सन २०२५ को पहिलो जनवरी महिनामा करिब ८० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यस महिनामा विदेशी पर्यटकको संख्यामा झिनो वृद्धि भएको छ। पर्यटन बोर्डका अनुसार यस महिनामा करिब ८० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। यो गएको वर्षको यही अवधिको तुलनामा एक प्रतिशत बढी मात्रै हो ।
जनवरी महिनामा विश्वका विभिन्न मुलुकहरुबाट ७९ हजार ९९१ जना विदेशी नागरिकहरुले नेपाल भ्रमण गरेका छन् । यो गत वर्ष सन् २०२४ को जनवरीको तुलनामा भने सामान्य बढी हो । गएको वर्षको यही महिनामा पनि विभिन्न मुलुकहरुबाट ७९ हजार १०० जना पर्यटक नेपाल भ्रमणमा निस्किएका थिए ।
नेपालमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आउने गरेका छन् । जनवरीमा पनि २० हजार ४८५ जना भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन् । यद्यपि, यो गएको वर्षको यह ि महिनाको तुलनामा भने १५ ले प्रतिशत कमी हो । गएको वर्षको जनवरी महिनामा भारतबाट २४ हजार १३९ जना पर्यटक नेपाल घुम्न आएका थिए । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन)मार्फत पनि आउने गर्छन् । तर, बोर्डले हवाई मार्गबाट नेपाल भित्रिएने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको छ ।
पर्यटन बोर्डका अनुसार भारतपछि चीनबाट धेरै पर्यटक आउने गरेका छन् । जनवरीमा चीनबाट ८ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो समय भारतबाट आउने पर्यटकको संख्या घटेको छ । तर, चीनबाट आउने पर्यटकको संख्या भने दोहोरो अंकमा बढेका छन् । गएको वर्षको जनवरीको तुलनामा चीनबाट आउने पर्यटकको संख्या १२.७ प्रतिशत बढेका छन् ।
चीनपछि नेपालमा अमेरिकाबाट धेरै पर्यटक आउने गरेका छन् । जनवरीमा यस मुलुकबाट ८ हजार ६३ जना पर्यटक आएका छन् । यो गएको वर्षको तुलनामा १४.९ प्रतिशत बढी हो ।
बोर्डका अनुसार बंगलादेशबाट जनवरी महिनामा ५ हजार ४०६ जना, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, बेलायबाट ३ हजार ५२१, थाइल्याण्डबाट ३ हजार २१९, भुटानबाट २ हजार ७६८ र जापानबाट १ हजार ५७० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।