४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

सुन आयातमा उच्च वृद्धि, गएकोे पुसमा चार सय २४ किलो आयात !


१३ माघ २०८१, आइतबार  



नेपालमा सुन आयातमा उच्च वृद्धि भएको छ। गएको पुस महिनामा अहिलेसम्म धेरै सुन आयात भएको हो । भन्सार विभागका अनुसार पुस महिनामा ४२४ किलो सुन आयात भएको छ । पुसमा ४ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ बराबरको ४२४ किलो ७८३ ग्राम सुन नेपाल भित्रिएको हो ।

सरकारले सुनको भन्सार शुल्क घटाएसँगै सुनको आयातमा पनि ह्वात्तै वृद्धि भएको देखिन्छ । गएको मंसिर ६ गते सरकारले सुनको भन्सार शुल्क १० प्रतिशतमा झारेको थियो । त्यसभन्दा अघि भने यस्तो शुल्क २० प्रतिशत रहेको थियो ।

भन्सार शुल्क घटेसँगै सुन आयात धमाधम बढी रहेको छ । घटाइएको भन्सार शुल्क लागू भएदेखि यता अर्थात् मंसिर र पुस महिनामा मात्रै ५ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबरको ५०४ किलो २३६ ग्राम सुन नेपाल भित्रिएको छ। चालू आर्थिक वर्षका को ६ महिनामा भने ८ अर्ब ५५ करोड ३६ लाख ४५ हजार रुपैयाँ बराबरको ७५० किलो ३१७ ग्राम काँचो सुन तथा गरगहना आयात भएकोे छ।

अहिले नेपाल औसतमा मासिक ८५ करोड ५३ लाख रुपैयाँ बराबरको १२५ किलो सुन आयात भएको देखिन्छ ।
विभागका अनुसार गएको कात्तिकमा ६९ करोड ११ लाख रुपैयाँ बराबरको ७९ किलो ४५३ ग्राम सुन र गरहना आयात भएका थिए । यस्तै, असोजमा ३० करोड ८९ लाख रुपैयाँ बराबरको २७ किलो ५६९ ग्राम र भदौमा पनि २९ करोड २३ लाख रुपैयाँ बराबरको २७ किलो सुन आयात भएका थिए ।

चालू आर्थिक वर्षको पहिलो महिनामा भने १ अर्ब ३८ करोड ८७ लाख रुपैयाँ बराबरको १३२ किलो ९९३ ग्राम सुन नेपाल भित्रिएको थियो । हाल नेपालमा वाणिज्य बैंकहरु मार्फत सुन आयात हुँदै आएको छ । बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँछन् ।

हाल विश्वका दुई दर्जन बढी मुलुकबाट सुन आयात हुने गरेको छ । युनाईटेड अरब इमिरेट् (युएई), टर्की, कतार, मलेसिया, हङकङ, चीन, भारतबाट ठुलो मात्रामा काँचो सुन आयात हुने गरेको छ । यस बाहेक साउदी अरेबिया, थाइल्याण्ड, अमेरिका, कुबेत, बेञ्जियम, सिंगापुर, कोरिया, जापान लगायतका २ दर्जन बढी देशहरुबाट सुन तथा यसका गरगहना आयात हुँदै आएको छ ।

सुन आयातबाट सरकारले ६ महिनामा १ अर्ब १० करोड ९७ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । गएका पुसपछिका दिनहरुमा सुन आयात झन् बढ्ने व्यवसायीहरु बताउँछन् । विशेषगरि लगनको महिना भएकाले पनि माघमा थप आयात बढ्ने भएको हो । अहिले भन्सार शुल्क घटेसँगै तुलनात्मक रुपमा सुनको भाउ पनि सस्तिएको छ । अर्को तर्फ लगनको महिना सुरु भएको छ ।

माघ, फागुन पनि बिहे तथा अन्य विभिन्न सांस्कृति गतिविधि पनि बढी हुने गर्छ । यसले बजार माग बढाएसँगै आयात पनि बढ्ने गर्छ । अहिले बजारमा कारोबार पनि बढेको व्यापारहरु बताउँछन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित