२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै


४ कार्तिक २०८१, आइतबार  


सहकारी ठगीमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने हो,’ उनले भने । जोशीको बयान सकिएको उनले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।

यसअघि कास्की प्रहरीको टोलीले काठमाडौं गएर जोशीसँग भदौ ८ मा र लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ ।

यसअघि पहिलोपल्ट ५ दिन र दोस्रोपल्ट ७ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो । म्याद थप्ने दिन घटस्थापना परेको र त्यसलगत्तै दसैं बिदा भएकाले अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरिदिएको हो । जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामार्फत अपचलन गर्ने कार्यमा जीबी राई, लामिछानेलगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । गत वर्षदेखि नै फरार रहेका राई हाल मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उनले जानकारी दिए ।

सूर्यदर्शन सहकारीको बचत हिनामिनामा शुक्रबार अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । कास्कीका जिल्ला न्यायाधीश कृष्णजंग शाहले पक्राउ अनुमति दिएपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी उपस्थित गराइदिन सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा काठमाडौंलाई पत्र पठाएको थियो ।

पत्राचारपछि सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले वनस्थलीस्थित रास्वपा कार्यालयबाट लामिछानेलाई नियन्त्रणमा लिएर पोखरा ल्याएको हो । अदालतले दिएको पक्राउ पुर्जीमा लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ (३) अनुसार पक्राउ अनुमतिका लागि अनुरोध भई आएकाले त्यसमा अनुसन्धान गर्न मनासिब आधार र कारण देखिएको उल्लेख छ ।

पोखरा ल्याइपुर्‍याएपछि लामिछानेलाई प्रहरीले सुरुमा रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य जाँच गराएपछि मात्रै कास्की प्रहरीको जिम्मा लगाएको थियो । लामिछानेलाई प्रहरीले सेतो स्कोर्पियो गाडीमा राखेर कडा सुरक्षाका बीच जिल्ला प्रहरी कार्यालयमा ल्याइपुर्‍याएको थियो । रास्वपाका समर्थकहरूले ठाउँठाउँमा अवरोध गर्दै नाराबाजी गरेपछि कास्की प्रहरीले आफ्नो सीमानामा स्कर्टिङका लागि सुरक्षाकर्मीसहित गाडी पठाएको थियो ।

लामिछानेसँगै काठमाडौंबाट दलबलसहितको ठूलो टोली उनको गाडीको पछि लागेर पोखरासम्म नै आइपुगेको थियो । रास्वपा उपसभापति डीपी अर्याल पनि काठमाडौंबाट लामिछानेको गाडीको पछिपछि आएका थिए भने अर्का उपसभापति स्वर्णिम वाग्ले भने शुक्रबार दिउँसो नै विमानबाट पोखरा आएका थिए । लामिछानेलाई प्रहरी कार्यालय ल्याइपुर्‍याउँदा बाहिर उपस्थित केही दर्जन कार्यकर्ताले करिब एक घण्टाजति नाराबाजी गरेका थिए । कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका थिए ।

प्रहरी नायव उपरीक्षक शर्माका अनुसार लामिछानेलाई जिल्ला प्रहरीको हिरासतमा एक्लै राखिएको छ । उनले शनिबार बिहान ९ बजेतिर पार्टीका उपसभापति तथा सांसद डीपी अर्याललगायतसँग केही समय भेटघाट गरेका थिए । ‘बिहान आफ्नो पार्टीका केही माननीय र परिवारसँग भेट गर्नुभएको थियो,’ उनले भने, ‘त्यसपछि उहाँले कसैसँग पनि भेट गर्नुभएको छैन ।’ प्रवक्ता शर्मा का अनुसार केही दिन अस्पतालमा भर्ना भएका पूर्वडीआईजी जोशीलाई पनि शनिबारदेखि हिरासतमै राखिएको छ । दुवै जनालाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ ।

सरकारवादी मुद्दामा आइतबार जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख एवं जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बहस गर्नेछिन् । सहकारीपीडितका तर्फबाट निजी वकिल युवराज पराजुलीले बहस गर्नेछन् । आइतबार अन्य वकिलले पनि पीडितको तर्फबाट बहस गर्न इच्छा देखाएको सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । लामिछानेको पक्षबाट अधिवक्ताहरू सुशील पन्त, नारायण घिमिरे र सुवास आचार्यले बहस गर्ने भएका छन् ।

लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहरा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैंले चेक काटेर खर्च गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले गोर्खा मिडियामा पाएको भनिएको ‘स्वेट सेयर’ लाई समितिले किर्ते भनेको छ । ‘गोर्खा मिडिया नेटवर्क प्रालिलगायतमा कम्पनीहरूमा सेयर खरिदबिक्री गर्दा कानुनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिदबिक्री भएको पाइएको’ समितिको निष्कर्ष छ । बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछाने/रोशनी गुरुङमार्फत आएको रकमलाई आफ्नो लगानी भनेर लामिछानेले गोर्खा मिडियाको १५ प्रतिशत सेयर लिएका थिए । कम्पनीबाट बिदा हुने बेला सेयरबापत १ करोड ८० लाख रुपैयाँ बुझेको भन्दै लामिछानेले औंठाछापसहितको कागज पनि कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएका थिए । तर यी कागजलाई ‘नक्कली र देखावटी’ भनेर उनले पत्रकार सम्मेलनमै स्विकारेका थिए ।

सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गत जेठ १५ मा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष राई, पूर्वप्रबन्ध निर्देशक लामिछाने, सञ्चालक जोशी र कुमार रम्तेलमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिले उनीहरूविरुद्ध संगठित अपराध, ठगी, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने भन्दै प्रचलित कानुनअनुसार कारबाही गर्न बाटो खोलिदिएको थियो ।

संसद्‌द्वारा लामिछाने पक्राउको जानकारी

प्रतिनिधिसभाले सूचना प्रकाशित गरेर सांसद रवि लामिछाने पक्राउ परेको जानकारी दिएको छ । संसद् अधिवेशन नचलिरहेकाले संसद् सचिवालयले सांसद लामिछाने पक्राउको जानकारी सूचना टाँसेर दिएको हो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार जारी गरेको सूचनामा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेलाई फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको उल्लेख छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : २७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित