३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

अन्नपूर्ण प्रथम हिमाल आधार शिविर क्षेत्र पर्यटकले भरिभराउ


३ कार्तिक २०८१, शनिबार  



अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

दशैको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए। अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किनुभएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताए । केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो ।

गएकाे वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा छ गुणाले वृद्धि भएको बताइएको छ । भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकको संख्या पनि गत वर्षभन्दा वृद्धि भएकामा स्थानीय होटल व्यवसायी उत्साहित छन् ।

पर्यटकको संख्या वृद्धि भएसँगै आधार शिविरमा फोहर बढेको छभने शौचालयसहितका अन्य संरचनामा सम्बन्धित निकायको ध्यान नपुगेको पर्यटकले गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर क्षेत्र पुग्न सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : २६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित