सर्वप्रथमतः पाथीभरा अर्थात मुकुम्लुङमा केबलकार निर्माण गर्ने या नगर्ने पक्ष र विपक्षमा पंंक्तिकार नरहेको स्पष्ट पार्दै विषय प्रारम्भ गर्न चाहान्छु। पाथीभरा धार्मिक आस्थाको धरोहर हो, प्रकृतिको अद्भूत सिर्जना हो । प्रकृति आफैमा अन्तिम सत्य हो । अन्तिम सत्य नै भगवान हो। सत्यलाई इश्वर मान्ने या अनीश्वर ठान्ने स्वयं व्यक्तिको छनौटको सार्वभौम अधिकार हो । मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर त्यत्तिकै बनेको भने पक्कै होइन।
किनकी यसको पृष्ठभूमिमा लामो प्राचीन इतिहास, श्रुतीका कथाहरु जोडिएका छन्। प्राचीन सभ्यताको आधार श्रृती र स्मृतिमा कथिएका विषयहरु नै सन्दर्भ सामग्री हुन्। यीनैको अध्ययनबाट नै सभ्यताको वास्तविक गहिराइमा पुग्न सकिन्छ र तथ्यलाई उजागर गर्न सकिन्छ र गरिनुपर्छ पनि । यद्यपि पंक्तिकार यस विषयको कुनै ख्यातीप्राप्त विद्धत व्यक्ति भने पनि होइन। सामान्य विषयको उठान र विश्लेषण गर्ने ल्याकत बाहेक त्यस्तो सामथ्र्य नभएको पनि मामुली पत्रकार मात्रै हो । तैपनि समाजमा विषय उठिसकेपछि त्यसको वस्तुवादी विश्लेषण गर्नुपर्ने यो दायित्वलाई आत्मबोध गरेर यहाँ चर्चा गर्न लागिएको हो ।मुन्दुम विश्वविद्यालयकी केबलकार निर्माणमा रोक भन्ने विषयको चर्चा गर्नु पहिले मुन्दुम के हो ? त्यो बुझ्न जरुरी छ। पंंक्तिकारले यहाँ मुन्दुम सभ्यता, दर्शनको विषयमा विद्धानहरुले खोज तथा अनुसन्धानबाट तयार पारेको सन्दर्भ सामग्री पस्किएको छ।
सर्वप्रथम मुन्दुम के हो भन्ने विषयमा मुन्धुम अध्ययेता डा. भक्त राई भन्छन्, ‘मुन्दुम किरातीहरूको मौखिक वाङ्मय हो। हालसम्म मौखिक परम्परामै जीवित रहेको र किरातीको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–संगीत, धर्म–दर्शन आदिको समग्र विवरण पाइने हुनाले ‘मुन्दुम’लाई मौखिक वाङ्मय भनिएको हो। ‘किरात’ अत्यन्त प्राचीन शब्द हो। यसले उद्बोधन वा द्योतन गराउने जाति, समुदाय वा सभ्यता स्वतः प्राचीन हुने भयो। संसारकै प्रथम लिखित ग्रन्थ मानिएको ऋग्वेददेखि नै किरातबारे चर्चा हुँदै आएको पाइन्छ। परन्तु किरातभित्र कुन कुन जाति र समुदाय पर्छन् भन्नेमा एकमत भेटिन्न। खास गरेर राई, लिम्बु, सुनुवार, याक्खा आदि जातिले आफूलाई किरात भनी स्वीकार गरेको हुँदा हाल यीनै जातिलाई किराती भनेर चिनिन्छ। यद्यपि अन्य थुप्रै जाति र सम्प्रदाय किरातभित्र पर्छन्। सम्पूर्ण किरातीको प्राचीन सांस्कृतिक इतिहास र साझा पहिचान नै मुन्दुम हो। त्यसैले मुन्दुम समग्र किरातीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि हो।] (नागरिक दैनिक, २ आश्विन २०७७)
त्यसैगरी मुन्दुमको विषयमा कोइँचबु काःतिच(उत्तम) लेख्छन्,‘किरात धर्म भनेको किरात जातिको श्रृष्टि भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो । किरात धर्मको मूल धर्म ग्रन्थ काव्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहाङ, सोधुगेन्, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ आदि किरात जीवन, दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु–पंक्षी, झार–जङ्गल तथा मानव श्रृष्टिका तर्क सङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् । मुन्धुममा समस्त किरातहरुलाई एक सूत्रमा बाँधी वर्गविहीन जातीय समानता, अन्य धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ ।’( किराँत याक्थुङ र कोइँच मुक्दुमः समानता र विविधता ,कोइँचबु काःतिच(उत्तम) १४ साउन २०७३, इन्डिजिनियस भ्वाईस डटकम)
मुन्धुमको विषयमा स्वप्निले स्मृति लेख्छन्,लिम्बू समाजमा एउटा आहान छ, ‘मुन्धुम मिलाऊँ, सबै मिल्छ।’ यसले एउटा सभ्य, सुमृद्ध र सुन्दर समाज निर्माणमा ‘मुन्धुम’को महत्वलाई दर्शाउँछ। तब प्रश्न उठ्छ, त्यसो भए मुन्धुम के हो ? मुन्धुम मन्थन, २०७५ जेष्ठ १२, अन्नपूर्ण पोस्ट दैनिक) हो, मुन्धुम आफैमा विशिष्ट मात्रै छैन विराट पनि जहाँ बहुभाषिक प्रचलन रहेको पाइन्छ। किरातीभित्र पर्ने राई जातिमा मात्रै २०औँ भाषिक समुदाय पाइन्छन्। यसैबाट पनि प्रष्ट हुन्छकी किराँती सभ्यता कति विशिष्ट र विराट छ भन्ने कुरा । यसर्थ सारमा भन्नुपर्दा मुन्धुम प्राचीनता, भौगलिक विशिष्टता, गेयात्मकता, मौलिक, दर्शन, ज्ञान विज्ञान, संगीत कला, आफ्नै अर्थसमाजशास्त्रसहितको विविधताहरुको समष्टिगत रुप हो । यसले यल ५०८५ लाई मान्ने हो भनेपनि यो आफैमा आदिम सभ्यताको निरन्तरताको कथन हो ।
हेरौं,केबलकार निर्माणको यस्तो छ,इतिहास !
मुकुम्लुङ पाथीभरा केबलकार निर्माणको प्रारम्भ अहिलेको होइन। यस स्थानमा केबलकार निर्माण गर्ने चर्चा परिचर्चा आज भन्दा करिब तीस वर्ष अघिको हो । २०५१–५२ सालबाटै केबलकार निर्माणको प्रसंग चलेको थियो । त्यसबेला विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले केबलकार निर्माणको अगुवाइ गरेका थिए ।
पूर्व मेयर श्रेष्ठकै नेतृत्वमा २०७२ सालमा ‘पाथीभरा देवी दर्शन केबलकार प्रालि’ दर्ता भएको थियो । उनीपछि यो कम्पनीमा ईश्वरी पौडेलसहितको टोलीले काम गर्ने तयारी गरेको थियो। यद्यपि त्यसबेला केबलकारको योजना सफल हुन सकेन ।योजना सफल हुन नसकेकोमा पनि कसैको अवरोधले होइन । त्यसयताको मितिमा यती एयरलाइन्सका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पा जोडिए । शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई लिएर उनी त्यहाँ पुगेका थिए। त्यसपछि ल्हाक्पा सोनाम शेर्पासँग यो कम्पनीको अधिकतम सेयर गएको थियो । केबलकारको पहिलो स्टेसनको जग्गा उनै परिकल्पनाकार श्रेष्ठले नै कम्पनीलाई बिक्री गरेका थिए । मालपोत कार्यालय ताप्लेजुङको अभिलेख अनुसार पाथीभरा देवी दर्शन केबलकार प्रालिको २९ रोपनी जग्गा पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले बिक्री गरेका थिए । सोनाम शेर्पा आईएमई ग्रुपका मालिक चन्द्र ढकाललाई सेयर बेचेर कम्पनीबाट बाहिरिएका थिए ।
शिलन्याससंगै विवाद शुरु
लामो समयसम्म केबलकार निर्माणको योजना अघि बढेको थिएन। जब आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल कम्पनीमा प्रवेश गरेसंगै केबलकार निर्माणका प्रक्रियाले गति लिएको हो । बैंकिङ क्षेत्रमा उदाएका व्यक्ति चन्द्र ढकालले यस अघि काठमाडौको चन्द्रागिरी, मौलाकाली लगायत क्षेत्रमा केबलकार बनाइरहेका छन् । ताप्लेजुङको पाथीभरामा पनि केबलकार बनाउने गरी उनी अघि बढेका हुन्।उनले बनाउन थालेको यस े केबलकारको प्रवेश बिन्दु २९ रोपनी क्षेत्रफलको जग्गा निजी हो । २.७५ किलोमिटर लम्बाइ हुने यस केबलकारको बाँकी जग्गा वन क्षेत्रको हो । केबलकार संचालन हुने क्षेत्रमा रहेको वनमा पर्ने ४.९७ हेक्टर जमिनका १० हजार २०० बढी रुख काटिएको आन्दोलनकारीको छ। यद्यपि २१ सय १२ रुखमात्रै कटान भएको अर्काे पक्षको दाबी छ। कम्पनीले राज्यबाट अनुमति पाएपछि शिलान्यास गरेर काम प्रारम्भ गरेको छ।
कोशीको झोकमा केबलकार ठोक त होइन ?
पाथीभर केबलकारको अहिले विरोधमा उत्रिएकाहरु अधिकांश उनै पहिचानवादीहरु देखिएका छन्। कोशी प्रदेश अमान्य भन्दै लामो समय सडक आन्दोलन गरेकाहरु नै यतिबेला केबलकार निर्माणको विपक्षमा उभिएका छन्। यद्यपि यहाँको आधा समुदाय केबलकार निर्माण गर्नुपर्ने पक्षमा देखिएका छन्। स्थानीय सरकार केबलकार निर्माण गर्ने पक्षमा उभिएको छ, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन स्थानीयको विकासका आकांंक्षालाई पूरा गर्न केबलकार निर्माण गर्नुपर्ने पक्षमा उभिदै आएका छन्। पहिचानवादीहरुले विरोध गरेकै भरमा निर्माण कार्य नरोकिने उनले दाबी गरेका छन्। केबलकार निर्माण गर्दा यहाँको सभ्यता र संस्कृति मासिने भन्दै पहिचानवादीहरु आन्दोलनरत छन्। आन्दोलनक्रममा गोली चलेर आन्दोलनकारी र प्रहरी घाइते भएका छन्। यद्यपि पहिचानवादीहरुको विगतमा कोशी प्रदेश आन्दोलन पनि अन्ततः मत्थर भएको थियो ।
पछिल्लो समय केबलकार निर्माण गर्ने या नगर्ने भन्ने विषयमा विवाद देखिएको छ। यो विवादको अग्रभागमा उनै कोशी प्रदेश खारेजका अभियान्ताहरु देखिएका छन्। पंक्तिकार पहिचानको आन्दोलनलाई गलत अथ्र्याएको कदापि होइन। तर, हाम्रो सम्पदाको मायाले नै यो मुठभेडमा उत्रिएका छौकी कसैको लहलहैमा । यो विषय स्वयं केबलरकारलाई ढुंगा हान्नेहरुको विवेकमा निर्भर रहन्छ। अधिकार ढुंगा हानेर भन्दा टेबल ठोकेरै उदेश्यमा पुग्न सकिन्छ। त्यसतर्फ आन्दोलनरत समूहको ध्यान गएको देखिन्न। बरु भीडलाई उत्तेजित बनाउने र मिलेको समाजलाई भाँड्ने कोशीस देखिन्छ। त्यसको साक्षी पात्र आङकाजी शेर्पा हुन्, उनी आफूलाई क्रिशियन अभियान्त बताउँदै आएपनि भूमिपुत्र भन्दै केबलकार विरुद्ध आन्दोलनलाई तेल थपिरहेका छन्। सरकारले पनि विवेक भन्दा बन्दुकको भरोसा मानिरहेको छ।
यही केबलकारका कारण समाज विभाजित छ, कथित जात र धर्मको नाममा । समाजलाई यसरी विभक्त बनाउनु गलत भएको धार्मिक अभियान्ता अभिषेक जोशी बताउँछन्। केबलकारको नाममा स्थानीयलाई भिडाउने काम भइरहेको भन्दै उनले सबैको सहमतिमा निर्माण गर्ने या नगर्ने भन्ने विषयमा टुंगो सmुभाएका छन्। यद्यपि सरकारले पनि वार्ताबाट समस्याको हल गर्न भन्दै वार्ता समिति बनाएको छ। वार्ताबाटै समस्याको समाधानको विकल्प देखिन्न । मुडभेड र दमनले थप समस्या उल्झाउने भएकोले सरकारको ध्यान अभिभावकत्वतिर जानुपर्छ ।यो पनि कदापि विर्सनुहुन्न की केबलकार लगानीकर्ता चन्द्र ढकाल हुन्। उनले यस क्षेत्रमा लगानीको वातावरण नभएमा हात झिक्न सक्छन्। कर्णाली लगायतका क्षेत्रमा लगानी विस्तार गर्न सक्छन्। तर,यस्तो प्रवृत्तिले लगानीको वातावरण विगार्ने मात्रै होइन, समाजलाई जातिय र धर्मका नाममा द्वन्द्वमा लैजाने पक्का छ।
मुन्धुम विश्वविद्यालयको माग उठ्दैन किन ?
पंक्तिकारले माथि उल्लेख गरिए अनुसार मुन्धुम जीवन र जगतको समग्र दर्शन हो। आदिमकालदेखिको सांस्कृतिक निरन्तरता हो। श्रृतिमा आधारित कथनहरुको समष्टिगत रुप हो । जुन आफैमा विशाल र विराट मात्रै छैन,विशिष्ट पनि छ। तर, यति प्राचीन कथ्य दर्शनको विषयमा खोज तथा अनुसन्धान गर्न प्राज्ञिक थलोको खोजी हुनुपर्ने हो । जबसम्म विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म यस्ता सभ्यताहरुको विषयमा अध्ययन र पठन पाठन हुँदैन। तबसम्म सतही बहस र झडपले कुनै पनि सभ्यताको रक्षा हुँदैन । त्यसको उदाहरण हाल पाकिस्तानमा रहेको तक्षशीला एक गतिलो उदाहरण हो ।
चन्द्रगुप्तको नाति अशोकले राज्य विस्तार गर्दा उत्तरमा तक्षशिला, उज्जैनलाई आफ्नो साम्रँज्यमा मिलाएका थिए । तर उनले त्यहाँ सधैं असन्तुष्टि खेप्नु पर्यो । यस कुरालाई दिव्यवदन ग्रन्थमा यस प्रकार उल्लेख गरिएको छ– उत्तरापथको तक्षशिला अशोकले गरेको अपमान प्रति रुष्ट थियो । त्यस स्थानको पौर (नगरअध्यक्ष) ले त्यहां राज्य गर्न पठाइएका मन्त्रीहरूको स्वागत गरेनन् । अन्तमा राजा अशोकले त्यहां कुणाललाई पठाए । राजा अशोकले के अपमान गरेका थिए ? र के कारणले तक्षशिला रुष्ट भयो भन्ने कुरा इतिहासकारहरूले स्पष्ट गर्न सकेका छैनन् । कथा र किम्वदन्तीमा पनि सो सम्बन्धमा कुनै कुरा उल्लेख छैन । तर राज्य विस्तार गर्दा अशोकले कलिंग, उज्जैन र तक्षशीलामा विरोध खेप्नु परेको कुरा इतिहासकारहरूले स्पष्टता साथ उल्लेख गरेका छन् ।कालान्तर हूणहरूको निरन्तर आक्रमणले यस स्थानलाई पूर्णतः ध्वस्त गरीदियो ।
एक सभ्य सुसंस्कृत स्थान र विश्वको प्राचीनतम शिक्षा केन्द्रको अस्तित्व समाप्त हुन पुग्यो । तक्षशीला यतिबेला अवशेष मात्रै छ। तक्षशीला विश्वविद्यालयमै अध्यापन गर्दथे अर्थराजनीतिकका ज्ञाता कौटिल्य अर्थात चाणक्य। अहिलेको आधुनिक समाजमा चाणक्यका हरेक वाणीहरु पनि उत्तिकै सन्दर्भ सामग्रीको रुपमा लिने गर्दछन्। यो सन्दर्भ यहाँ जोड्नु कारण यो होकी कुनैपनि सभ्यताको उननयन्का लागि भाषा, संस्कृति र साहित्यको प्रवद्र्धन हुनुपर्दछ। मुन्धुमको विषयमा केही खोज तथा अनुसन्धान नभएका भने होइनन्। तर, यसको बृहत विकासको लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने माग किन नगर्ने ?जब भाषा, संस्कृति र साहित्यको नामेट भयो भने त्यो बन्जर जमिन आस्थाको धरोहर हो,मुकुम्लुङ भनेर मात्रै पर्याप्त नहोला की ? केबलकारलाई ढुंगा हानेर तुस फेरिएला ?