२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

धान धेरै फलाउनूस्, पुरस्कार लैजानूस् : राप्ती गाउँपालिका


१० आश्विन २०८१, बिहिबार  


दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकलाई पुरस्कृत गर्ने भएको छ ।

गाउँपालिकाले धान उत्पादन वृद्धि गर्ने उद्देश्यले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ” खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान” कार्यक्रम अन्तर्गत सबैभन्दा बढी धान उत्पादन गरि प्रथम, द्वितीय र तृतीय हुने कृषकहरूलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिकाका अध्यक्ष विष्टले जानकारी दिए ।


गाउँपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान समेत गरेको छ । सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र आवेदन दिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने कृषि शाखा प्रमुख बर साथी गडरियाले जानकारी दिए ।

गडरियाका अनुसार पुरस्कृत हुनका लागि कृषकले कम्तीमा पनि ५ कठ्ठामा धान खेती गरेको हुनुपर्ने,धान खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्ग मिटर नमुना लिनका लागि राख्नुपर्ने,काट्ने,दाउने तथा झाट्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहवरमा धानको तौल लिइने छ ।

आवेदन दिनका लागि अनुसूची–२ बमोजिमको निवेदन, अनुसूची–३ बमोजिमको विवरण, आधिकारिक व्यक्तिहरूको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र जग्गाको लालपूर्जा वा भाडामा लिएको जग्गा भए सम्झौता पत्रको प्रतिलिपि र बेदर्ताको हकमा वडाको सिफारिस आवश्यक पर्ने जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ६ : २३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित