२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

करिब साढे २ खर्बको निर्यात हुँदा आयात १६ खर्ब ४४ अर्ब बढी,७ महिना यता निर्यातमा सुधार


७ असार २०८२, शनिबार  


आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करो ७५ लाख ८६ रूपैयाँ बरावरको वस्तु आयात भएको छ भने २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार २०८१ साउन महिनादेखि २०८२ जेठसम्मको अवधिमा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले बढेको छ । आयातको अनुपातमा निकै कम निर्यात हुने गरे पनि पछिल्लो ७ महिनादेखि निर्यातमा उच्च वृद्धि छ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले बढेर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रूपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको ११ महिनासम्ममा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार पुगेको छ । गएको वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६.३० प्रतिशतले बढेको हो । गएको वर्षको यही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा बढी एक खर्ब १५ अर्ब ५५ करोड एक लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

दोस्रोमा सोयाबिन तेलको कच्चा पदार्थ ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको छ भने तेस्रोमा पेट्रोल र चौथोमा ग्यास आयात भएको छ।

समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको सोयाबिन तेल र यस सँग सम्बन्धित सामग्रीको निर्यात भएको छ। विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालबाट ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसका छोक्राको निर्यात भएको हो।

त्यस्तै, यस अवधिमा ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र ९ अर्ब ७८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  २ : २१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित