नेपाल प्रहरीको डीआइजीमा भरखरै बढुवा सिफारिस भएका दीपक रेग्मीविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।
वैवाहिक बलात्कारमा झुठा मुद्दा फसाएको व्यक्तिलाई बढुवा सिफारिस गरिएको भन्दै त्यस विरूद्ध युवराज सफलले उजुरी दिएका हुन्।
सार्वजनिक चासोका विषयमा मुद्दा-मामिला गर्दै आएका सिन्धुलीका युवराज सफलले डीआ ईजीमा बढुवा भएका रेग्मी चरित्रहीन र पदीय रुपमा अमर्यादित, अवाञ्छित गतिविधिमा संलग्न रहेको जिकिरसहित कारबाही गर्नुपर्ने मागसहित गृहमा उजुरी दर्ता गरेको सफलले बताए ।
निज रेग्मीले जिल्ला प्रहरी कार्यालय बागलुङको कार्यालय प्रमुख एसपी हुँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्नुका साथै ती महिलाको निर्दोष श्रीमानलाई फसाउन झुठो वैवाहिक बलात्कारको मुद्धा हाल्न लगाएको युवराजले दाबी गरेका छन् ।
मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखिएको उजुरीमा त्यस्ता व्यक्तिलाई डीआइजी पदमा बढुवा सिफारिस गर्नु कानुन विपरित हुने भन्दै कारबाहीको माग उनले गरेका छन् ।
डीआईजी बढुवाको सूची नम्बर ४ मा परेका उम्मेदवार दिपक रेग्मीले आफू जिल्ला प्रहरी कार्यालय बागलुङको कार्यालय प्रमुख एसपी हुँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्ने, तिनै महिलाको निर्दोष श्रीमान दिपक थापालाई फसाउन निज थापाकै श्रीमतीको मिलेमतोमा झुठो वैवाहिक बलात्कारको मुद्दा दर्ता गर्न लगाउने साथै पीडित दिपक थापाको आम राजकुमारी थापालाई समेत लाखौं रुपैयाँ बराबरको झुठो लेनदेन गरेको भनी कागज बनाउन लगाउने जस्ता अमर्यादित, अवाञ्चित गतिविधिमा निज दिपक रेग्मी संलग्न छन्’, सफलले दर्ता गरेको उजुरी नम्बर ९२०८ मा उल्लेख छ । निज रेग्मी र ती महिलाबीच भएको सम्वाद पनि यश अघि सामाजिक सञ्जालमा भाइरल भएको थियोे ।
रेग्मीविरुद्ध यसअघि पनि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायमा उजुरी परी छानबिन भइरहँदा डीआईजीजस्तो पदमा बढुवा सिफारिस गरिनुले विधिको शासनको उल्लंघन भएको उनको ठहर छ ।
‘नेपाल प्रहरीको डीआईजी जस्तो पदमा सिफारिस भएको व्यक्ति कानूनी राज्यप्रति वफादार, उच्च नैतिकवान, अनुशासित हुनुपर्नेमा त्यस्ता चरित्रहीन, अनुशासनहीन, नैतिकताहीन व्यक्तिलाई बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेकोले तत्काल निर्णय संशोधन गर्न पनि बढुवा समितिको संयोजकज्यूलाई ध्यानाकर्षण गराइएको छ।
आफ्नो उजुरीलाई वेबास्ता गरेर रेग्मीको बढुवा कायमै राखेमा पत्रकार सम्मेलनमार्फत रेग्मीका काण्ड भण्डाफोर गर्ने र बढुवा समितिको निर्णयविरुद्ध कानूनी उपचारमा जाने चेतावनीसमेत युवराजले दिएका छन् ।








