बुढापाका भन्छन्, कर्मको फल यसै जुनीमा भोग्नुपर्छ । जस्तो कर्म उस्तै फल पाइ्रन्छ । हो, सुन्दा यो आफैमा दैविक र मिथ्या जस्तो पनि लाग्न सक्छ । तर,वास्तवमै कर्म अनुसार फल प्राप्त हुने गरेको उदाहरणीय तथ्य धेरै भेटिन्छन् ।
त्यस्तै नियतिको चक्रव्युहमा फसेका एक त्यस्ता चर्चित पात्र हुन्, कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा । कम बोल्ने तर, अडानमै आफ्नो राजनीतिलाई सुरक्षित राख्ने शीर्ष नेता हुन्, उनी ।
इतिहासकै धेरै पटक प्रधानमन्त्री भएर इतिहास लेखे उनले । तर, जीवनको उत्ताद्र्धमा उनको यात्रा निकै दुखान्त देखिन्छ । लोकतन्त्रका लागि पूरै जीवन फटालेका उनी यतिबेला विदेशतिर लुकिछिपीमै छन्। सरकारले एउटा अपराधी झै खोजिरहेको छ । मानौ उनी राष्ट्रद्रोही हुन्, राष्ट्रघात र राष्ट्रद्रोहमै उनी संलग्न थिए ।
तर, वास्तवमा देउवाले राष्ट्रघात गरेकोले उनी इन्टरपलोलमार्फत पक्राउ परिने सूचीमा पुगेका होइनन् । बरु, उनी सत्ता र शक्तिको आडमा अकुत धन कमाएको विषयमा पक्राउको सूचीमा परेका हुन् ।उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न रेड नोटिसमै सरकार छ ।
ज्योतिषले ७ पटक प्रधानमन्त्रीको भाग्य रेखा देखाइदिए, त्यसैमा पुलकित हुँदै देउवाले ओलीसंग प्रीत जोडे । ओलीकै संगतले जीवनमा कल्पना नगरेको दुःख उनले झेल्न प¥यो । बुढानिलकण्ठको. घर डढ्यो । थुप्रिएका पैसाका बीटा आगामै जले । ३५ वर्ष प्रत्यक्ष सत्ताको वरिपरी बसेर तर मारेर थुप्रिको कुबेरी धन पनि हावामै उड्यो धुवाँ र खरानी बनेर । भदौ २४ उनका लागि यमराज बनेर आयो । धन्न ज्यान जोगियो । त्यहीदेखि जीवनमा ठूलो ग्रहदशा लाग्यो ।
नातीसरहका जेन्जीबाट भकुरिएपछि उनको राजनीतिक ग्रहदशा नराम्रो बन्यो । जुन कुरा उनले अतीतमा कल्पना पनि गरेका थिएनन्, होला । तर, नियतीको परिबन्धले यस्तो बनाइदियोकी, बुढेसकालमा हत्कडी लाग्नुपर्ने अवस्था छ । विगतमा संविधान बनाउन र लोकतन्त्रलाई बचाउन जीवनमरणको राजनीति गरेका उनीसंग यतिबेला कोही छैन । विगतका तीता अनुभव र स्मृतिहरु मात्रै बाँकी छन् । जिद्दीवाली श्रीमती आरजु राणा देउवा र पूर्णबहादुरसहितका ७ भाइहरुलाई च्याप्दै जाँदा अन्तिममा आफै पार्टीमा च्यापिनु प¥यो ।
सत्तामा बालेन जस्ता युवा छन्। पार्टीमा गगनहरुको पुस्ताले नेतृत्व लिइसक्यो । फागुन २१ को चुनावको मुखैमा सिङ्गापुर उडेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै उतै छन् । आफ्नै प्यारो घर बुढानीलकण्ठस्थित निवासमै निर्घात कुटिएका उनी फलोअपका उपचारका लागि फागुन १४ मा सिङ्गापुर उडेका थिए ।सिङ्गापुरबाट स्वदेश नफर्की उनी अहिले हङकङ गएका छन् । पूर्वपरराष्ट्रमन्त्री तथा देउवा पत्नी डा. आरजु राणा त्यसअघि नै भारत हुँदै हङकङ गएकी थिइन् । तीन महिना पुग्दा समेत देउवा दम्पती स्वदेश फर्किने छाँटकाँट देखिएको छैन ।
प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक मत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै देउवा दम्पती सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले तत्काल स्वदेश फर्किने सम्भावना देखिँदैन ।नेपाल प्रहरीले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । यद्यपि इन्टरपोलले प्रक्रिया नमिलेको कारण देखाउँदै रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको छ ।
जेनजी आन्दोलनबाट ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार नढलेको भए यही आउने असारमा देउवा प्रधानमन्त्री बन्ने थिए । २०८१ साल असार १७ गते देउवा र एमाले अध्यक्ष ओलीबिच भएको ७ बुँदे सहमतिमा आलोपालो सरकार गठन गर्ने सम्झौता थियो । त्यही सम्झौता अनुसार असार ३१ गते ओली दुई वर्षका लागि प्रधानमन्त्री भएका थिए ।
देउवा २०८४ सालमा हुने आवाधिक निर्वाचनका लागि चुनावी सरकारका प्रधानमन्त्री बन्ने सहमति थियो । तर,प्रधानमन्त्री बन्ने सपना देखेर ओलीसंग प्रीत जोडेका देउवाको सपना गएको भदौको जेनजी विद्रोहसंगै धुँवामै विलिन मात्रै भएन । वनले आइजा आइजा र घरले जा जा भन्ने उमेरमा विदेश गल्लीहरुमा भौतारिरहेका छन्, कुन बेला पक्राउ परिने हो भन्ने भय र त्रासले लखेटिएका छन् ।०००००








