मधेशमा खडेरीका कारण यो वर्ष धान उत्पादन २० प्रतिशत घट्ने प्रक्षेपण सरकारले गरेको छ ।
सिँचाइ अभावमा कम रोपाइँ हुँदा र रोपिएको खेत पनि सुक्दै गएकाले उत्पादनमा कमी आउने कृषि मन्त्रालयले प्रक्षेपण गरेको हो ।
बढी धान फल्ने मधेशलाई प्रदेश सरकारले सुक्खाग्रस्त र संघ सरकारले विपद् संकटग्रस्त क्षेत्र नै घोषणा गरिसकेका छन् । कोशीका झापा, मोरङ, सुनसरी र गण्डकी प्रदेशमा पनि कम रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । ‘यस पटक मधेशमा थोरै मात्र रोपाइँ भएको छ । भएको ठाउँमा पनि खडेरीले सुकेको छ । अन्य प्रदेशको अवस्था पनि लगभग उस्तै भएका कृषि तथा पशुपन्छी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए। उनका अनुसार यस वर्ष २० प्रतिशत धान उत्पादनमा कमी आउनेछ ।
गएको आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन धान (बीउसहित) आयात गरिएको थियो । यस्तै १८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल (कनिकासहित) आयात भएको भन्सार विभागको तथ्यांक छ । ‘आयात बढ्दा आम्दानीको विकल्प नभएकालाई जीविकोपार्जनमा समस्या पर्नेछ भने राष्ट्रिय अर्थतन्त्रमा पनि गम्भीर असर पर्ने देखिन्छ ।
मन्त्रालयका अनुसार गएको आर्थिक वर्ष २०८१÷८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो । यो परिमाण आर्थिक वर्ष २०८०÷८१ को भन्दा २ लाख ३१ हजार २ सय ४२ टन बढी हो । करिब दुई लाख टन उत्पादन बढे पनि मुलुकका लागि १२ लाख टन धान अपुग रहेको कृषि मन्त्रालयले जनाएको छ । प्रक्षेपण गरिएबमोजिम खडेरीले २० प्रतिशत उत्पादन घट्यो भने यो वर्ष ११ लाख ९१ हजार ९५ टन कम धान फल्छ । यो भनेका मुलुकका लागि अपुग धान झन्डै २४ लाख टन हुन्छ ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन ११ सम्म मुलुकभर करिब ८० प्रतिशत धान रोपाइँ भएको छ । बर्खे धान १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये १० लाख ८७ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको केन्द्रले जनाएको छ । हाल भएको रोपाइँ गत वर्षको तुलनामा धेरै कम हो । गत वर्ष १३ साउनसम्म ९२.६ प्रतिशत रोपाइँ भएको थियो । यसपालि विभिन्न क्षेत्रमा देखिएको खडेरीले रोपाइँमा प्रत्यक्ष असर परेको हो ।
नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । मनसुन सक्रिय भए पनि मधेशमा तुलनात्मक रूपमा पानी परेको छैन । सिँचाइ अभावले समयमै रोपाइँ भएको छैन । रोपाइँ भएको क्षेत्रमा पनि सुक्न थालेको छ । खडेरीले सबैभन्दा बढी मधेश प्रदेश प्रभावित छ । मधेशमा सिँचाइका मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्यबवेल र डिप बोरिङ हुन् । तर लामो समय पानी नपर्दा यी प्रणालीमा स्रोत अभावको समस्या छ । मधेशमा जम्मा ५१.८२ प्रतिशत रोपाइँ भएको छ, जबकि गएको वर्ष साउन १३ सम्म ९२ प्रतिशत रोपाइँ भएको थियो ।
मन्त्रालयका अनुसार मधेशका आठ वटै जिल्ला सुक्खाले प्रभावित छन् । सरकारले मधेशलाई विपद् संकटग्रस्त घोषणा गरे पनि राहतका कुनै कार्यक्रम ल्याएको छैन । सरकारले मधेशमा ५ सय डिप बोरिङ राख्ने कार्यक्रम घोषणा गरे पनि बोरिङ गाड्न समय लाग्छ । अन्य प्रदेशको अवस्था पनि उस्तै छ ।
आर्थिक सर्वेक्षण २०८१÷८२ अनुसार कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये ४४.४ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा पुगेको खेतीयोग्य जमिन औसतमा १.५ प्रतिशतले बढेको उल्लेख छ । सिँचाइ प्रणाली निर्माण तथा मर्मतसम्भार कार्यक्रमअन्तर्गत गएको आर्थिक वर्षको फागुनसम्म ३ सय १६ साना सिँचाइ निर्माण भई ६ सय १२ हेक्टरमा थप सिँचाइ सुविधा भएको छ । २०८१ फागुन सम्म ३१ हजार ३ सय ६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको दाबी गरिएको छ ।
सतहतर्फ १ हजार ५५ हेक्टर, लिफ्टतर्फ २ सय ७६ हेक्टर, भूमिगततर्फ ३ हजार १ सय ३६ हेक्टर गरी थप ४ हजार ४ सय ६७ हेक्टरमा सिँचाइ पुगेको सरकारी दाबी छ । तर कतिपय नहरमा पानी आउँदैन । पानी नपरे नहर नै सुक्छ । सोही कारण पनि रोपाइँ हुन सकेको छैन । ‘रोपाइँ घट्नुको मुख्य कारण सिँचाइ नै हो ।
सरकारी तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको योगदान २४ प्रतिशत हो । कृषि जीडीपीमा धानको योगदान १२ प्रतिशत छ । कुल जीडीपीमा धानको योगदान ३ प्रतिशत रहेको छ । धान उत्पादन घट्दा जीडीपीमा योगदान पनि घट्ने वैज्ञानिकहरू बताउँछन् ।
‘








