२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

महिलालाई दया कि, दक्षता ?


१७ असार २०८१, सोमबार  


-शिला धिताल

केही दिन अघिको समय हो, एउटा हलचल आयो,सामाजिक सञ्जालमा। त्यो हलचलको पक्ष र विपक्षमा मानिसहरुको धारणा विभाजित भयो । जुन अभिव्यक्तिप्रति महिलाहरुको ठूलो समूहले कडा टिप्पणी ग¥यो। अभिव्यक्तिले ती महिलाहरुको मानमर्दन भएको भन्दै अभिव्यक्ति सच्याउन हवाइ उर्दी पनि आयो । त्यस्तो अभिव्यक्ति दिने व्यक्ति थिईन् चालक रेविका । जसले हेभी सवारी साधन हाँक्छिन्। उनै रेविकाले एक अन्र्तवार्तामा भनेकी थिइन्, “घरपालुवा महिला”। उनको त्यो यही अभिव्यक्ति सञ्जालमा भाइरल भएको थियो । हो, उनको वाक्यांश चयनमा विमति हुन सकिएला ,तर, वास्तविकता यही होइन र ?
एकपटक ठण्डा दिमागले सोचौ त, के महिला दया र परनिर्भरताको पर्याय हो त ? कसैको दयाभावमा जिउनु पर्ने नियती हो ? के चालक रेविकाले भने जस्तै महिलाहरु घरपालुवा नै हुन् त ? के उनीहरुको आफ्नै क्षमता छैन त ? उनीहरु जति स्वतन्त्र छन् भने, त्यत्ति सक्षम छैनन् र ? के उनीहरुलाई अधिकार मात्रै चाहिएको हो त ? चालक रेविकाले भनेको शब्द चयनहरुप्रति मेरो विमति होला।तर, त्यो वाक्यांशंले बोकेको भाव त यथार्थ छ नि। सधै पुरुषको दासी भएर जिउनेहरुलाई उनको अभिव्यक्तिले पक्कै पनि चसक्क घोच्यो होला। तर, सत्य तितो हुन्छ, भन्ने कुराको चेत किन नराख्ने ? हामी पनि यो समाजका प्राणी हौ, हाम्रो पनि पाखुरी र मष्तिस्क छन्, हामीमा पनि चेतना छ, शिक्षा र ज्ञान .छ, समाज र परिवेश बुझ्ने र बुझाउने क्षमता छ, दक्षता पनि छ।आर्थिक होस् या सामािजक नेतृत्व लिन सक्ने तागत र क्षमता छ, र बनाउन सकिन्छ। परिवार, समाज हुँदै देश हाँक्ने आँट साहस र योजना पनि छन्,पुरुष जत्ति मात्रै होइन, अझै उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने खुबी, बुद्धि र विवेक पनि छ, महिलासंग।


हो, जैविक हिसाबले हामी र पुरुषबीच थोरै फरक होला।तर, सोच्न सक्ने क्षमता र गर्न सक्ने हिम्मत अनि आँट त हामीसंग पनि छ नि। पुरुषलाई गाली गरेर होस् या ताली ठोकेर आफ्नो अस्तित्व खोज्ने कि समाजमा आफ्नो क्षमता र दक्षता देखाएर आफूलाई स्थापित गर्ने ? यो संगीन र तीखो प्रश्नको जवाफ हामीले खोज्नुपर्दैन र ? रेविका जस्तै चालक बनेर यो समाज र देशलाई हाँक्न सक्दैनौ र ? पुरुषको काखमै लुटपुटिएर उसैलाई रिझाएर मात्रै खुशी भेटिने हो र ? त्यो भन्दा ठूलो खुशी त आफ्नो स्वाभिमान र स्वाधीन भएर बाँच्नु र समाजमा स्थापित हुनु महान कार्य होइन र ? हामीले हर दैनिक जीवनमा भविष्यको विषयमा बहस र छलफल गरेका छौ त ? जीवनको विषयमा सोचेका छौ त ? महिलाको भेटघाटमा राष्ट्र र समाजको विषयमा हामी कहिल्यै घोत्लेका छौ त ?

हो,यीनै बल्ग्रेती प्रश्नहरुको बीचमा उनै हिम्मतवाली अभिनेत्री रेखा थापाको टिप्पणीलाई यहाँ जोड्नु बाञ्छनिय लाग्यो पंक्तिकारलाई। उनै रेखा थापा धेरै पटकका सन्दर्भमा दोहो¥उँछिन्, “केटा मान्छेहरु भेट भयो, भने कमाइ कति छ ? जागिर छ की व्यापार? घर गाडी घोडा होस्, या भविष्यको योजना के छ भनेर गफिन्छन्, त्यही स्थानमा केटी अर्थात महिलाहरुको भेट भयो, भने साडी कति दामको ? गहना कतिको लगाकी ?घुम्न कता गईस्? कति राम्री भाकी ? यस्तै यस्तै विषयमा घोत्लिन्छन्।” हो पक्कै पनि रेखा थापाले भने जस्तै औसत महिलाहरुले भेटको अवसरमा यस्तै यस्तै विषयमा समय खर्चिन्छन्। तर, यति भनिरहँदा पुरुषहरु सबै ठीक छन्। उनीहरु जीवन भोगाइ र योजनाको मात्रै कुरा गर्छन भन्न खोजेको पनि होइन। पुरुषहरुमा पनि यस्ता प्रवृत्ति हुन सक्छन्, बाउकै कमाइमा रमाइ गर्नेहरुको पनि कमी छैन यहाँ । तर, सापेक्षमा चालक रेविका र अभिनेत्री रेखा थापाले टिप्पणी गरे जस्तै प्रवृत्ति छ, आम महिलामा ।


यस्तो प्रवृत्ति सामाजिक परिवेशमा मात्रै होइन, राजनीति क्षेत्रमा पनि उस्तै छ। राजनीति शासन गर्न विधि हो। मुलुकको शासन सत्तामा पुग्न पनि महिलाहरु उही चालक रेविकाले भने जस्तै दासी छन्। पुरुषहरुले भाग छुट्याइदिएपछि राजकीय पदमा पुग्ने गरेको देखिन्छ। मुलुक परिवर्तन गर्दा पुरुषसंगै पौठैजोरी खेलेर योगदान गरेका उनीहरुलाई संगै भिडेको पुरुष साथीले दया देखाउँछ, अनि संविधानमा लेखिदिन्छ, महिलालाई ३३ प्रतिशत। कस्तो अचम्म र उदेकलाग्दो ? प्राकृतिकरुपमा हामी समान छैनौ र ? यदि हामी समान छौ भने संविधानले यति प्रतिशत उति प्रतिशत भन्ने हो र ? यो ठूलो विभेद होइन र ? तैपनि महिलाहरु संविधानले नै ३३ प्रतिशतको अंशियार बनाइदियो भन्दै खुशाउँछन्। अनि दीपावली गर्छन्।

हुन त राजनीतिक क्षेत्रमा पुगेकाहरु पनि यही समाजकै उपज हुन्। हाम्रै समाजले हुर्काएका पात्रहरु हुन्। उनै पात्रहरु आफ्नो क्षमता र दक्षतामा आफ्नै अस्तित्व खोज्न भन्दा पुरुषमै निर्भर रहन्छन्। यस्तै, विद्यादेवी भण्डारी राष्टपति भईन्, उनी आफ्नो क्षमता र दक्षताले हुन सक्ने नेता हुन्। तर, उनै पुरुषहरुले दयाभाव देखाएर दुइ दुइ पटक राष्टपति बनाए। विद्या भण्डारी त एक उदाहरण हुन्। यस्तो उदाहरण स्थानीय तहमा देखिन्छ। महिलालाई पालिक प्रमुख बनाइदैन, उपप्रमुखमै थन्काइन्छ, त्यो पनि दया गरेर । महिला आफ्नो बलबुताले पालिका प्रमुख हुने क्षमता र दक्षता देखाउन भन्दा पुरुष नेताले उपप्रमुख भनिदियो, त्यसैमा थन्किन्छन् । देशभरका ७५३ पालिकामा अधिकाश महिला उपप्रमुख छन्। मानौ उपप्रमुख भन्ने पद महिलाकै लागि बनाइएको हो ।

यति मात्रै कहाँ हो र ? भर्खरै केही दिन अघि मुख्य सचिव डा वैकुण्ठ अर्याल अख्तियारबाट डामिए, उनी पदमुक्त हुनुपर्ने व्यक्ति हुन्, तर,राष्ट्रिय योजना आयोगमा सारिए, सरकारले लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिव बनायो, तर, उनलाई मुख्य सचिव बनाउने सूचीमा नराखेर पुरुष सचिवहरुको नाम लहरै आयो। निमित्त मुख्य सचिव भएकी गड्तौला मुख्य सचिव भएर स्थायी सरकार हाँक्न सक्छिन्, तर, उनले पनि पुरुष नेताले दया देखाउलान् भन्ने आशमै देखिन्छिन् । यी घटना र उदाहरण प्रतिनिधिमूलक हुन्। यस्ता प्रवृत्ति समाज र देशका हर कुनामा छन्। यसर्थ आफूले आफूलाई प्रश्न गरौ, म को हुँ ? कसैका दया भावमा अस्तित्व खोज्ने कि आफ्नै मष्तिस्क र पाखुरीमा क्षमता र दक्षता देखाउने महिला दिदी बहिनीहरू ?

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित