“उचाइ हाम्रो चुलिन्छ, कहाँ ?
हिमालय नरहे ।
तराई हाम्रो सुनको टुक्रा,
हिमाल हिराको…. ”
हो, पक्कै पनि नातिकाजीको यो देशभक्ति र हिमालप्रतिको अथाह प्रेमपूर्ण गीतीको अंशले निकै गहिरो र मर्मस्पर्शी सन्देश बोकेको छ। उनै संगीतका सर्जकले भने जस्तै हाम्रो हिमालमाथिको अत्यचार रोकिएन भने उचाइ हाम्रो चुलिन्छ कहाँ ? यही हाम्रो हिमाल नरहेमा । उनको गीती अंशमा उठाइएको भावले हिमाल जोगिएन भने हाम्रो उचाइ र अस्तित्व पनि समाप्त हुनेछ। तर, यो मर्म र भावलाई पूर्णरुपमा अनदेखा गरेर राज्यले हिमालमाथिको बर्बरतापूर्ण दोहन गर्दै आएको छ। हिमाली गाथा र व्यथाको विषयमा शासकहरुको मनमौजी बडो उदेकलाग्दो छ।

प्रकृतिमाथिको यो अत्याचारले आज हिमालय क्षेत्र चरम संकटमा पुगेको छ। जलवायु परिवर्तनको पिरलो हिमालले झेलिरहेको छ नै । यसैमा पनि हामी आरोहणको नाममा हिमालय क्षेत्रलाई बागमती जस्तै बनाइरहेका छौ, जुन प्रकृतिमाथिको मानवीय अपराध नै हो । निर्दाेष हाम्रो हिमाल, जोे १ सय ६० करोड मानिससहित जीव जन्तु र वनस्पतिको साझा घर हो । यही साझा घर हिमालमाथिको यो ज्यादतीको विषयमा वातावरण विज्ञ शिलशिला आचार्य, भन्छिन् “निर्दोष र कन्चन हिमालहरुमाथि पर्वतीय पर्यटनको नाममा अत्याचार भएको छ, जहाँ आरोहणको लागि पुराइएका लजिष्टकहरुको थुप्रोले हिमालय क्षेत्र कुरुप भएको छ,।हिमालय क्षेत्रमा थुप्रिएको फोहोर वार्षिक ३५ मेट्रिक टन(३५ हजार किलोग्राम)का दरले उठाउँदा एक सय वर्ष बढी लाग्ने देखिन्छ,। यसरी हिमालय क्षेत्रमा थुप्रिएको फोहोरको दर यही अनुपातमा बढ्दैै जाने हो,भने भोलिका दिन झनै भयावहको हुन सक्छ, जुन नोक्शानी,अकल्पनीय हुन सक्छ।”
पक्कै पनि वातावरण विज्ञ आचार्यले भने जस्तै यही रफ्तारमा हिमालय क्षेत्रमा फोहोर थुप्रिदै जाने हो, भने हिमालको अस्तित्व नरहनपनि सक्छ, हिमालको अस्तित्व नरहेमा हिमालमा आश्रित भारतीय उपमहाद्धिपका करिब एक सय साठी करोड मानिसहरुको पनि अस्तित्व समाप्त हुन सक्छ। यति धेरै संवेदनशीन विषयमा राज्यका जिम्मेवारहरुको कानमा बतास चलेको छैन। यद्यपि पछिल्लो समय सर्वाेच्च अदालतको समेत ध्यान आकर्षित भएको छ।जुन हिमाल बचाउने एउटा कानूनी आधार हो ।

हिमालय क्षेत्र जलवायु परिवर्तनको असरले मात्रै जोखिम छैन, जलवायु परिवर्तनको पिरलोसंंगै हाम्रो आरोहणको व्यापारले झन पीडा थोपरेको छ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा तापक्रम बृद्धि भइरहेको बेला यस्ता हिमाल विरोधी लजिष्टकले थप तापको उत्सर्जन गरेका छन्। जसको परिणाम हिमताल र हिमनदी पग्लिदै गएका छन्। हिमाली क्षेत्रमा यसरी देखिएको अस्वभाविक र अकल्पनीय अनुभव छ, हिमाल आरोही मनबहादुर खत्रीको पनि । आरोही खत्री भन्छन्, “हिमरेखा सर्दैछ,हरेक वर्ष हिमतालहरु पग्लिने मात्रै होइन, समशितोष्ण हावापानीमा पाइने बोटबिरुवा हिमरेखा माथि पाइन थालेका छन्, हरेक वर्ष हिमाली क्षेत्र कालो पत्थरमा फेरिएको मात्रै छैन, अस्वभाविक मौसमको अनुभव गर्न पाइन्छ। मेरो डेढ दशक लामो हिमाल आरोहणको अनुभवमा हिमाली क्षेत्रमा धेरै पर्यावरणीय उथलपुथल भएको छ।”

हिमालय क्षेत्रमा जति विनाशको नतिजा धेरै छ, उति कम लाभको तथ्यांक छ। पर्वतीय पर्यटनको नाममा सरकारले वर्षेनी ७० करोडको हाराहारीमा आम्दानी गर्दछ। यही चालू आर्थिक वर्षको बैशाखसम्ममा सरकारलाई हिमाल आरोहण वापतको रोयल्टी साढे ६७ करोड प्राप्त भएको थियो । सरकारी जानकारी अनुसार नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको हो । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा करिब ८८ प्रतिशत छ ।३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत रहेको हो । यो सिजनमा सगरमाथा पछि सबैभन्दा धेरै हिमाल आरोहणको अनुमति सोलुखुम्बुकै ल्होसे हिमालका लागि दिइएको छ । ल्होसे हिमाल आरोहण गर्ने दलहरूबाट मात्रै सरकारले ३ करोड ४० लाख ३४ हजार २ सय ३८ रुपैयाँ प्राप्त गरेको छ । यो रकम भनेको कुल रोयल्टी हिस्साको ५.०४ प्रतिशत हो । यही आरोहण वापतको प्राप्त आम्दानी र हिमालय क्षेत्रमा थुप्रिएको हजारौ टनको फोहोरलाई तुलना गर्ने हो, भने जिब्रो टोक्ने अवस्था छ। वर्षमा एक अर्ब पनि कमाइ नहुने हिमालमा जथाभावी आरोहणको अनुमति दिएर हिमालय क्षेत्रको विनाश भन्दा अरु परिणाम हात नलाग्ने पक्का हो ।

२४ सय किलोमिटर लम्बाइमा फैलिएको हिमालय एसियाको एक हिमशृङ्खला हो, जसले भारतीय उपमहाद्वीपको मैदानलाई तिब्बती पठारबाट अलग गर्छ। यस हिमशृङ्खलामा पृथ्वीका केही अग्लो चुचुराहरू छन्, जसमा सबैभन्दा अग्लो, सगरमाथा पनि समावेश छ।७,२०० मी (२३,६०० फिट) भन्दा बढी उचाइमा १०० भन्दा बढी चुचुराहरू हिमालय पर्वतमालामा अवस्थित छन्।भुटान, भारत, नेपाल, चीन र पाकिस्तानः हिमालयले पाँच देशहरू पार गरेको छ। हिमालय शृङ्खलाको उत्तरपश्चिममा काराकोरम र हिन्दुकुश पर्वतशृङ्खलाहरू, उत्तरमा तिब्बती पठार र दक्षिणमा सिन्धु–गङ्गा मैदानको समतल क्षेत्रहरू छन्। विश्वका केही प्रमुख नदीहरू, सिन्धु, गङ्गा, र ब्रह्मपुत्र नदी, हिमालयको छेउछाउमा बग्छन्, र तिनीहरूको संयुक्त जलाधार लगभग एक सय ६० करोड मानिसहरूको घर हो।

हिमालय क्षेत्र जलवायु परिवर्तनको असरको मारमा छ। त्यसको डरलाग्दा संकेतहरु देखिन थालेको धेरै भएपनि जोखिम न्यूनीकरणमा त्यत्ति चासो देखिन्न। विशेष गरी कार्बनडाइअक्साईडको बढ्दो उत्सर्जनले पृथ्वीको तापमानको पारो उकालो लाग्दै आएको छ। पृथ्वीलाई जीवन सुहाउँदो बनाउने मुख्य तत्व हुन्, ताप,प्रकाश र गुरुत्वबल। वायुमण्डल र जलवायुले हाम्रो पृथ्वीलाई प्राणीको अस्तित्वमा ल्याउने मुल आधार यी हुन्। जल, थल र वायुमण्डबीच हुन क्रिया प्रतिक्रियाले हजारौ पारिस्थितिक प्राणालीको निर्माण गरेको छ। लाखौ जीव र वनस्पतिको आश्रय स्थल पृथ्वी सबैको परिपालक र सृष्टिकर्ता हो । सबैको साझा पृथ्वी आज वातावरणीय संकटको पिरलोमा छ, औद्योगिकीकरणको नाममा अन्धधुन्द जबरजस्ती गरिएको मानव केन्द्रीत विकासको परिणती हो ।अस्वस्थ र पर्यावरण विरोधी यस्ता विकासले वायुमण्डलमा हरितगृह गुण भएका कार्बनडाइअक्साइड लगायतका ग्यास उत्सर्जन हुने गरेको छन्। जसको कारण पृथ्वीको सन्तुलित प्रणाली खल्बलिदै गएको छ। त्यसको सिधा असर सबै भन्दा बढी हिमालय क्षेत्रमा परेको छ।