
निर्वाचन गराउन असफल भएपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् ।
अध्यक्ष पाेखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।
दोस्रोपटक पनि पत्रकार महासंघको निर्वाचन नहुने निश्चित प्राय भएपछि उनलेे राजनीनामा दिएकाे बताइएको छ।
‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।
सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोखरेलले बताएका छन् । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ पोखरेलले राजीनामा पत्रमा भनेका छन्।
पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।चाैतर्फी दबाब थेग्न नसकेपछि उनी राजिनामा दिन पुगेको देखिन्छ ।
नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको सम्वद्ध सदस्यहरूले बताएका छन् ।
पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।
सम्भवतः नेपाल पत्रकार महासंघको इतिहासमा पटकपटक मिति तय भएर पनि निर्वाचन गराउन नसकेपछि महासंघ अध्यक्षले राजिनामा दिएकाे याे पहिलो घटना हाे।