टिभी पर्दाबाट निस्केर राजनीतिमा छाेटाे समयमा उदाएका रवि लामिछानेको दिनचर्या विरक्तलाग्दो छ।
ठूला दलका लागि काउछो बनेका उनी यतिबेला उनको विगत नै पासो जस्तै बनेको छ। छिटो नाम र दाम कमाउने हुटहुटीले यतिबेला उनीमा पछुतो भएको हुनुपर्छ ,सायद।
टिभी पर्दामा घोक्रो फुलाउँदै हजारौं प्रश्न गर्ने लामिछानेमाथि यतिबेला हजारौं प्रश्नको जवाफ दिनुपर्ने नियति छ। गएको कार्तिक २ मा पक्राउ परेका उनी त्यस यता, अधिकांश जिल्ला अदालत धाइरहेका छन् । तुल्सीपुर, उच्च अदालत बाहेक सबैले धरौटी बुझाएर घर पठाउन आदेश दिए।
गएको सात महिनादेखि उनको दिनचर्या यस्तै यस्तै छ। सहकारी ठगीको मुद्दाले उनलाई निरन्तर लखेटिरहेको छ। उनको भागमा ६५ करोड ठगीको परेपनि ८७ अर्ब नै उनैले ठगे जस्तो भाष्य बनाइएको छ। यसो हुनुमा उनको प्रस्तुति र शैलीले पनि काम गरेको देखिन्छ ।यद्यपि उनीमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले दाबी गर्दै आएको छ।
मिसन २०८४ भन्दै आएका उनलाई २०८४ सम्म यस्तै आदेश, वादी प्रतिवादी, विगो असुली ,थुन्न आदेश, रिहाइ ,पुर्पक्ष भनेरै तिर्थाटन गराउने देखिन्छ ।पछिल्लो समय उनी पर्सा अदालत धाइरहेका छन् । प्रहरी हिरासतमा रहेका उनलाई पर्सा प्रहरीले ५ करोेड विगो माग सहित प्रतिवेदन बुझाएको छ।
पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको उपरीक्षक प्रहरी गौतम मिश्रले जानकारी दिए।प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो।
प्रहरी उपरीक्षक मिश्र भन्छन् – ‘हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएका छौं। ४१ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ।’
उनका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्थारकम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।
प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ।
सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी भएको छ।
सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो मागदाबी गरेको हो। रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेल पुर्पक्षका लागि कारागारमा छन्।
लामिछाने लगायतविरूद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारीमा मुद्दा दर्ता भइसकेको छ।
कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख, चितवन जिल्ला अदालतले ५४ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख र रूपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो। सबै जिल्ला अदालतमा धरौटी तिरेर लामिछाने पुर्पक्षका लागि छुटेका थिए।
तर उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो।त्यही आदेशले उनी प्रहरी हिरासतमा छन् ।।