१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

वैदिक ज्ञानको अन्तर्य,भ्रम र यथार्थता !


२२ बैशाख २०८२, सोमबार  


संस्कृत भाषामा वेद शब्दको अर्थ हुन्छ ज्ञान । यसलाई आध्यात्मिक प्रकृतिको ज्ञान पनि मानिन्छ । यो अनुभव र अनुभूतिबाट प्राप्त हुन्छ । आध्यात्मिक ज्ञान व्यक्ति र समाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले महशुस गर्छ ।

विज्ञानले वस्तुको वास्तविक उपस्थितिको बोध गराउँछ । वैदिक ज्ञानले वस्तु तथा पदार्थको उपस्थितिले दिने अनुभूतिको अनुभवबारे सचेतना दिलाउँछ भने विज्ञानले वास्तविक उपस्थितिको बोध गराउँदछ। जस्तै उदाहरणका लागि हामीसँग पाकेको स्याउ छ।यश पाकेको स्याउको वास्तविकता भनेर विज्ञानले दर्शाउँछ । साथै यसको गुण र परिणाम औजारले बुझाउँछ, भने वैदिक ज्ञानले स्याउको समग्र गुणको बोध अर्थात अनभुति गराउँछ। जसको लागि हाम्रा इन्द्रियहरू र चेतना उपयोगमा आउने गर्दछ।

हर मानिसले अनुभूतिबाट प्राप्त गर्ने अनुभवलाई मानिस कुन परिवेश र सन्दर्भले निर्धारण गरेको हुन्छ माथि उदाहरण दिएको स्याउ तपाईंले टन्न खानु भएको छ, भने तत्कालै तपाईंलाई त्यो स्याउले लोभ्याउँदैन । किनकि तपाईं स्याउ खाएर अघाउनु भएको छ। यो अनुभवजन्य जानकारी या सूचना राख्ने गर्छ, वैदिक ज्ञानले ।यसलाई समग्रमा चेतना भनिन्छ ।

यसरी वैदिक ज्ञानले उक्त वस्तुले हाम्रो निजी र सामाजिक जीवनमा पुर्‍याउन सक्ने प्रभाव, विभिन्न सन्दर्भको महत्त्व, मूल्य तथा अर्थबारे जटिलतम सूचनाबारे हामीलाई सचेत पारिदिन्छ,भने विज्ञानले कुनै पनि वस्तु तथा पदार्थको विषयमा पहिचान गराउन सघाउँछ। 

आजको प्रविधिको दुनियाँमा सैद्धान्तिक र व्यावहारिक अनुसन्धानहरू विज्ञान र वैदिक ज्ञान नियमित विषय बनेका छन् । जब अनुसन्धान निकै गहिरो र जटिल मोडमा पुग्छ, तब वैदिक ज्ञानले राख्ने सूचनाको लेखाजोखाबाट अनुसन्धानकर्ता तुलनात्मक रूपमा निकै चाँडो अनुसन्धानको निचोडमा पुग्ने गरेको भेटिन्छ । विज्ञानका क्षेत्रमा लागेका नयाँ पिढीका लागि वैदिक ज्ञान नयाँ सुवर्ण अवसर पनि हो । जुन आजको हाम्रो नयाँ पिढीसँग पुग्न सकिरहेको छैन । वैदिक ज्ञान र चेतनालाई गलत अर्थ लगाइएको छ। मिथ्या र इश्वरवादी भनेर तुच्छ टिप्पणी पनि हुने गरेका छन् ।

पहिले चेतना कि पदार्थ भन्ने बहस संसार भर छ। मानव कुनै दैवीक शक्ति उपज नभए पनि प्रकृतिको उपज हो। माथि नै भनिएको छ, कि वैदिक ज्ञान प्राकृतिक ज्ञान हो।जो प्रकृतिमा रहेर मानवले आर्जन गरेको हो। योअनुभुति र अनुभव सिद्ध छ।


वैदिक ज्ञानका श्रोतहरू प्रकृति हो।यही प्रकृतिको नियमभित्र रहेर रचिएका छन् ,वैदिक साहित्य ।
वेद, उपनिषद र पुराण आदि साहित्य हुन्रे।यीनका बारे जान्न पहिले श्रुति र स्मृतिबारे बुझ्न जरुरी हुन्छ । शास्त्रको सुरुवात बिन्दु कहाँ हो ,कहिले देखि हो त्यसको ठोस तिथि मिति त छैन।तर,आ दि अनादि कालदेखि सुन्दै वा सञ्चारित हुँदै आएको शास्त्रलाई श्रुति भन्ने गरिन्छ । जस्तै– वेद र उपनिषदहरू श्रुति हुन् । यो विश्वास गरिन्छ कि वेदको ज्ञान अलौकिक हो ।

सनातनहरूको संविधान पनि हो।यसैको आधारमा हाम्रो सामाजिक नियम र पद्धतिको विकास गरिएको छ। सतानको अर्थ यसको आदि र अन्त्य अहिलेसम्म अनिश्चित जस्तै छ।

वेद कुनै व्यक्तिको स्मरणमा लेखिएको साहित्य पनि होईन ।यो त ऋषि महर्षिहरूले सिधै ब्रह्मबाट प्राप्त ज्ञान हो। जो परम्परागत रूपमा लिपिबद्ध हुँदै शास्त्रको स्वरुपमा विकसित भयो  । ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चारवटा वेद रहेका छन् । वेदजस्ता अलौकिक ज्ञान अध्ययनबाट विकसित मानव अन्तर–ज्ञानको उपयोग गरिँदै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको शास्त्रलाई स्मृति भनिन्छ । जस्तै– वेदाङ्ग, उपवेद, उपांग, धर्मसूत्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन् ।

वेदमा कुनै पनि संस्कृति विरोधी, समाज विरोधी, दर्शन वा धर्म विरोधी कुण्ठा, इर्ष्या, कुटिलता, घृणा वा तिरस्कार छैनन् । छ त, केवल जीवन र जगतका कुरा । मानव चेतनालाई पहिलो ठानिएको छ।प्रकृतिको शाश्वत यथार्थलाई अन्तिम सत्य मानिएको छ। जीवनको अर्थ र अस्तित्व खोजिएका व्यावहारिक ज्ञानका विषयहरू रहेका छन्  ।

यहाँ अझ महत्त्वपूर्ण कुरा के छ वेद कुनै अमूक पन्थ वा संप्रदायको कृति वा ग्रन्थ होईनसाँचो अर्थमा भन्नू पर्दा यो सनातनीह रूको वैदिक ज्ञानको भण्डार हो । जहाँ हिन्दु, जैन र बुद्धजस्ता संस्कृति र दर्शनहरूमा वैदिक ज्ञानको निकै ठूलो प्रभाव परेको पाईन्छ  ।


कुनै पनि विषयप्रति धारणा बनाउनु पहिले त्यसको गहिरो अध्ययन हुन जरुरी छ। अध्ययन नगरी टिप्पणी गर्ने र अपव्याख्या गर्ने गलत परिपाटी छ।जब वेदको आधिकारिक प्रयोगात्मक ज्ञान र अवधारणा बुझिन्छ ।तब यश भित्र विराट ज्ञानको गहिराइ भेटिन्छ ।

तर, पछिल्लो समय केही त्यस्ता मानिसहरू छन् । जसले वेदको अध्ययन, न मनन गरेको छ। हचुवाका भरमा कतिपय धर्मगुरुहरूले वेदका व्यावहारिक, आधिकारिक र प्रमाणिक ज्ञानलाई गलत अर्थ लगाएको पाईन्छ । गेरू वस्त्र लगाएको भरमा वेदको ज्ञान नहुन सक्छ।

यस्ता अल्पज्ञानी वस्त्रधारीको कारण वेद विवादमा पनि तानिएको छ। माथि चर्चा गरिए जस्तै वेदमा कथित जात,वर्ग ,वर्ण र अमूक धर्मको उल्लेख छैन । वेदमा हुदै नभएको मिथ्या हल्ला चलाएर वेदको विराट ज्ञान र चिन्तनको ओजलाइ हलुको बनाउन खोजिएको छ।

भक्तिका नाममा गुरु आशक्ति अभिवृद्धि गर्ने नियतमा वेदमा उल्लेख गरिएको भन्ने दुहाइ दिँदै नियमित उपाङ्ग, धर्मसूत्र, रामायण, महाभारत, पुराणहरू पाखण्डीपूर्ण वाचन गरिने र यसरी वाचन गर्ने धर्मगुरुहरू अद्वितीय, अभिजात, ईश्वरको दूत हुने धारणाले वेदप्रति नयाँ पुस्ताको विकर्षण हुन नसकेको हो।

वैदिक ज्ञान यथार्थमा मानिसको दैनिक सोच र कर्मलाई व्यक्तिगत तथा सामाजिक उत्थानको दिशा निर्देशका खातिर उपलब्ध उत्कृष्ट व्यावहारिक ज्ञान हो । वैदिक ज्ञानले व्यक्ति र समाजको लाभ पुग्नेगरी निजी तथा सामाजिक गतिविधिहरू कार्यान्वयनमा नभई नहुने व्यावहारिक सोच विकास गर्न आवश्यक पूर्वाधार उपलब्ध गराउँछ भन्ने यथार्थ आजसम्म पनि हाम्रो समाजमा पुगिरहेको छैन।

हाम्रो समाजमा वाचन गरिने र सुनाइनेभन्दा निकै भिन्न भेटिन्छ,वेदमा  । नितान्त निजी र सामाजिक जीवनका व्यावहारिक पक्षहरू र सुदृढ मानव जीवनयापनमा अर्थ राख्ने स्वस्थता, खानपान, तन्दुरुस्ती, अर्थशास्त्र, राजनीति, संस्कृति आदिजस्ता सबै पक्ष व्यावहारिक ज्ञान समावेश छ, वैदिक ज्ञानमा ।

२१ औं शताब्दीको आजको दुनियाँमा विज्ञानले
विजय हासिल गरेको छ। मानवीय जीवन सहज र सरल बनेको छ। तर, विज्ञानको यो चमत्कारको पछाडि वैदिक ज्ञानको अहम भूमिका छ। यसैका लागि विज्ञानले मानवीय बुद्धि, मन र सचेतनाको भौतिक वस्तुसँगको सम्बन्धको सिद्धान्त प्रतिपादन गरेको हो र अहिले पनि गरिरहेको छ।

प्रकृति, समय र भौतिक वस्तुहरूको चेतनासँगको सान्दर्भिकता विकास गर्न अब वैदिक ज्ञानको उपयोग गरिनुपर्ने बेला आएको छ । जुन हाम्रो रैथाने परम्परागत ज्ञान, सीप,कला, मूल्य मान्यताहरू पछिल्लो समय दुनियाँका जीवन जिउने आ धार बन्दै छन्। विज्ञानले सुख र समृद्धि दिएपनि खुशी र आनन्द दिएन। जीवन भन्दा पैसा र प्रविधिलाई महत्त्व दियो। यसर्थ मानवीय चेतना मानवीय जीवनका लागि हुनुपर्छ ,भन्दै मानिस अहिले जीवनभित्र जीवन खोजिरहेको छ। त्यस्तो जीवन आध्यात्ममा मात्रै भेटिन्छ ।

यही निष्कर्षका साथ योग,ध्यान र तपतिर समाज फर्किदै छ। यस्ता योग,ध्यान र तपको गन्तव्य नेपाल हो।जहाँ ऋषि महर्षिले तपस्या र साधना ज्ञान र वास्तविक जीवन भेटाएका थिए। यसर्थ वेदको विराटको ज्ञानको विषयमा हामीले संसारलाई भन्नू पर्ने बेला आ एको छ। यही वैदिक ज्ञान ,ध्यान ,योग र तपबाट हाम्रो धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ ।हामी सम्पन्न पनि हुन्छौ, अनि सार्थक शान्तिपूर्ण जीवन पनि जिउन सक्छौ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : २९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित