-ऋतुविचार
असारे झरिले पहिरो जाँदा देश आक्रान्त थियो र छ पनि । देशभर मनसुन जोडतोडले सक्रिय छ। किनकी यो उसको धर्म पनि हो। यस्तै मनसुनकालीन समयमै सत्ता राजनीतिमा पनि गयो,पहिरो। असार पन्ध्रको पावन अवसरमा प्रारम्भ भएको नयाँ कोर्षले निस्कर्ष निकाल्यो, असार १७ को मध्य रातमा। आफै काँधमा हालेर सत्तामा माओवादीलाई पुराएको एमालेले एकाएक देउवासंग राजनीतिक प्रेम जोड्यो, प्रचण्डसंग विछोड ग¥यो।
केही समयअघि बसेर कुरा गरम् भन्दै संसदमा आग्रह गरेका थिए, ओलीले देउवालाई। त्यस विषयलाई देउवाले त्यत्तिबेला हाँसी मजाकको रुपमा लिएको देखिन्थ्यो। यद्यपि करिब तीन महिनाको सेरोफेरोमा ओलीको त्यो आग्रह राजनीतिक प्रेममा जोडियो र सरसल्लाहमै मुख्य दलले सत्ता हाँक्ने गरी सहमति गरे, मध्यरातमै । यद्यपि यस्ता राजनीतिक गठजोडको मेलमिलाप पनि मध्यरातमै हुने गरेका छन्, यस अघिका दिनमा पनि घरानाकै घर आँगनमै ।पहिलो संघीय निर्वाचन पूर्व २०७४ असोज १७ मा पनि मनटावरमा ठेकेदार शारदाप्रसाद अधिकारीकै दरबारमा सहमति भएको थियो। त्यस यताको ओली प्रचण्ड प्रेमले जडित जहाज दुघर्टनामा प¥यो। केही वर्ष तिक्तता र प्रतिशोधमा गुज्रियो, अनि फेरी प्रचण्डलाई बोकेर सत्ता सहयात्रा गरेका ओलीलाई उनै प्रचण्ड सहज देखिएनन्। सत्ताको धुरी खाँबो भएर उभिएको एमालेले ३२ सीटे माओवादीसंगको यात्रा टुटायाे एकाएक, असार पन्ध्रको दही च्यूउरा खाएर । देउवा ओलीको नयाँ राजनीतिक प्रेम सम्बन्धको वातावरण फेरी एकजना रामेश्वर थापा नामका व्यापारीको सहजीकरणमा शुभसाइत जु¥यो, यस अघि कान्तिपुरका संचालक कैलाश सिरोहिया समाइएपछि सत्तामा उथलपुथल ल्याउने धम्की पनि दिएका थिए, त्यो संयोग हो या यथार्थ समय आएपछि वास्विकता उघ्रिएला ।
उता, सत्ताको एउटै डुंगामा थिए, एमाले माओवादी, सत्ताको डुंगा प्रचण्डले चलाएपनि समग्र गठबन्धको स्टेरिङ ओलीसंगै थियो। यद्यपि एउटै सत्तामा भएपनि उनीहरुबीच जोगी देख्दा भैसी डराउने, भैसी देख्दा जोगी डराउने अवस्था थियो । यही सत्ताको सर्कसमा सत्ता र संसदभित्रको चर्खा चलेको थियो। यस्तै यस्तै भय, त्रास अविश्वासको हुरी चलेकै बेला नयाँ समीकरण बनाइयो। सहमतिय सरकारमा बसीसकेपछि सहमतिबाटै चल्नुपर्छ, यति अक्कल र बुद्धि हुनुपर्ने हो,नेतृत्वमा। डाडु पन्यू सबै आफै चाट्न थालेपछि दौतरी चिढियो। संसदको दोश्रो ठूलो दल मात्रै होइन, सत्ताको सुत्रधार ओली र उनको दल रुष्ट भयो। सत्ताको पर्खाल भत्कियो। जसले सत्ता बनाउन धुरी खाँबो बनेर आड भरोसा दियो, उसैलाई न्याँक्ने गरियो , त्यसैको नतिजा देखियो। पाँच वर्षै सत्ताको बीडो हाँक्ने स्वप्निलहरु सपना एकाएक तुहिए, मध्यरातमा ।
सत्तामा पहिरो जानुमा धेरै फ्याक्टर हुन सक्छन्। ती मध्ये मुख्य फ्याक्टर हो, बजेटसंगै अन्य सत्ता संचालनका कुरा। राजदूत नियुक्तिदेखि धितो पत्र बोर्डको अध्यक्ष नियुक्तिले दूरी बढायो। सत्ताको मुख्य घटक भएपनि हेर र पर्खमै थियो, एमाले । एकातिर नक्कली भुटानी शरणार्थी र अर्काेतिर गिरी बन्धुको चिया बगान। यी र यस्तै काण्डै काण्डको फाइलका खतरा पनि थिए। आफैले बोकेको सरकार आफैमाथि तरबार लिएर आउला भन्ने भय पनि थियो। यो भयले उता देउवा पनि त्राही त्राही थिए।बेलैमा सचेतता नअप्नाए खाल्डोमै जाने दिनको त्रास र भय फन्फनी घुम्न थाल्यो । जसलाई बोकेर सत्तामा पुराएको उसैले छुरा हान्न थालेपछि नयाँ गोटी चालियो। देउवालाई भित्र्याएर सुरक्षित अवतरण गर्न खोजिएको देखिन्छ।
उता, ३२ सीटका लागि धुरी खाँबो बनेर प्रतिपक्षी कांग्रेससंग भिडिरहेको एमाले एकाएक नरम भयो ।पन्ध असारमा दहीले च्यूउरा मात्रै भिजेन, यस अघि ओलीले भन्दै आएको १७ असारमा उथलपुथल भयो राष्ट्रिय राजनीतिमा । राष्टिय समीकरण फन्को मार्दै एक सय असी डिग्रीमा बदलियो । यद्यपि सत्तामा भएका र हुने गरेका यस्ता खेलकुदले जनतामा कुनै असर र प्रभाव पार्ने भने देखिन्न। किनकी घुमिफिरी रुम्जाटार भने जस्तै अवस्था छ, देशको राजनीति। जुन जोगी आएपनि कानै चिरेका भन्ने अवस्था छ, देश र जनताको हकमा । स्यालको सिङ बेचेर देश धनी बनाउँछु भन्ने नेताका झुठा आश्वासनले जनता वाक्कदिक्क छन्। यस्तै- यस्तै पात्र आउजाउले देश बन्धक छ, र अझै पनि हुनेछ।
सत्तामा पहिरो जानुको प्रधान कारण घरेलु राजनीतिक असन्तुलन हो। भने बाह्य प्रभाव र प्रयोजन पनि उत्तिकै काफि छ। विदेशी इच्छामै सत्ता बन्ने र भत्किने गर्दछ, जनताले त मत दिने मात्रै हो। किनकी यो गणतन्त्र भनिए पनि भोटतन्त्र हो। जनताले भोट दिएपछि शासकहरुले देश र जनता हितमा काम गर्न र जनताप्रति जवाफदेही हुुनुपर्दैन यहाँ । क्या गज्जब छ, राजनीतिक खेलाेमेलाे।जनताले भाेट दिने मात्रै हाे।जनताको मत लिएर उनीहरू दल र नेता हितकै लागि काम गर्छन् । यहाँ जति राजनीतिक कुस्तीको आयोजना गर्न सकियो, उति मजा लाग्छ, हाम्रा नेतालाई ।
रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछको अवस्थामा छ, देश। तैपनि देश र जनतालाई रसातालमा पुराएर सत्ताका चालकहरु भने यस्तै खेलमै मजा लिइरहेका छन्। देशको अवस्था बेहाल छ, भ्रष्टाचार र बेथिति नभएको कतै छैन, ठाउँ। भ्रष्टाचार कहाँ छैन, भन्ने अवस्थाबाट मुुलुक गुज्रिरहेको बेला नयाँ गणितको रेखा कोरिएको देखिन्छ। काठमाडौका मेर बालेन साहले टिप्पणी गरे जस्तै यो समय गिरीबन्धु चियाको समय हो, काले काले मिलेर खाउ भाले । हो, काले काले मिलेर भाले खानेछन्। जनताका लागि हात्ति आयो हात्ति आयो फूस्सा नै हो हुने छ। यद्यपि संविधान संशेधन गरेर राजनीतिक स्थिरता कायम गर्ने भनिएको छ, यद्यपि नेताका यस्ता भनाइमा विश्वास गर्ने आधार देख्दिनन् जनताले। किनकी राजनीतिक नेतृत्वले धेरै पटक ढाँटे, जनतालाई ।