वर्षात सकिएर शरद ऋतुको प्रारम्भ भएपनि वर्षातको जोखिम रोकिएको छैन । यस वर्षको तिथि अनुसार वर्षातको अन्त्य भैसक्ने यो समयमा पनि बाढी पहिरो र डुबानको खतरा उत्तिकै छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दशै अघि लगातार वर्षात हुने भएको छ। बिहीबार(आज)देखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि अति वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ‘बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि यही असोज १३ गते आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जनरचट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अत्याधिक वर्षाको सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ ।
असोज ११ गते शुक्रबार देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जनरचट्याङ्गसहित धेरै वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित अति धेरै वर्षाको समेत सम्भावना रहेको छ ।
असोज १२ गते शनिबारका दिन देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
असोज १३ गते आइतबारदेशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ ।
यस्तै विभागले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ । बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । धान बाली पाक्ने बेला हुने यस्तो खाले वर्षातले ठलो नोक्शानी पुराएको थियो गएका वर्षहरुमा । यस वर्षपनि भीषण वर्षात भए सबै भन्दा बढी नोक्शानी धान बालीलाई हुने देखिन्छ। वर्षातको अन्त्य भइ शरद ऋतु शुरु भएको बेला झरी पर्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुले बताएका छन्। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र विशेष गरी प्रभावित भएको छ। अतिवृष्टि र अनावृष्टिको कारण नेपालले हरेक वर्ष ठूलो क्षति बेहोरेको छ।