जाँगर भए यहाँ ढुंगामा पनि सुन फल्छ, भने झै गुल्मीका एक किसानले आफ्नै पाैरखमा चार सय मुरी धान फलाएका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका मेघनाथ अर्यालले एक्लैले चार सय मुरी धान फलाएका हुन् ।
गुल्मीमा उनी त्यस्ता किसान हुन्, जस्ले जिल्लामै धेरै धान उत्पादन गरेर नयाँ रेकर्ड कायम गरे। उनका अनुसार हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी रहेको छ ।
मेघानथ भन्छन् ,”हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ।”
मेघनाथले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको पनि अर्यालले बताएका छन् ।
यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उनको योजना रहेको छ। पहाडमा सधैं तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना रहेको उनलेे सरजु अनलाईनलाई जानकारी दिए।
तर, उनलेे किसानका लागि राज्यले सघाउन सके धेरै सहज हुने पनि बताएका छन् ।मेघनाथ जस्ता किसानलाई प्राेत्साहित गर्न भने राज्यले खासै ध्यान दिएको देखिन्न। यद्यपि आफ्नै मेहनतमा मेघनाथ अब्बल किसान बनेका छन् ।
उनलेे धान खेतीसहित व्यावसायिक भैँसीपालन पनि गरेका छन् । उनीसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना रहेको पनि उनलेे बताए ।
धान काटेलगत्तै उनले खेतमा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने याेजना रहेको पनि बताए ।
मेघनाथले धान उत्पादन गरेको विषयमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको छ।’ पालिका पाेखरेलले मेघनाथ जस्ता परिश्रमी किसानलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनलेे भने,‘मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो।’
कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताए । जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको पनि उनले जानकारी दिए ।