२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

कुवेतमा विषाक्त मदिरा सेवनका कारण अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने


२ भाद्र २०८२, सोमबार  


कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको छ भने करिब ३० जना उपचाररत छन्।


कुवेतको गृह मन्त्रालयले अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरेको छ, जसमा नेपाली नागरिक पनि छन्।
कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने निर्णय गरेका छन्।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ ।कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।


गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए ।

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन् ।रक्सी उत्पादन क्षेत्रमा प्रहरीको छापा, नेपाली नागरिकसहित ६७ जना पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयले घटनापछि सञ्चालन गरेको व्यापक सुरक्षा अभियानमा मेथानोल उत्पादन तथा बिक्रीमा संलग्नलाई पक्राउ गरेको छ ।

कुवेतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ, जसमा नेपाली नागरिक पनि सामेल छन् ।

अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको जनाइएको छ । ति नेपालीको बयानका आधारमा अन्य नेपालीलाई समेत पक्राउ गरिएको थियो ।

यसका साथै भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् ।

अभियानका क्रममा सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ ।

उक्त घटनापछि सुरक्षा निकायले देशभर नै अवैध बसोबासका मुद्दाहरूमा संलग्न र अवैध मदिरा बनाउने कम्पनीहरूमाथि छापा मारेको हो । आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा सबै ६ वटा गभर्नरेटहरूमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो ।

म्याद सकिएको आवासीय अनुमतिपत्र, भिसा ओभरस्टे, फरार मुद्दा र अन्य कानुनी उल्लङ्घका मुद्दा समावेश छन् ।यो अभियान प्रथम उपप्रधानमन्त्री र आन्तरिक मन्त्री शेख फहाद अल(युसेफ अल(सबाहको निर्देशनमा र नागरिकता तथा आवासीय क्षेत्रका प्रमुख ब्रिगेडियर जनरल फवाज अल–रौमीको निरीक्षणमा सञ्चालन गरिएको कुवेत टाइम्सले उल्लेख गरेको छ ।

त्यसैगरी अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने भएको छ। कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको हो ।

कुवेती सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै कुवेती सञ्चारमाध्यमहरू मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरिनेछ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुनस्ँकुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।कुवेतमा मदिराको उत्पादन, सेवन तथा बेचबिखनमा प्रतिबन्ध छ । मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने व्यवस्था रहेको छ ।

नेपाली समुदायमा बदनामीको चिन्ता बढेको छ। कुवेतमा हाल १ लाख ६० हजार नेपाली कार्यरत छन् । यो घटनाले नेपाली समुदायको प्रतिष्ठामा आँच पुगेको छ ।पछिल्लो समय नेपालीहरू लागू औषध ओसारपसार र अवैध मदिरा उत्पादन तथा सेवनजस्ता गैरकानुनी गतिविधिमा संलग्न भएको पाइँदा कुवेतमा नेपाली कामदारको छविमा नकारात्मक असर परेको छ ।

नेपाली राजदूताावास तथा कुवेतस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) समेत मदिरा सेवन, उत्पादन तथा बेचबिखन जस्ता गैरकानूनी कार्य नगर्न सचेत गराएका छन् ।कुवेतका जेलहरूमा रहेका नेपालीमध्ये ५० प्रतिशतभन्दा बढी रक्सी र लागूऔषधसम्बन्धी मामिलामा परेका दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : १७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित