ज्ञानप्रसाद खनाल उमेरले ८१ वर्षमा पाइला टेके। जिन्दगीको यो उत्तार्द्धमा उनले भने यतिबेला फरक अनुभुति गरिहेका छन्। अतीतका ती कष्टकर र हैरानीपूर्ण यातायातका तीता अनुभव सुनाउँदै उनी भन्छन्,”हिजो त नर्क जस्तै लाग्दथ्यो, एउटै जीपमा ४० जना झुण्डिएर आउजाउ गर्दथे, सडक धराप जस्तै थियो ।

तैपनि कामले घोराही जानैपर्दथ्यो, सडककै कारण मानिसहरु सिमलतारा आउन चाहान्नथे ।तर, अहिले सडकमा धेरै प्रगति भएको छ। घोराहीबाट सिमलतारा सरर आइन्छ, गइन्छ।” बडो उत्साहित हुदै उनी आफ्नो अनुभव सुनाउँछन्।उनीसहितका स्थानीय सडकको दुःख हरण, गएको दुई वर्ष अघि देखि भएको हाे।
पक्कै पनि ज्ञानप्रसाद खनालले भने जस्तै सिमलताराको ती दुःख र हेरानीका दिन गए। यतिबेला सिमलतारा पुग्न कुनै कठिन छैन। घोराहीदेखि करिब ११ किलोमिटरको दूरीमा पर्दछ, सिमलतारा ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने यस गाउँ यतिबेला पर्यटकीय चहलपहलले पनि बाक्लिदै गएको छ। सरजु नदीको उदगम स्थलमै पर्ने भएकोले पनि यसको महत्व झनै अग्लिएको हो ।

भगवान श्री रामचन्द्रको जन्मभूमि अयोध्यासंग यसको प्राचीन र पौराणिक सम्बन्ध जोडिएको छ। सिमलतारा धार्मिक पर्यटनको हिसाबले पछिल्लो समय गन्तव्य बन्दै गएको छ। स्थानीय सरकारले सडकमा विशेष प्राथमिकता दिएको छ, भने स्थानीयले भगवान रामसंग सम्बन्धित धार्मिक सम्पदाहरु निर्माण गरेका छन्, रामभक्त हनुमानको अग्लो मूर्ति बनाइएको छ। विदेशमा चुहाएको पसिनाको दानदातव्यबाट हनुमानको मूर्ति बनाइएको हो । यस क्षेत्रमा राम सहितका अन्य देवी देवताको पनि मन्दिर बनाइएको छ।

प्राचीन, धार्मिक र पुरातात्विक हिसालबे पनि अत्यन्तै महत्वपूर्ण यस पावन भूमिको पर्यटन विकास नै पहिलो शर्त भएको घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डेले बताउँछन् । घोराही उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका उनले मेयर नरुलाल चौधरीको नेतृत्वमा सडकमा क्रान्ति नै आएको दाबी गर्छन्। उनी भन्छन्, “घोराही उपमहानगरले सडकमा ठूलो परिवर्तन ल्याएको छ। राष्ट्रिय राजमार्ग उपमहानगरको दायित्वमा छैन, नगरको दायित्व भएको क्षेत्रमा चिल्ला सडक छन्, तपाई हामीले भ्रमण गर्दा त्यो देख्न पाउँछौ, अनुभव गर्न पाउँछौ ।”

शहरी सघन ग्रामीण सडक परियोजना अनुसार सडक विस्तार र स्तरोन्नती गरिएको हो । दोहोरो सवारी साधन आउजाउ गर्न सकिने गरी सडक बनाइएको छ। घोराहीको मुख्य बजारबाट पूर्वतिर लाग्दा यात्रुले नयाँ र रोमान्चारी अनुभव गर्ने गर्दछन्, सरर सडक यात्राबाट करिब १५ मिनेटमै पुगिन्छ,सिमलतारा अनि दर्शन गर्न पाइन्छ, भगवान श्री रामचन्द्रको मन्दिर सहितका धार्मिक सम्पदा अनि अलिकति उकालो लागेपछि मालझाँक्री सामुदायिक वन क्षेत्रमा कलकल गरेर सरजु नदी उत्पत्ति हुन्छिन्।
स्वदेशी तथा विदेशी पर्यटकको समेत चासोको गन्तव्य बन्दै गएको यस क्षेत्रको ठूलो सम्भावना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण वली बताउँछन्। वैदेशिक रोजगारीको अनुभव समेत संगालेका वलीले सरजु नदीको उदगम स्थललाई देखाउँदै भने, “हामी पर्यटकीय मापदण्डको आधारमा सरजु क्षेत्रको पर्यटन विकास गर्दछौ, यस क्षेत्रको दीगो पर्यटन नै हाम्रो मुख्य स्वार्थ हो ।”
स्थानीय परिकार र संस्कृतिको अनुभव गर्न पाइन्छ, रैथाने परिकारको स्वादसंगै प्राकृतिक मनोरम दृष्य अनि कृत्रिम जलाशयहरुले जोकोहीलाई मोहित बनाउँछन्। दंगाली मौलिक कलामा घरसंगै यहाँको वन क्षेत्र उत्तिकै मनोरम छ। यस क्षेत्रमा चेपे ड्याम, चरिङ्गे दह, भोटे दह जस्ता जलाशयहरु रहेका छन् । मगर बाहुन, क्षेत्री, दलित समुदायको बस्ती रहेको यस गाउँमा १२३ घरधुरी छन्। यीनीहरुको मुख्य पेशा कृषि तथा पशुपालन हो । पछिल्लो समय पर्यटनको प्रवद्र्धन गर्दै गाउँको सम्वृद्धिका लागि स्थानीय सक्रिय छन् ।
