३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

मधेश खडेरीले धान उत्पादनमा २० प्रतिशत कमी,४४ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ


१६ श्रावण २०८२, बिहिबार  


मधेशमा खडेरीका कारण यो वर्ष धान उत्पादन २० प्रतिशत घट्ने प्रक्षेपण सरकारले गरेको छ ।

सिँचाइ अभावमा कम रोपाइँ हुँदा र रोपिएको खेत पनि सुक्दै गएकाले उत्पादनमा कमी आउने कृषि मन्त्रालयले प्रक्षेपण गरेको हो ।

बढी धान फल्ने मधेशलाई प्रदेश सरकारले सुक्खाग्रस्त र संघ सरकारले विपद् संकटग्रस्त क्षेत्र नै घोषणा गरिसकेका छन् । कोशीका झापा, मोरङ, सुनसरी र गण्डकी प्रदेशमा पनि कम रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । ‘यस पटक मधेशमा थोरै मात्र रोपाइँ भएको छ । भएको ठाउँमा पनि खडेरीले सुकेको छ । अन्य प्रदेशको अवस्था पनि लगभग उस्तै भएका कृषि तथा पशुपन्छी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए। उनका अनुसार यस वर्ष २० प्रतिशत धान उत्पादनमा कमी आउनेछ ।

गएको आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन धान (बीउसहित) आयात गरिएको थियो । यस्तै १८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल (कनिकासहित) आयात भएको भन्सार विभागको तथ्यांक छ । ‘आयात बढ्दा आम्दानीको विकल्प नभएकालाई जीविकोपार्जनमा समस्या पर्नेछ भने राष्ट्रिय अर्थतन्त्रमा पनि गम्भीर असर पर्ने देखिन्छ ।

मन्त्रालयका अनुसार गएको आर्थिक वर्ष २०८१÷८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो । यो परिमाण आर्थिक वर्ष २०८०÷८१ को भन्दा २ लाख ३१ हजार २ सय ४२ टन बढी हो । करिब दुई लाख टन उत्पादन बढे पनि मुलुकका लागि १२ लाख टन धान अपुग रहेको कृषि मन्त्रालयले जनाएको छ । प्रक्षेपण गरिएबमोजिम खडेरीले २० प्रतिशत उत्पादन घट्यो भने यो वर्ष ११ लाख ९१ हजार ९५ टन कम धान फल्छ । यो भनेका मुलुकका लागि अपुग धान झन्डै २४ लाख टन हुन्छ ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन ११ सम्म मुलुकभर करिब ८० प्रतिशत धान रोपाइँ भएको छ । बर्खे धान १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये १० लाख ८७ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको केन्द्रले जनाएको छ । हाल भएको रोपाइँ गत वर्षको तुलनामा धेरै कम हो । गत वर्ष १३ साउनसम्म ९२.६ प्रतिशत रोपाइँ भएको थियो । यसपालि विभिन्न क्षेत्रमा देखिएको खडेरीले रोपाइँमा प्रत्यक्ष असर परेको हो ।

नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । मनसुन सक्रिय भए पनि मधेशमा तुलनात्मक रूपमा पानी परेको छैन । सिँचाइ अभावले समयमै रोपाइँ भएको छैन । रोपाइँ भएको क्षेत्रमा पनि सुक्न थालेको छ । खडेरीले सबैभन्दा बढी मधेश प्रदेश प्रभावित छ । मधेशमा सिँचाइका मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्यबवेल र डिप बोरिङ हुन् । तर लामो समय पानी नपर्दा यी प्रणालीमा स्रोत अभावको समस्या छ । मधेशमा जम्मा ५१.८२ प्रतिशत रोपाइँ भएको छ, जबकि गएको वर्ष साउन १३ सम्म ९२ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार मधेशका आठ वटै जिल्ला सुक्खाले प्रभावित छन् । सरकारले मधेशलाई विपद् संकटग्रस्त घोषणा गरे पनि राहतका कुनै कार्यक्रम ल्याएको छैन । सरकारले मधेशमा ५ सय डिप बोरिङ राख्ने कार्यक्रम घोषणा गरे पनि बोरिङ गाड्न समय लाग्छ । अन्य प्रदेशको अवस्था पनि उस्तै छ ।

आर्थिक सर्वेक्षण २०८१÷८२ अनुसार कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये ४४.४ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा पुगेको खेतीयोग्य जमिन औसतमा १.५ प्रतिशतले बढेको उल्लेख छ । सिँचाइ प्रणाली निर्माण तथा मर्मतसम्भार कार्यक्रमअन्तर्गत गएको आर्थिक वर्षको फागुनसम्म ३ सय १६ साना सिँचाइ निर्माण भई ६ सय १२ हेक्टरमा थप सिँचाइ सुविधा भएको छ । २०८१ फागुन सम्म ३१ हजार ३ सय ६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको दाबी गरिएको छ ।

सतहतर्फ १ हजार ५५ हेक्टर, लिफ्टतर्फ २ सय ७६ हेक्टर, भूमिगततर्फ ३ हजार १ सय ३६ हेक्टर गरी थप ४ हजार ४ सय ६७ हेक्टरमा सिँचाइ पुगेको सरकारी दाबी छ । तर कतिपय नहरमा पानी आउँदैन । पानी नपरे नहर नै सुक्छ । सोही कारण पनि रोपाइँ हुन सकेको छैन । ‘रोपाइँ घट्नुको मुख्य कारण सिँचाइ नै हो ।

सरकारी तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको योगदान २४ प्रतिशत हो । कृषि जीडीपीमा धानको योगदान १२ प्रतिशत छ । कुल जीडीपीमा धानको योगदान ३ प्रतिशत रहेको छ । धान उत्पादन घट्दा जीडीपीमा योगदान पनि घट्ने वैज्ञानिकहरू बताउँछन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  ७ : १६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित