नेपाल राष्ट्र बैंकले विकास बैक तथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अर्थात सीइओहरुमाथि कारबाही गरेको छ। उनीहरुले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको पाइएपछि कारबाही भएको हो । कर्जा दुरुपयोग गर्नेमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु रहेका छन्। केन्द्रीय बैंक तथा वित्तीय संस्थाका १५ वित्तीय संस्थाका सीईओलाई एकैपल्ट कारबाही गरेको हो ।चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ‘ख’ र ‘ग’ वर्गका संस्थाका सीइओहरुलाई केन्द्रीय बैंकले सचेत गराएको छ ।
केन्द्रीय बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न विज्ञ नियुक्त गरी अध्ययन गरेको थियो । यसअध्ययन प्रतिवेदनका अनुसार यी संस्थाबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थालाई सोधिएको थियो । सम्बन्धित विकास बैंक र वित्त कम्पनी आफैंले आफूले दिएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको स्वीकारेका थिए । यस कार्यले सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको केन्द्रीय बैंकको भनाइ छ । सोहीअनुसार राष्ट्र बैंकले ७ वटा विकास बैंक र ८ वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क( बमोजिम सचेत गराएको हो ।
कारबाहीमा पर्ने सीईओहरु निम्न बैंक तथा वित्तीय संस्थाका रहेका छन् ।विकास बैंकतर्फमा लुम्बीनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक,मुक्तीनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक रहेका छन्। त्यसै गरी कारबाही भोगन वित्त कम्पनीहरुमा समृद्धि फाइनान्स कम्पनी,पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स,आइ.सि.एफ.सि फाइनान्स,जानकी फाइनान्स कम्पनी,सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स
र गुडविल फाइनान्स रहेका छन्।