३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026

कतार एयरवेजको लापरबाही ! प्रिती थापालाई २ करोड ६२ लाख क्षतिपूर्ति भराउन अदालतको फैसला !


३ भाद्र २०८३, बुधबार  


उपभोक्ता अदालतले एउटा यस्तो फैसला गरेको छकी, विमानमा कफिले पोल्दाको क्षतिपूर्ती अढाइ करोड बढी फैसला गरेको छ । तीन वर्ष अघि कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी एक नेपाली यात्रुलाई अदालतले २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।

अदालतका अध्यक्ष डा.दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की प्रिती थापाको पक्षमा फैसला सुनाएको हो ।


सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै काठमाडौँ आउने क्रममा कतार एयरवेजको उडान नम्बर त्तच् ७४४ मा यो घटना भएको थियो । उडानका क्रममा विमानका कर्मचारी अर्थात क्याबिन क्रुले दिएको अत्यधिक तातो कफी थापाको तिघ्रा र शरीरका संवेदनशील अङ्गमा पोखिएको हुन्छ । ‘सेकेन्ड डिग्री वर्न’ अर्थात दोस्रो तहको जलन हुन्छ । पीडित थापाले विमानभित्र प्राथमिक उपचारको अभाव भएको, कफीको तापक्रम मापदण्डभन्दा बढी रहेको र कर्मचारीको लापरबाहीका कारण आफूले शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको भन्दै क्षतिपूर्तिको माग दाबीसहित फिराद दर्ता गराएकी हुन्छिन् ।


उपभोक्ता अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी ‘मोन्ट्रियल महासन्धि १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन २०७५’ लाई मुख्य आधार मानेर फैसला गरेको छ । मोन्ट्रियल महासन्धिको धारा १७ र २१ अनुसार, विमानभित्र वा विमानमा चढ्ने–ओर्लने क्रममा यात्रुलाई शारीरिक चोट पुगेमा त्यसको जिम्मेवारी विमान कम्पनीले लिनुपर्ने अदालतको ठहर छ ।

विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पिउन योग्य कफीको तापक्रम ६५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्नेमा कतार एयरवेजले ७० देखि ८० डिग्रीसम्मको तातो कफी सर्भ गरेको स्वीकार गरेकाले यसलाई सेवामा लापरबाही मानिएको छ । कफीको कपमा बिर्को नलगाइएको र सावधानीका सङ्केतहरू नअपनाइएको कारण दुर्घटना भएको अदालतले भनेको छ ।


कतार एयरवेजले यात्रु आफैँले कफी पोखाएको र कर्मचारीको कुनै गल्ती नभएको जिकिर गरेको थियो । तर, अदालतले विमानभित्र हुने यस्ता दुर्घटनाको ‘निरपेक्ष दायित्व’ कम्पनीकै हुने र कम्पनीले आफ्नो कर्मचारीको गल्ती नभएको प्रमाणित गर्न नसकेको उल्लेख गरेको छ । यो फैसला उपभोक्ता अदालतको गठन भएपछिको ठूलो बिगो र अन्तर्राष्ट्रिय महासन्धिलाई व्याख्या गरेर आएको फैसला हो । ००००

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  २ : १७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित