१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मृत्य जितेर मृत्युसंगै हारेका, ‘बरिष्ठ पाइलट अरुण मल्ल’


२४ श्रावण २०८१, बिहिबार  


मुन्धुम दर्शनले भन्छ, जीवन त ऋतुभरी फूल्ने फूल जस्तै हो, यामभरीको डाँडामाथिको हिउँ जस्तै हो, जीवन क्षण भंगुर छ, अमर त मृत्यु नै हो। पक्कै पनि मृत्यु शाश्वत सत्य हो। यो आफैमा अमर पनि छ। यही अमरवादी मृत्युसंग धेरै पटक जुधेका र भिडेका बरिष्ठ पाइलट थिए, अरुण मल्ल । जसले बितेका १३ वर्षदेखिको यताको समयमा उडानको क्षेत्रमा धेरै अनुभव संगालेका थिए।लामो समयदेखि डाइनेष्टीको हेलिकप्टर उडाउँदै आएका उनले यस अघि धेरै पटक मृत्युलाई पराजित गरेका थिए।

२०७० साल असोज १० गतेका दिन उनी दुघटैनामा परेका थिए, त्यत्तिबेला उनले उडान भरेको हेलिकष्टर सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा दुर्घटनामा परेको थियो । यस दुर्घटनामा पाइलट मल्लसहित यात्रु दावा ग्याल्जेन शेर्पा पनि घाइते भएका थिए । त्यसैगरी २०७९ साल चैत २५ गते ह्याम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो ।दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । एयर डाइनेस्टीकै ९एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो ।ती दुबै दुर्घटनामा पनि मृत्युलाई जितेर फर्किएका उनले बुधबार नुवाकोट हेलिदुर्घटनामा मृत्यसंग आत्मसर्मपण गरे र सधैका लागि हामीबाट अस्ताए । उनीसहित पाँच जनाको ज्यान गयो, त्यो हेलि दुर्घटनामा ।

आज भन्दा ५८ वर्ष अघि अर्थात सन् १९६६ जुलाई २ मा ललितपुरमा जन्मिएका पाइलट मल्ल यसअघि कर्णाली एयरमा कार्यरत थिए । सन् २०११ बाट भने वरिष्ठ पाइलट मल्लले निरन्तर एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका थिए । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडानका क्रममा बुधबार नुवाकोटको शिवपुरी–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा उनै पाइलट मल्ल र अन्य ४ जना चिनियाँ यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

लामो समय रेस्क्यू फ्लाइटको काम गरेका अनुभव प्राप्त पाइलट अरुण मल्ल काबिल र सक्षम चालक भएको उनलाई नजिकैबाट चिन्नेहरु बताउँछन्, ग्राण्डी हस्पिटलका रेस्क्यू इन्चार्ज माधव शर्मा भन्छन्, “अरुण मल्ल जस्तो बरिष्ठ, काबिल र इमान्दार चालक हुनुहुन्थ्यो, उहाँ हजारौँमा एक कुशल पाइलट हो ।”उड्ययन क्षेत्रमा उनी निकै अनुभवी र बरिष्ठ पाइलट थिए । जतिबेलादेखि उनी कम्पनीमा जोडिए दुर्घटनाको दिनसम्म पनि निकै कुशलतापूर्वक र इमानदारितापूर्वक कामगरेको उनका सहयात्रीहरु बताउँछन्।

देशका विभिन्न ठाउँबाट बिरामीको उद्धार गरेर ज्यान बचाउन लाग्ने क्याप्टेन मल्ल आफैँ मेडिकल टिमसँग निरन्तर संवादमा रहने र समयमै अस्पतालसम्म पुर्याउने भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा रहदै आएका थिए । मल्लजस्तो अनुभवी, इमानदार र मिलनसार पाइलट नेपाली हवाई उद्योगले फेरि सायदै पाउला ।‘क्याप्टेन मल्लको निधनले नेपाली हवाई उद्योगलाई अपूरणीय क्षति समेत पुगेको छ।

ललितपुरमा जन्मिएका पाइलट मल्ल पछिल्लो समय काठमाडौँको बुढानीलकण्ठ, चपलीमा बस्दै आएका थिए । पाइलट मल्लका श्रीमती र दुई छोरी रहेको बुझिएको छ ।यसअघि नै मृत्युलाई जितेका पाइलट मल्ल यो पटक भने सदाका लागि अस्ताए। मृतक पाइलटसहित अन्य यात्रुप्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ८ : २६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित