संस्कृत वाङ्मयको प्रवद्र्धन गर्नुको साथै पूर्वीय दर्शनको थलोको रुपमा विकास गर्न स्थापित नेपाल संस्कृत विद्यालय सधै स्वार्थ समूहको रणमैदान बनेको छ। कहिले प्राध्यापक र विद्यार्थी संगठनको स्वार्थका कारण महिनौ तालाबन्दी हुने गरेको छ, भने पछिल्लो समय विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादवप्रकाश लामिछाने र रजिस्ट्रार प्राध्यापक माधव अधिकारीबीच वारपारकै विवाद भयो । उपकुपति लामिछानेले कार्यकाल नसकिदै गएको साउनमा राजिनामा दिए । उपकुलपति र रजिष्ट्रार दुबै एमाले समूहका हुन्। तत्कालीन ओली सरकारले नियुक्त गरेका यी दुबै पात्रको व्यक्तिगत इगो कारण लामो समय विवाद रह्यो। एमाले महासचिव शंकर पोखरेलका भान्जा पर्ने अधिकारीलाई निवर्तमान उपकुलपतिले आर्थिक अनियमितताको आरोपमा निलम्बन गरेका थिए । उनीमाथि लागि आरोप पुष्टि गर्न नसकेपछि राजीनामा दिएको एकथरीको आरोप छ। उता, लामिछानेले स्वास्थ्यको कारण उपकुलपति पदबाट राजीनामा दिएको प्रष्ट्याएका थिए।
उपकुलपति लामिछानेले कार्यकाल सकिन एक महिना १० दिन बाँकी हुँदै स्वास्थ्य समस्या देखाएर राजीनामा दिएका हुन्। यद्यपि अधिकारीमाथिको आरोप पुष्टि गर्न नसकेकै कारण पदबाट हात धुनु परेको आरोप उनीमाथि छ।
उनले साउन १ गतेदेखि लागु हुनेगरी दिएको राजीनामा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हालै स्वीकृत गरेका छन्। उपकुलपति लामिछानेले रजिस्ट्रार अधिकारीलाई निलम्बन गरी आफूखुसी कर्मचारी बढुवा र करारमा कर्मचारी भर्ना गरेको आरोप विद्यार्थी र प्राध्यापकले लगाएका छन्। यसले विश्वविद्यालयभित्रको कलह सतहमा आएको छ। लामिछानेले आफुले उपकुलपतिको हैसियतमा राजिस्ट्रारलाई कारबाही स्वरूप निलम्बन गरेको भए पनि कुलपति एवं प्रधानमन्त्री ओलीको निर्देशनमा निलम्बन फुकुवा गरेको बताए।
उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्ष तिनैजना एमालेनिकट भए पनि आपसी खटपटले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र प्रशासनिक वातावरण खल्बलिएको प्राध्यापक र विद्यार्थीहरुको गुनासो छ। लामिछानेले एकातिर आफ्नो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र अर्कोतिर विश्वविद्यालयमा समस्या थपिँदै जाँदा कामै गर्ने अवस्था नभएकाले राजीनामा दिनु नै उपयुक्त ठानेको दाबी गरेका छन्।
उनले भने, ‘विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यूले विश्वविद्यालयभित्र रजिष्ट्रारलाई काम गर्ने वातावरण बनाइदिनुप¥यो भन्नुभयो । मैले प्रधानमन्त्रीको सम्मान गरे। कारबाही फुकुवा गरिदिएँ।’ उनले विश्वविद्यालयभित्रको राजनीतिक दबाबका कारण काम गर्ने वातावरण नभएको पनि बताए ।
विश्वविद्यालय संकटमै भएको अवस्थामा बीचैमा छाडेर उपकुलपति लामिछाने भागेको आरोप प्राध्यापकहरूको छ। उपकुलपति लामिछाने, रजिष्ट्रार अधिकारी र शिक्षाध्यक्ष प्राध्यापक भीम खतिवडा एमाले निकट भए पनि आपसी बेमेलका कारण विश्वविद्यालय धराशायी भएको हो । पदाधिकारी प्राज्ञिक उन्नयनभन्दा पनि आफू र दल निकट कार्यकर्ता भर्तीमै केन्द्रित भएकाले विश्वविद्यालयमा चुनौती थपिएको नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापकहरु बताउँछन्।
रजिष्ट्रारलाई विभिन्न निहुँमा निलम्बन गर्ने, राजनीतिक दबाबमा फेरि निलम्बन फुकुवा गर्ने, आफूखुसी करारमा कर्मचारी भर्ती, आफूनिकट कर्मचारीलाई कायममुकायम र बढुवा दिने उपकुलपतिका कदमले विश्वविद्यालयभित्र मतभेद बढाएको बरालको ठहर छ। पदाधिकारीका गलत कामको विरोधमा विद्यार्थी, शिक्षक तथा कर्मचारी उभिएका छन्। विद्यार्थी संगठनहरूले विभिन्न माग राखेर विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तलाबन्दी गरेका छन्।
विद्यार्थी संगठन कसैले करार सेवाका कर्मचारीलाई निरन्तरता दिन र कसैले पदाधिकारीले गरेका गलत नियुक्ति, बढुवाविरुद्ध ताला लगाएका हुन्। असार २९ गतेदेखिको तलाबन्दीका कारण विश्वविद्यालयको आर्थिक, प्रशासनिक र प्राज्ञिक कार्य ठप्प छ। विश्वविद्यालयका प्राध्यापक संघले पदाधिकारीको गलत रबैया भन्दै विरोध जनाएका छन्।
साउन १६ गतेदेखि लागु हुनेगरि निलम्बन फुकुवा गरिएका रजिष्ट्रार अधिकारीले आफूले नगरेको गल्तीको सजाय पाउँदा सामाजिक, प्राज्ञिक प्रतिष्ठामा आँच पुगेको र मानसिक रूपमा पनि तनाब भएको दाबी गरेका छन्। आफू निर्दोष भएकाले निलम्बनको निर्णय खारेज नभएसम्म पुनः पदमा नफर्किने स्पष्ट पारेका छन्।