघमारे क्षेत्र)मा विहार गर्दथे, अनि बेलुकी दरबारमा फर्कन्थे । बिहानै उठेर उनीहरु सुकौराकोट दरबार हुँदै शितलपुर पुगेर सरजु नदीमा स्नान गर्दथे। यस कथनीमा सांस्कृतिक अध्येयता अशोक थारु असहमत राख्दछन्, उनी भन्छन्, वनवासमा रहेका पाण्डवहरु दंगीशरण राजाको दरबारमा पुगेर मादल बजाएर नाँच्थे भन्ने कुरा पत्याउन सकिन्न। वनवासमा रहेका पाण्डवहरु मादल बजाएर नाँच्ने गरेको कुरा असान्दर्भिक देखिन्छ।

यसरी उनीहरु सरजु नदी किनारामा रहेको धारापानीमा यज्ञसंगै भोजन गरेर स्वर्गद्धरी पुग्दथे। पाण्डवहरुले यज्ञ गरेको स्थलको ठूलो ढुंगो अहिले पनि धारापानीमा सुरक्षित छ। यही पौराणिक शिला संरक्षण गरेर राखिएको बताउँछन् धारापानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारी । उनी भन्छन्, “पाण्डवहरुले यही धारापानीमै यज्ञ गरेर स्वर्गद्धारी पुग्ने गरेको किम्बन्ती छ।”

श्रृति ग्रन्थहरुमा ८४ हजार ऋषिमुनिहरुले तपस्या गरिएको भनिएको छ, ती ऋषिमुनिहरुले तपस्या गर्नुपूर्व सरजु नदी किनार शितलपुरमा तपस्याको अभ्यास गर्दथे । जहाँ अहिले शिव मन्दिर, कृष्ण मन्दिर र गणेश मन्दिर रहेका छन्। तत्कालीन राजा दंगीशरणले सिद्धबाबासंग साक्षात्कार गर्दथे भन्ने किम्वदन्तीमा उल्लेख छ।

द्धापर युगको अन्त्यपछि त्रेता युगको प्रारम्भ भयो,रामायणमा वर्णित कथा अनुसार भगवान रामचन्द्र अयोध्यामा जन्मिए। उनको बाल्य काल सरजु नदी किनारमै हुर्किएको थियो । रामको वर्णनसंगै सरजु नदीको पनि उत्तिकै चर्चा गरिएको छ, जुन नदीको मुख्य शीर हो, दाङ। यही सरजु नदी दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ मालझाँक्री वन भित्रबाट उत्पत्ति भएर अयोध्यामा पुगेर गंगा नदीमा मिसिएर समुद्र पुग्छिन्। यसरी सरजु जहाँबाट उत्पत्ति भएर बगेकी छिन् ती ठाँउहरुलाई जोडेर सरजु धार्मिक पदमार्गको रुपमा विकास र विस्तार गर्न सकिने ठूलो सम्भावना छ, जुन सम्भावनाको भित्री पाटो अर्काे अंकमा तथ्यसहित संप्रेशण गर्नेछौ । प्रतीक्षा गर्नुहोला ।
जय सरजु गंंगा
जय श्रीराम

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : १६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित