भनिन्छ,दुनियाँमा मानिस दुई थरिले जन्मिन्छन्। पहिलो थरीका मानिस इतिहास बनाउन जन्मिन्छन्, भने दोश्रो थरीका मानिसहरु इतिहासमा जन्मिन्छन्। समग्रमा आम मानिसहरु इतिहासमा जन्मिने गर्दछन्। हाल विश्वका ८ अर्ब मध्येका करिब १ सय असाधारण मानिसहरु जन्मिएका छन् र जन्मिएपनि । उनीहरुको त्यो जन्म केवल जन्मका लागि होइन।राजनीति, समाज, ज्ञान विज्ञान तथा खोजमा उथलपुथल ल्याउन हो । त्यस्ता मानिसहरुको क्रमवद्धताको सूचीमा रहेका समकालीन एक मानिस हुन्, प्रचण्ड। भलै उनका हजारौ कमजोरीहरु होलान्, सत्ता उतारचढावमा उनको अभिनयहरु गलत थिए होलान्। तर, उनी नेपाली समाजमा जन्मिएका एक युग पुरुष अवस्य हुन्। पंक्तिकार कुनै पात्रको देवत्वकरण गर्न र निन्दाका लागि विश्लेषण गर्न उभिएको भने होइन र यस्तो गर्दा पनि गर्दैन। तर,तथ्यको कसीमा उभिएर सत्यताको उत्खनन् गर्दछ। त्यसैको पछिल्लो श्रृंखलामा समकालीन नेपाली राजनीतिका खास पात्रकै चित्र र चरित्रको निर्ममढंगले उधिन्न खोजिएको हो,यहाँ ।
प्रजातन्त्रमा नेता सार्वजनिक प्राणी हो। उसका पनि निजी जीवन र मामिला त होलान्। तर, राजनीतिको घानमा मिसिएपछि उसले सार्वजनिक जीवन जिउनुपर्छ, र सार्वजनिक प्रश्नहरुको पनि मुकाविला गर्नै पर्छ। यस्तै सार्वजनिक प्रश्नको मुकाविला गर्दै नेपाली समाज र राजनीतिमा उथलपुथलकारी बदलाव ल्याउने नेतृत्वकर्ता उनै प्रचण्ड हुन्। पत्रकार जगदीश खरेलका अनुसार प्रचण्डलाई दुइ सय वर्षपछिको समाजले पनि स्मरण गर्नेछ। हो,पक्कै पनि नेपाली राजनीतिका असाधारण मानिस प्रचण्ड हुन्। जब उनीमा प्रचण्डीय रहस्यमीय जादूमयी कला झल्किन्छ, त्यत्तिबेला भुइँ मान्छेहरुको भावभंगी र भावना झल्किन्छ। तर, पुष्पकमल दाहाललाई संसारसाराले खासै नचिन्ला। किनकी पुष्पकमल दाहाल भन्ने मानिस आम जस्तै हो, भने प्रचण्ड असाधाण पात्र हुन्। पंक्तिकारले दोहोराइरहने यो सवाल त होइन। जुन कुरा इतिहासका घटनाक्रम र तथ्यहरुले प्रमाणित गरिसकेका छन्।
मुलुकमा आज संघीय लोकतान्त्रिक व्यवस्था छ, समावेशी समानपातिक र गणतन्त्र जस्ता युगान्तकारी परिवर्तनका उपलब्धिहरु संविधानमा लिपिवद्ध छन्। दमित र उत्पीडितहरु राज्यको हरेक तह र तप्कामा बरोबरी अधिकार र हैसियत खोज्ने भएका छन्। भलै त्यहाँ भित्रका विकृतिहरुलाई सच्याउन नेतृत्व असफल भएको छ नै। तर, पनि भुइँ तहको यो समाज व्युझिएको छ। हरेक पल पलमा आफ्नो अस्तित्व र अधिकारको पक्षमा बुलन्द आवाज घन्काउछ र घन्काउन सक्छ। सत्तालाई सिधा र तीखा प्रश्न गर्न सक्दछ। यो वस्तुगत परिस्थितिका नायक निर्माता हुन् उनै प्रचण्ड । दलीय चश्मा बाहिरबाट हेरियो भने प्रचण्ड नेपाली राजनीतिका समकालीन उथलपुथलकारी नायक हुन् ।
दश वर्षको भीषण र उथलपुथलकारी विद्रोहको नेतृत्व गर्नु चानचून पक्कै होइन र थिएन पनि । यति भनीरहँदा १७ हजार मारिएको सन्दर्भ पनि उठ्ला । उठ्नु पनि स्वभाविकै हो। किनकी त्यत्ति ठूलो कुर्बानीको उपलब्धि व्यवस्था मात्रे होइन, आम जनताको अवस्था बदलिनु पनि हो । विडम्बना, देशमा व्यवस्था फेरियो, अवस्था फेरिएन। यस्तो हुनुमा सबै भन्दा बढी दोषको भारी उनै प्रचण्डले बोक्नैपर्छ, अनि जनतालाई प्रष्टसंग जवाफ दिनैपर्छ। असाधारण नेता भएकोले जनताको असाधारण विश्वास, भरोसा र आड हुन्छ। त्यो विश्वास र भरोसा टुट्यो भने विद्रोह हुन्छ। आज उनै प्रचण्डले त्यौ आशा र भरोसा पूरा गर्न नसक्दा गणतन्त्रमा पनि जनता रुष्ट छन्, आक्रोशको आगो सबैतिर सल्किरहेको छ। जब यो आगोले डढेलोका रुप लिन्छ, त्यसपछि रामराम भन्नु बाहेक केही नहुन सक्छ। यसर्थ नेतृत्वले यस्तो संगीन परिस्थितिको बोध गर्न सक्नुपर्छ। यद्यपि त्यो खासै बोध गरेको अनुभव देखिन्न।
प्रचण्ड असाधारण पात्र भएकै कारण मुलुकमा यति ठूलो परिवर्तन भयो, तर, यो परिवर्तनको संस्थागत गर्न र जनतामा भरोसा भर्न हजार पटक चुकेका छन् उनी। संसदीय राजनीतिको यो फोहोर मैलामा उनी सिंगौरी खेलिरहेका छन्। दश वर्षको त्यो विद्रोहलाई शान्तिपूर्ण राजनीतिमा बैठान गर्न सक्षम भएरपनि जनताको दैनिकीमा फेरबदल र शासन प्रशासनमा सधार नहुँदा जनतामा नैराश्यताको कालो बादल लागेको छ। । यस्तो भयानक डरलाग्दो कालो बादल हटाएर उज्यालो छर्नुपर्ने प्रचण्ड इतिहासमै बदनाम भएका पात्रहरुसंग उठबसमै छन्। सत्ता र सम्पत्तिको अस्वभाविक मायाले उनी विरुप भएका छन्। प्रचण्डको एक काशनका भरमा हिजो जुरुक्कै उठ्ने भुइँ मान्छेहरु आज कहाँ छन्? स्वयं प्रचण्ड अनविज्ञ छन्। उनीहरुको नारकिय जीवनको बारेमा प्रचण्ड अन्जान छन्। माफिया र दलालको घेराबन्दीमा परेर सत्तामै रमाइरहेका प्रचण्डले आफ्नो धरातल विर्से ।सत्ताकै हानथापमा उनी संसदीय दूव्र्यसनीमा चुर्लम्मै डुबे। सत्ता राजनीतिमा सिंहले गर्जिए झै गर्जिएर सत्ताको शिकार गर्नमै उनी लिफ्त भए। एकातिर विशाल पार्टी डुब्लायो, अर्काेतिर पार्टी सत्ताबाट लघारियो।
पछिल्लो पटक १९ महिने शासन कालमा केही राम्रा कामहरु पनि भए।तर, ती कामको जनतामा संप्रेषण कोही कसैले गरेन। मानौ सत्तामा भिड्ने पनि प्रचण्ड र जनतासंग सम्बन्ध बनाउने पनि प्रचण्ड जस्तै देखियो । सत्ताको लाभ लिएर जुको झै ढाडिएका दोश्रो तहका नेता तथा कार्यकर्ताले गरेनन् राम्रा कामको संप्रेषण। सरकारले गरेका राम्रा कामको संप्रेषणलाई उनीहरुले दायित्व र जिम्मेवारी ठानेनन् । जसको परिणाम माओवादी सत्ताबाट बाहिरिएपछि सुकेनाशको विरामी लागे झै भाको छ। औषधि उपचार गरेर पनि यो सुकेनाश उपचार भैहाल्ला भन्ने स्थिति पनि देखिन्न । किनकी देश बनाउन र पार्टी बनाउन कोही नेता कार्यकर्ता लागेनन्। प्रचण्डसंग बार्गेनिङ गरेर सत्ताको स्वाद खुबै लिए, उनीहहरु।
यसरी मुलकभित्र युगान्तकारी परिवर्तनको सम्वाहक बनेका प्रचण्ड पछिल्लो समय कमजोर बनेका छन्। हिजोका सहयात्रीहरुले पुरानो घर छोडेका छन् , नयाँ झुपडीमा पसल थापेका छन्।पार्टी भित्र रहेकाहरुले भागबण्डामै प्रचण्डलाई कमजोर बनाएका छन्। वडा अध्यक्ष पनि जित्न नसक्नेहरुले यतिबेला प्रचण्डलाई देखाइदिन्छु, पख्लास् भनिरहेका छन्। यस्तो नियतीबाट माओवादी गुजिैरहेको छ, छिन्नभिन्न भएको छ। ययरी छिन्न भिन्न भएको माओवादीको मुल भंगालोलाई बोकेर प्रचण्ड अझै जनताको अवस्था बदल्ने सपना देखिरहेका छन्। उनले देख्ने सपना र देउवा ओलीले देख्ने सपना धेरै भिन्न छन्। किनकी देउवा ओली युगमा जन्मिएका हुन्, प्रचण्ड जस्तोयुगको रचना गर्न होइन ।