जब प्रधानमन्त्री बालेनले दुग्धविकास संस्थानको चीज सामाजिक सञ्जालमा सार्वजनिक गरे । तब, कोमामा रहेको डीडीसी र यसका उत्पादनहरुको व्यापक चर्चा हुन थाल्यो । गएको शनिबार बालेनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा सामान्य तस्बिरले दुग्ध उत्पादक संस्थान (डीडीसी) नेपाली डेरी उद्योग, उत्पादन र किसानको भविष्यबारे नयाँ बहस जन्माएको हो ।
सतहमा हेर्दा त्यो एउटा साधारण प्रचारात्मक पोस्ट जस्तो लाग्थ्यो। तर,केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी अर्थात् दुग्ध विकास संस्थान फेरि चर्चाको केन्द्र बन्यो।कसैले त्यसलाई स्वदेशी उत्पादन प्रवद्र्धनको सकारात्मक संकेत माने। कतिले प्रश्न गरे, ‘डीडीसी अझै कति सक्षम छ ?’ धेरैले बाल्यकाल सम्झिए । स्कूल छुटेपछि खाइने डीडीसी आइसक्रिम, बिहानको दूध, गर्मीको मोही, घरमा पाक्ने घ्यू र चाडपर्वमा आउने रसबरीसहितका डीडीसीका उत्पादनको चर्चा गरे ।
तर यो बहस केवल एउटा चिजको प्रचार वा फोटोको चर्चा मात्रै थिएन र होइन पनि । यो बहस थियो, नेपाली किसानको भविष्य, सरकारी संस्थाको विश्वसनीयता र स्वदेशी उत्पादनप्रतिको नेपाली समाजको भरोसा पनि । नेपालमा पछिल्ला वर्षहरूमा सरकारी संस्थाप्रतिको गुम्दै गएको विश्वासको अवस्थामा डीडीसीको नाम आउँदा धेरै नेपालीले अझै ‘शुद्धता’, ‘विश्वास’ र ‘गुणस्तरीयता’को विषय ठानेको प्रष्ट हुन्छ ।
डीडीसी २०२१ को कर्पोरेशन ऐनअन्तर्गत स्थापना भएको पूर्ण सरकारी स्वामित्वको संस्था हो। यसको मूल उद्देश्य ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार उपलब्ध गराउने, शहरका उपभोक्तासम्म प्रशोधित दूध पु¥याउने र नेपालमा व्यवस्थित दुग्ध बजार निर्माण गर्नु थियो।समयसँगै डीडीसी केवल डेरी कम्पनीमा सीमित रहेन। यो गाउँको अर्थतन्त्र, किसानको दैनिक आम्दानी र राज्यको उपस्थितिसँग जोडिएको एउटा विशाल संरचनामा रूपान्तरित भयो।
संस्थानले अहिले वार्षिक ६ करोड लिटरभन्दा बढी दूध संकलन गर्ने गरेको छ। यो दूध दुई लाखभन्दा बढी किसानबाट आउने गरेको संस्थानको तथ्यांक छ। ती किसान १२ सय भन्दा बढी दुग्ध सहकारीमार्फत डीडीसीसँग आबद्ध छन्।नेपालका ४५ जिल्लामा फैलिएको यो नेटवर्क सामान्य व्यापारिक संरचना पनि होइन। काठमाडौंमा बिहान किनिएको दूधको मूल्य अन्ततः गाउँको किसानसम्म पुग्ने आर्थिक विशाल शृंखला हो।
यही कारण डीडीसीको अस्तित्वलाई धेरैले ‘किसानको सुरक्षा कवच’ का रूपमा पनि व्याख्या गर्छन्। निजी डेरी उद्योगले नपुग्ने गाउँसम्म अहिले पनि डीडीसी पुगिरहेको छ। दुर्गम क्षेत्रमा उत्पादन भएको दूधलाई बजारसँग जोड्ने काममा संस्थान अझै महत्वपूर्ण मानिन्छ।
डीडीसले वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको तथ्यांक छ। अहिले डीडीसीको स्टकमा करिब ८० करोड रुपैयाँ बराबरका उत्पादन छन् भने किसानलाई करिब ६५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यद्यपि किसानलाई भुक्तानी ढिलो भइरहेको छ । दुधको मौसमी उत्पादन चक्र भनिएको छ ।
डीडीसीका उत्पादन केवल उपभोगका सामग्री मात्र होइनन्, नेपालीहरूको सामूहिक स्मृतिसँग जोडिएका स्वाद पनि हुन्।कुनै समय स्कूल छुटेपछि डीडीसी आइसक्रिम खानु धेरै बालबालिकाको उत्साह थियो। गर्मीमा मोही, बिहानको दूध, घरको घ्यू र चाडपर्वको रसबरीसँग धेरै परिवारको भावनात्मक सम्बन्ध पनि बनेको छ।अहिले पनि डीडीसीले दूध, दही, मोही, घ्यू, फ्लेभर्ड मिल्क, पनिर, मिठाइ र विभिन्न प्रकारका आइसक्रिम उत्पादन गर्दै आएको छ।आइसक्रिममा भेनिला, बटरस्कच, चकलेट, चकलेट क्रन्च र स्ट्रबेरी फ्लेभर उपलब्ध छन्।
प्रधानमन्त्रीको एउटा फोटोले फेरि एउटा पुरानो बहसलाई सतहमा ल्याएको छ । हामी स्वदेशी उत्पादनलाई कति महत्व दिन्छौं ? आफ्नै किसानसँग कति उभिन्छौं ? र राज्यले आफ्ना संस्थालाई कति आधुनिक बनाउन सक्छ ?डीडीसीसँग अझै विशाल संरचना छ। किसानसँग जोडिएको विश्वास छ। नेपाली बजारमा दशकौं पुरानो भावनात्मक सम्बन्ध छ।तर केवल पुरानो प्रतिष्ठाले मात्रै अब भविष्य सुरक्षित हुँदैन। संस्थानलाई आधुनिक प्रविधि, प्रभावकारी व्यवस्थापन, समयमै भुक्तानी, नयाँ ब्रान्डिङ र प्रतिस्पर्धी बजार रणनीति बनाउन ढिलाउनु हुदैन की ? ०००००








