२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

अप्रिलमा एक लाख १६ हजार बढी पर्यटक भित्रीए,पहिलोमा भारत र दोश्रोमा अमेरिकी पर्यटक


२० बैशाख २०८२, शनिबार  


सन २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए । यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण उनले दाबी गरे ।

बोर्डको विवरणमा वर्षको चार महिना ९जनवरी–अप्रिल० को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ११ : २० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित