४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

सरकार भन्छ,– ‘सगरमाथा आरोहण पहिले सात हजार मीटरका हिमाल आरोहण अनिवार्य’


१४ बैशाख २०८२, आइतबार  


सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नु पहिले ७ हजार मिटर माथिका कम्तिमा एउटा हिमाल आरोहण गर्नेपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले वैशाख ५ गते राष्ट्रिय सभामा दर्ता गराएको पर्यटन विधेयक २०८१ मा यस्तो व्यवस्था गरिएको हो ।

विधेयक संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि कार्यान्यनमा आउने भएको छ ।सरकारले सगरमाथा आरोहण गर्न ७ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण अनिवार्यले आरोहणलाई व्यवस्थि गर्न खोजेको पर्यटन विभागका अधिकारीहरु बताउँछन्।
सरकारले सगरमाथा आरोहणका लागि प्रवर्धन गरेपनि सगरमाथा लगायतका हिमालमा थुप्रिएको फोहार ठूलो समस्या बन्दै गएको छ। हिमाल जोगाउन सरकारले आरोहणमा भन्दा पनि संरक्षणमा जोड दिनुपर्ने वातावरण विज्ञहरुको भनाइ छ। हाम्रै छिमेकी मुलुक चीनले कैलाश पर्वतको अवलोकन मात्रै गर्न दिन्छ, आरोहण गर्न दिएको छैन। कैलाश पर्वत आरोहण नगरेपनि विश्वका हिन्दु बौद्धहरुले दर्शन गर्ने गरेका छन्।

डा केशवानन्द भन्छन्, ‘कम्युनिष्ट देशले हिमालको संरक्षण गर्न दर्शन मात्रै गराउँछ, नेपाल जस्तो देवभूमि भएको देशले संसार भरका मानिसलाई अरोहण खुला गरेर हिमालको अस्तित्व नामेट पार्दैछ ।’यस विषयमा वातावरण विज्ञ शिलशिला आचार्यको पनि मत मिलेको छ। वातावरण विज्ञ शिलशिला आचार्य भन्छिन्, ‘हिमाल आरोहणबाट प्राप्त रोयल्टी भन्दा सयौ गुणा हिमाल फोहोर भएको छ। यो फोहोर हटाउन हाम्रो वार्षिक बजेट पनि भ्याउँदैन। यस तर्फ कसैको ध्यान देखिन्न। यसले हिमालको अस्तित्व मेटाउने छ, हिमाल नभए हाम्रो पनि अस्तित्व मेटिनेछ। ’

तर, सरकारले सगरमाथा आरोहण गर्न कम्तिमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमालचुली आरोहण गरेकै हुनुपर्ने व्यवस्था गर्ने गरी विधेयक संसदमा दर्ता गराएको छ। पर्वतारोहणसम्बन्धि व्यवस्थामा ७ हजार मिटरभन्दा अग्ला कुनै एउटा हिमाल आरोहण गरेको अभिलेख पेश गरेपछि मात्रै सगरमाथा आरोहणको अनुमति जारी गर्न सकिने उल्लेख छ ।

पर्यटन विभागका विभागका एक अधिकारीहरु भने सगरमाथा आरोहणको चाप घटाउन, अरु हिमालयमा गतिविधि बढाउन र धेरै आरोहीलाई हिमाली गतिविधिमा संग्लग्न गराउन उक्त व्यवस्था प्रस्ताव गरिएको बताउँछन् ।उनीहरुका अनुसार हाल कुनै पनि हिमाल नै आरोहण नगरि सिधै सगरमाथा जाँदा हुने जोखिम कमी हुनेछ। यसको साथै सगरमाथा चढ्न हाल एकैपटक लाग्ने भिडलाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने छ।

नेपालमा ७ हजार मिटर माथिका हिमाल करिब ८० वटा छन् । यी मध्ये ८ वटा ८ हजार मिटर माथिका छन् । ८ हजार मिटर माथिका हिमाल आरोहण गरेर पनि सगरमाथा आरोहण गर्ने पाइने भएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : २७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित